वर्षापछि आएको बाढी र पहिरोले कृषिमा रु नौ करोड क्षति
Advertisement

१७ साउन, दमौली । गत असार २९ गतेदेखि निरन्तर परेको वर्षापछि आएको बाढीपहिराले तनहुँको कृषि क्षेत्रमा करीब रु नौ करोड बराबरको क्षति भएको छ । वर्षा पछिको बाढीपहिराले जिल्लाका विभिन्न भागमा छ सय हेक्टर क्षेत्रफलमा लगाएको धान नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा लगाइएको धान खेतीमा बढी पुगेको छ । त्यस्तै व्यास नगरपालिका, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा पनि बाढीपहिराले क्षति पुगेको केन्द्रले जनाएको छ । खोलाले कटान गरेको र बगरले पुरेर करीब रु नौ करोड बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिएका छन् ।

बाढीले बगाएको कतिपय स्थानमा किसानले बाढी पन्छाएर पुनः रोपाइँ शुरु गरेका छन् । रोपाइँमा ढिला हुँदा उत्पादन घट्ने निश्चित छ । ढिलै भए पनि छिटो पाक्ने जातका धान रोपाइँ गर्न कृषकलाई सुझाव दिइएको छ । स्थानीय सरकारले बालीनालीमा हुने क्षति व्यहोर्नलाई बजेट विनियोजन गर्नुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख तिवारीले बताउनुभयो । प्रदेश र सङ्घीय सरकारले भन्दा स्थानीय सरकारले तत्काल राहत दिन सक्ने उनले बताए ।

Advertisement

स्थानीय तहले बाढीपहिराबाट किसानलाई भएको क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । बाढी र पहिराका कारण बगरमा परिणत भएका खेतलाई बन्दीपुर गाउँपालिकाले भने प्रतिरोपनी रु दुई हजारका दरले क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बाढीले बगर भएका खेतलाई अनुगमन गरेपछि क्षतिपूर्ति दिइने जानकारी दिए ।

म्याग्दे गाउँपालिका–६ छिर्दीबेँसीका हरिबहादुर थापाले वर्षभरलाई खान पुग्ने गरी रोपेको धान बाढीले बगाएको बताए । “सगोलमा बसेका चार भाइ मिलेर करीब २५ रोपनी खेतमा रोपेको धान असार अन्तिम साता परेको अविरल वर्षासँगै म्याग्दे र छिर्दीखोलामा आएको बाढीपहिराले बगाइदियो”, उनले गुनासो गरे ।

उनका अनुसार १५ रोपनी खेत पुरेको छ । १० रोपनी जतिमा खोलाले कटान गरेको छ । “हिलोले पुरेको खेतमा खनजोत गरेर फेरि रोप्यौँ । बगरले पुरेको खेत यसपालि रोप्ने सम्भावना छैन्”, उनले भने । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीका ओमबहादुर केसीले साढे दुई रोपनी खेतमा रोपेको धान बाढीले बगाएको जानकारी दिए । “खेतमा अझै पनि खोला बगिरहेको छ, बराहाखोला पसेर साढे दुई रोपनी खेतमा रोपेको धानको रोपो नै बगायो,” उनले भने ।

Advertisement
Previous articleराजविराजमा दुई करोड भन्दा बढी राजश्व असुली
Next articleसभामुखका अगुवा प्रहरी चालकलाई कोरोना संक्रमण
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here