ओलीको हठ र प्रचण्डको विवशता बीच नेकपा टुक्रिदै
कुसुम सेञ्चुरी
साउन २३, २०७७ शुक्रबार १९:३३:५५
२३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र झाँग्गिएको घर झगडा मिलाउन प्रधानमन्त्री केपी ओली नै बाधक भएका हुन् त ? धेरैलाई त्यस्तै लाग्छ । पार्टीको बहुमतको बुझाई पनि यस्तै छ । तर ओली पक्ष भने यो कोरा कल्पना केवल सत्ताको ¥याल चुहाई मात्र भएको ठान्छ । पूर्व एमालेभित्रको कुण्ठाको रुप मात्र अहिले सतहमा देखापरेको उनीहरुको तर्क छ ।
पूर्व एमालेका तर्फबाट ओलीको विरोधमा स्थायी रुपमै मोर्चाबन्दी गर्ने माधवकुमार नेपाल र झलनाथ खनालको मोहराका रुपमा पूर्व माओवादी पक्षबाट आएका पुष्पकमल दाहाल प्रचण्ड प्रयोग भएको उनीहरुको ठम्याई छ । साँच्चै भन्ने हो भने माधव र जेएन काम्रेडले कुरा नबुझ्नु भएको मात्र हो– बालुवाटार निकट स्रोत भन्छ । वास्तवमा भन्ने हो भने पार्टी अध्यक्ष ओलीले पूर्व माओवादीको इज्जत जोगाइदिन मात्रै चुनावी गठबन्धन गरेको हो ।
प्रचण्डकै चाहना बमोजिम विगतमा गठबन्धन र पार्टी एकता प्रक्रिया अगाडि बढाइएको पनि उनले दावी गरे । भलै यसबाट ओलीलाईसमेत राजनीतिक लाभ भयो होला तर प्रचण्डलाई बढी फाइदा पुगेको छ – उनले भने । गएको चुनावमा तत्कालिन एमालेसँग गठबन्धन नगरेको भए प्रचण्डहरुको के हालत हुने थियो होला ? उनले प्रश्न गरे । चुनावमा ओलीकै नाममा जनताले मत हालेका हुन्, त्यसैले कम्तिमा यो कार्यकाल पूरै ओलीले चलाउन पाउनु पर्ने उनको तर्क छ ।
ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने गरी माधव झलनाथले गरेको मोर्चाबन्दीमा प्रचण्ड नराम्रोसँग फसेको ओली पक्षको बुझाई छ । किनभने ओलीलाई तह लगाउन प्रचण्डको साथ अपरिहार्य रहेको बुझाई असन्तुष्ट पक्षको रह्यो । प्रचण्ड पनि ओलीसँग विच्किएको अवस्था थियो । पूर्वसहमति बमोजिम आफूलाई ओलीले न त प्रधानमन्त्री पद नै दिए न कार्यकारी अध्यक्षको भूमिकामा काम गर्न भन्दै मुर्मुरिएको बेला थियो । वरिष्ठ नेता नेपाल र खनालले ठीक त्यही बेला प्रचण्डलाई उचाले ।
त्यसपछि असन्तुष्ट नेताहरुबीच नयाँ खाका नै तयार भयो । जसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति बन्यो । सबै नेताको व्यवस्थापन नै भएको खुलासा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गएको बुधवार मात्रै सार्वजनिक गरे । थापाले फेसबुकवालमा गरेको पोष्टमा भनिएको छ – १० वर्षअघि साउनको यही बेला धोबीघाट गठबन्धनको परिणति जस्तै, अहिले १० वर्षपछि साउनको यही बेला खुमलटार बैठकको रिहर्सल……….. आकांक्षा र बाँडफाँड
राष्ट्रपतिमा झलनाथ खनाल, प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष माधवकुमार नेपाल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ।
यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि,पद्धति र एकताको लडाईं हो त ? पार्टी विभाजनको खुलमखुल्ला हाँक, होहल्ला र रिहर्सल गर्दा यसबाट एकतालाई कहाँनेर सहयोग पुग्यो ? थापाको फेसबुुक स्टाटसमा उल्लेख छ ।प्रधानमन्त्रीविरुद्ध प्रचण्डलगायत चारै जना नेताले वुधबार नै आफू निकट पत्रकारहरुसँग विष वमन गरेका थिए । ठीक त्यही दिन साँझ ५ बजेका लागि तय गरिएको दुई नेताबीचको छलफल नै रद्ध गरियो । ओली क्रुद्ध भएको संकेत थापाले दुई अध्यक्षबीचको छलफल रद्ध भएको सूचना दिएर गरे । त्यसपछि अर्काे वार्ता कहिले गर्ने भनेर निश्चित भएको छैन ।
