कांग्रेसमा महाधिवेशनको रन्को, युवा पुस्ताको आँटै छैन !
नेपालबहस संवाददाता
साउन १५, २०७७ बिहिबार २०:२३:३५
१५ साउन, काठमाडौं । नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनले कस्तो नेतृत्व देला भन्ने आम चासोको विषय बनेको छ । देशकै सबैभन्दा जेठो पार्टी कांग्रेस अहिले संसद्मा खुम्चिएको अवस्थामा रहेपनि यसको राष्ट्रिय अन्तर्राष्ट्रिय शाख भने उँचो रहेको छ ।
त्यसैले कांग्रेसको नयाँ नेतृत्वका बारेमा धेरैले चासो र जिज्ञाशा राख्नु स्वभाविक भएको ठान्छन् राजनीतिक विश्लेषक पुरञ्जन आचार्य । उनी भन्छन्– नेपाली कांग्रेसले अब कस्तो नेतृत्व स्थापना गर्छ, त्यसैले उसको भविष्य पनि निर्धारण हुनेछ । नेपाली राजनीतिमा कांग्रेसप्रति धेरैको भरोशा र अपेक्षा रहेकाले पनि पार्टी नेतृत्वबारे चासो राखिनु स्वभाविक भएको उनी ठान्छन् । अब हुने महाधिवेशनले पुरानै पुस्तालाई नेतृत्वमा दोह¥याउने की नयाँमा पुस्तान्तरण गर्छ, त्यसैमा धेरै निर्भर हुने छ– विश्लेषक आचार्य भन्छन् ।
पुरानो पुस्ता नै पार्टीमा हावी भएकाले अहिले नै नयाँ पुस्ताले नेतृत्व पाइहाल्नेमा भने उनी आफैं सन्देह राख्छन् । शेरबहादुर देउवा र रामचन्द्र पौडेलमा अझै नेतृत्व गर्ने जीजिविषा कायमै रहेकाले नयाँ पुस्ताका नेताहरु अग्रसर होलान् भन्ने लाग्दैन – उनको ठहर छ । यद्यपि अब भने कांग्रेसले नयाँ सोच र अवधारणाका साथ जनताका बीच जानैपर्ने बाध्यात्मक अवस्था भने आइसकेको आचार्यको ठम्याई छ ।
देउवा र पौडेलले गर्ने नेतृत्व पुरातनवादी र सतही मात्रै हुने भएकाले नयाँ सोच र अवधारणाका साथ युवा पुस्तालाई आकर्षित गर्ने चमत्कारिक नेतृत्व आजको आवश्यकता बनेको छ भन्दै विश्लेषक आचार्यले तर नेपाली कांग्रेसका युवा पुस्तामा त्यो आँट र साहस भएको नेता भने आफूले नदेखेको बताए ।
गगन थापाले सभापतिमा उम्मेदवारी घोषणा गरेको हल्ला भइरहेकोतर्फ संकेत गर्दै यदि साँच्चै हो भने उनी कुनै गुटको दायराबाट बाहिर निस्कन सक्नुपर्ने आचार्यको भनाइ छ । तर मलाई लाग्दैन, गगनमा त्यो साहस र आँट छ– उनी भन्छन् । तर अब नेपाली कांग्रेसपनि युग र समयानुकुल भएर जनसमक्ष आएन भने असान्दर्भिक हुनसक्ने पनि उनले औंल्याएका छन् । अर्कातिर, युवा पस्ता पनि विभिन्न गुट उपगुटमा विभक्त भएकाले सामुहिक निर्णय गर्न सक्ने अवस्थामा देखिंदैन । यद्यपि कांग्रेसलाई शुद्धिकरण गर्नका लागिपनि युवा पुस्ताकै नेतृत्व आवश्यक रहेको ठम्याई उनीहरुको रहेको छ ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका युवा नेता गुरुराज घिमिरे भन्छन्– पुरानो पुस्ताले अब अभिभावकको भूमिका खेल्दा राम्रो । तर हामी युवाहरु चाहिं एकताबद्ध ढंगले अगाडि आउन सक्नुपर्छ । नेपाली कांग्रेसजस्तो जीवन्त र प्रजातान्त्रिक संस्कार बोकेको पार्टीमा गुट हुनु स्वभाविक भएपनि नेतृत्व हस्तान्तरण गर्ने सवालमा भने युवा पुस्ताको एकता जरुरी रहेको धारणा घिमिरेको छ ।
कुनै विषयमा अलग दृष्टिकोण हुन सक्ला तर नेतृत्व पुस्तान्तरण गर्ने सवालमा भने एकरुपता हुनु नै उचित हुने उनको बुझाई छ । यसका लागि हामी आफ्नो तर्फबाट प्रयास गरिरहेका छौं, सायद परिणाम राम्रै आउला– युवा नेता घिमिरेको भनाई छ ।
अर्का युवा नेता धनराज गुरुङ पनि अहिले कांग्रेसलाई नयाँ नेतृत्व आवश्यक रहेको ठान्छन् । युवा पुस्ताले नै नेतृत्व थाम्न सक्नुपर्ने उनको तर्क छ । तर यसका लागि युवाहरुबीच सल्लाह र सम्वाद भने आवश्यक रहेको उनको बुझाई रहेको छ । आफूखुशी कसैले म सभापति वा अरु कुनै उमेदवार भएको घोषणा गर्नुपूर्व युवाहरु एकैथलोमा बसेर सामुहिक धारणा बनाउन अग्रसर हुनुपर्ने उनको भनाई रहेको छ । साझा अवधारणाका साथ अगाडि बढियो भने युवा पुस्तालाई कार्यकर्ताले अनुमोदन गर्ने उनको विश्वास रहेको छ ।
तर विश्लेषक आचार्य भने कांग्रेसको युवा पुस्तामा त्यो त्याग र बलिदानको भावना विकसित भइसकेको छैन भन्दै अहिलेसम्म पुरानै पुस्ताको पछाडि लागेर मात्रै आफूलाई सुरक्षित ठान्ने प्रवृत्ति कायमै रहेकाले तत्कालै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण भइहाल्ला भन्ने आफूलाई नलागेको उनी बताउँछन् । बरु दोस्रो पुस्ताका नेताहरु नै अहिलेको विकल्प हुन सक्ने उनको ठम्याई रहेको छ । यसका लागि डा. शेखर कोइराला वा डा. शशांक कोइराला अगाडि बढेकामा त्यसैलाई एकपटक स्थापित गर्न सकियो भने मात्रै कांग्रेसमा नयाँ सोच र अवधारणाले ठाउँ पाउन सक्ने उनी बताउँछन् ।
कोइराला वा प्रकाशमान सिंह वा विमलेन्द्र निधिले सभापतिका लागि प्रतिस्पर्धा गर्दा पनि धेरै परिवर्तनको सन्देश जान सक्ने सम्भावना रहेको उनले औंल्याए । तर बुढो पुस्ताले अबको कांग्रेस हाँक्न भने सहज नभएको उनी बताउँछन् । युवा पुस्ताले दोस्रो पुस्ताको फेर समाएर निर्णायक तहमा बस्ने अवस्था आयो भने त्यसपछिको कांग्रेस भने कसिलो र छुरा जस्तो तेजिलो हुने उनी बताउँछन् । त्यसका लागि युवा पुस्ताले नै आफूलाई खार्न सक्नुपर्ने उनको तर्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार