पितृ प्रसादमा खिर खाँदा २८ जना बिरामी
Advertisement

१३ साउन, काठमाडौं । सत्ता राजनीतिमा नराम्ररी फसेको नेपाल कम्युनिष्ट पार्टी अब भने सग्लो अवस्थामा रहने सबै सम्भावनालाई त्यागेर अघि बढेको छ । आजसम्मको अवस्थाको सुक्ष्म अध्ययन गर्ने हो भने नेकपा अब यथास्थितिमा रहने देखिंदैन ।  लामो समयदेखि सत्ता संघर्षमा अल्झिएको नेकपा अनिर्णयको बन्दी भएको छ । आजका लागि डाकिएको स्थायी कमिटी बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले एकपक्षीय रुपमा स्थगित गरिदिएपछि परिस्थितिले नयाँ रुप लिएको छ ।

दुई अध्यक्षबीच पटक पटक भएका छलफल र सम्वादले ओलीलाई कुनैपनि पदबाट हटाउन नसक्ने अवस्था आएपछि आजका लागि निर्धारित स्थायी कमिटीले बहुमतबाटै एउटा निश्कर्ष निकाल्ने तयारी गरेकाे थियो । सोही बमोजिम बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठक बस्नुअगावै प्रधानमन्त्रीका तर्फबाट पार्टी महासचिव विष्णु पौडेलले एकपक्षीय रुपमा स्थगित भएको सूचना जारी गरे ।

तर बैठकमा सहभागी हुन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत असन्तुष्ट पक्षका बहुमत नेताहरु बालुवाटार पुगिसकेका थिए ।  ओलीका तर्फबाट महासचिवले बैठक स्थगित गरेको सूचना पाएका प्रचण्ड ओलीको कार्यकक्षतिर हानिए । त्यहाँ दुई अध्यक्षबीच करिब पाँच मिनेट कुरा भयो । प्रचण्डले ओलीलाई प्रश्न गरे– तपाईंले एकल रुपमा किन बैठक स्थगित गर्नु भएको ? जवाफमा ओलीले सहमति नभइकन बैठक नराख्ने पूर्व सल्लाह अनुसार नै स्थगित गरेको जवाफ दिए ।

Advertisement

लगत्तै प्रचण्डले तपाईं नआएपनि आफूहरु बैठक गरी छाड्ने पक्षमा रहेको जानकारी दिएर निस्किए ।  बैठकस्थलमा पुगेर प्रचण्डले ओलीसँगको पछिल्लो कुराकानीबारे जानकारी गराए । साथै, ओली कुनै हालतमा पनि सहमतिमा नआउने संकेत प्राप्त भएको भन्दै सकेसम्म पार्टी एकता बचाउन सबैलाई आग्रह गरे । अहिले उत्तेजित भन्दा धैर्यधारण गर्ने बेला हो भन्दै उनले तर ओली त्यसका लागि सहमत नभएको गुनासो गरे । अब भने पार्टी गम्भीर संकटान्मुख भएको छ, एकता कसरी जोगाउने भन्ने प्रश्न तेर्सिएको छ भन्दै उनले यथास्थितिमा पार्टीलाई एकतावद्ध राख्न ठूलै सकस भएको सुनाए ।

ओलीको भित्री तयारी

अहिलेको संकटबाट कसरी जोगिने भन्ने विषय ओलीको सबैभन्दा ठूलो चिन्ता बनेको छ । उनी सकेसम्म सग्लो पार्टीकै प्रधानमन्त्रीका रुपमा बाँकी समय रहने तयारीमा छन् । बरु अर्ली महाधिवेशन गरेर अध्यक्ष भने छाड्न सकिने उनको सोच रहेको छ । यसका लागि ओलीले पहिला प्रचण्डलाई फकाउन खोजे । मंसिरमा अर्ली अधिवेशन गरेर एकल अध्यक्ष बनाउने वचन दिए ।

ओलीको यो प्रस्तावबाट पुलिकित भएका प्रचण्ड एकैछिनमा झस्याङ्ग भए, जब नयाँ सर्त तेर्सियो । नेकपाको अध्यक्ष बन्न पहिला जनताको बहुदलीय जनवाद अर्थात पूर्व एमालेको जबजको टोपी ओढ्नुपर्ने भयो । ओली पक्षको यो प्रस्तावले प्रचण्डलाई फेरि माधव नेपालसँगै निकट धकेलिदियो । ओलीले फेरि अर्काे फण्डा तयार गरे । माधव नेपाललाई एकल अध्यक्ष बनाउने । तर नेपालले त्यसका लागि पहिला महाधिवेशन तयारी समिति बनाएर त्यसको संयोजक आफूलाई तोक्नुपर्ने शर्त राखे । ओलीले स्वीकारेनन् । त्यसपछि ओलीको ध्यान फेरि बामदेव गौतमतिर पुग्यो ।

बामदेवका छ शर्त

लामो समयदेखि ओलीसँग असन्तुष्ट देखिएका बामदेव ऐन मौकामा भने सधैं ओलीकै पक्षमा उभिने गर्छन् । अहिलेपनि त्यही भयो । ओलीविरुद्ध हुने खुमलटार बैठकमा उनी जानै छाडिसकेका थिए । आज बालुवाटारमा भएको स्थायी कमिटी बैठकमा बामदेव पुगे । बैठकमा उनी ओलीको पक्षमा उभिए । अहिले ओलीको राजीनामा माग्ने समय नभएको भन्दै उनले आगामी अधिवेशनसम्म अध्यक्ष कायमै राख्न र प्रतिनिधिसभाको यो कार्यकाल भरि ओली नै प्रधानमन्त्री हुनपर्ने बताए । बरु अरु विषय र मुद्धामा भने ओलीले पार्टीसँग परामर्श गरेर अगाडि बढ्नुपर्ने बताए । आजको बैठकमा ओली पक्षीय नेताहरु सहभागी थिएनन् । तर बामदेवले भने आफ्ना कुरा राख्न मात्रै वैठकमा सहभागी भएको बताए ।

असन्तुष्टबीच नै असन्तुष्टि

ओली इतरका सदस्यहरु सहभागी आजको स्थायी कमिटी बैठकमा नेता भीम रावलले नेताहरुको झाँको झारे । उनले बैठकमा बोल्दै भने – तपाईं नेताहरु हाम्रो टाउको गनाएर ओलीसँग पदको बार्गेनिङ गर्ने ? अहिले नेताहरु नीति र सिद्धान्त छाडेर पदका लागि मरिहत्ते गरेको भन्दै उनले असन्तुष्टी व्यक्त गरे । उनले अझै कडा शव्दमा भने– हाम्रो असहमतिलाई तपाईंहरुले पद र सत्तासँग साट्न खोजेको भए लामो समय साथ दिन गाह्रो हुनेछ ।

स्थायी कमिटी हैन

आजको निर्धारित स्थायी कमिटी बैठक पार्टी अध्यक्ष ओलीले बैधानिक रुपमै स्थगित गरेको दावी गरेका छन् । ओली निकट स्थायी कमिटी सदस्यहरु ओलीकै कार्यकक्षमा बसेर अर्कापट्टि भइरहेको बैठक गुटको भेला मात्र भएको बताउँदै थिए । ओली निकट एक स्थायी कमिटी सदस्यले भने – खुमलटारमा हुने कोठे बैठक जस्तै केही साथीहरु बसेर कुरा गर्नु भएको होला, तर औपचारिक बैठक भने स्थगित भएको हो ।

नेकपा भित्र विकसित पछिल्लो घटनाक्रमले अब विभाजनको रेखा कोरिएको सबैले स्वीकार्नै पर्ने भएको छ । जानकारहरु भन्छन् यही साउन महिना भित्रै नेकपा दुई चिरामा विभक्त हुने छ । साथै, ओलीकै पक्षमा बढी सांसद्हरु रहेकाले मूलधारको पार्टी पनि ओलीकै रहने सम्भावना रहेको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here