एकातिर समस्याको हल खोज्ने भन्दै प्रधानमन्त्रीसँग वार्ताको नाटक गर्ने अर्कातिर राष्ट्रपतिदेखि मन्त्रीसम्मको पद बाँडफाँड नै गर्ने ? ओली निकट ती नेताले भने– यस्तो द्वैधचरित्र देखाउने भए केको वार्ता, जे हुन्छ देखा जाएगा । दुई अध्यक्षबीचको संवाद नै अवरुद्ध भएपछि दोस्रो तहका केही नेता चिन्तित छन् । ओली पक्षकै नेता सुभाषचन्द्र नेम्बाङ र प्रदीप ज्ञवालीले प्रचण्डसँग यसबारे कुरा गरेका छन् । हिजो बिहान नेम्बाङ प्रचण्ड निवास खुमलटार नै गएर यसबारे कुरा गरे । उनले दुवै अध्यक्षबीच सकारात्मक रुपमा वार्ता भइरहेका बेला मोर्चाबन्दी गर्ने काम बाधक बनेको बताए । तर प्रचण्डले समस्याको जड ओली भएकाले त्यसमा सुधार आवश्यक रहेको धारणा राखेका थिए ।
दुवै अध्यक्षबीच बढेको मतान्तर साँघुरो बनाउन ओली र प्रचण्ड निकट नेताहरु सक्रिय भएपनि माधव र झलनाथको घेराबन्दी बलियो बन्न थालेको देखिन्छ । प्रचण्ड निकट नेताहरु पनि अहिले ओलीसँगै मिलेरै जान सुझाव दिइरहेका छन् । तर प्रचण्ड भने तयार देखिएका छैनन् । ओली पक्ष पनि प्रचण्डको साथ लिएरै अगाडि बढ्दा सुरक्षित हुने ठान्छ । तर वातावरण भने भाँडिन थालेकोे देखिन्छ । त्यसैले ओली पक्षले नयाँ रणनीति तयार गर्दैछ ।
बामदेव गौतमलाई आफ्नो पक्षमा बनाइसकेको ओली पक्ष प्रचण्डलाई नै मिलाउने दाउमा छ । त्यो सम्भव नभए पार्टी विभाजनको लागि तयारी गर्ने मनस्थितिमा ओली रहेको निकटवर्ती स्रोतको भनाई छ । गौतमलाई हालै दर्ता भएको नेकपा एमालेको अध्यक्ष बनाउने र आफुले पधानमन्त्री खाईरहने ओलीको दाऊ छ । एकथरि त प्रचण्ड भन्दा माधव नेपाललाई नै मिलाएर जाने पक्षमा रहेका छन् । तर ओली स्वयं भने नेपालसँग भन्दा प्रचण्डसँगकै सहकार्य फलदायी हुने पक्षमा देखिएका छन् । ओली नै प्रचण्डलाई अबको पार्टी अध्यक्ष बनाउने पक्षमा रहेकाबेला उनी भने नचाहिंदो मोर्चाबन्दी गर्न अग्रसर भएको भन्दै बालुवाटार क्रुद्ध भएको हो ।
प्रचण्ड आफैंले ०७५ मङ्सिर ३ गते प्रधानमन्त्रीसँग पाँचै वर्ष सरकार चलाउन सहमति गर्ने, फेरि त्यही पदका लागि माधव कम्रेडसँग सम्झौता गर्ने ? ओली निकट नेताको आरोप छ । प्रधानमन्त्री बन्नै पर्ने भए ओलीसँग नै अर्काे सम्झौता गर्न उनले सुुझाव दिएका छन् । ओली पनि अब एक वर्षपछि प्रचण्डलाई प्रधानमन्त्री पद दिन सकिने भन्दै सकारात्मक भइरहेका बेला फेरि मोर्चाबन्दी ? उनको प्रश्न छ ।
यही ढंगले जाने हो भने नेकपा अब सग्लो रहन मुश्किल हुने पनि उनले बताए । ओलीलाई एक्लो बनाएर पार्टी कब्जा गर्ने सोच कसैले नपाले हुन्छ भन्दै उनले नेकपालाई साँच्चै बलियो बनाउने हो भने यही सरकारलाई सहयोग गर्नुको विकल्प नभएको उनले दावी गरे । परिस्थिति अर्काे दिशातर्फ मोडिएपछि प्रचण्ड नेपालको गठबन्धन पनि नयाँ रणनीति बनाउन सक्रिय छ । सधैं बहुमतले अल्पमतका सामु घुँडा टेक्नुपर्ने अवस्था अन्त्य गर्न अब भने अप्रिय निर्णय नै लिने की भन्ने पक्षमा समेत उनीहरु सोच्न बाध्य भएका छन् । तर प्रचण्ड र नेता नेपालले त्यो जोखिम उठाउने कुरामा ओली पक्ष विश्वस्त देखिंदैन ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार