नेकपा विभाजन निश्चित : मैनाली
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार १९:५६:४६
२५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको विगत सम्झँदै वरिष्ठ बाम नेता राधाकृष्ण मैनाली भन्छन्– बढो विचित्रको मान्छे हो, ओलीजी । झापा आन्दोलनपछि जेल पर्दा उनी मान्छे हुटिट्याउँ तर स्वभाव भने जिद्धी र हठी ।ओलीको शारीरिक अवस्था देख्दा सबैलाई दया लाग्ने – नेता मैनालीकै शब्दमा बढो ताज्जुब लाग्छ अहिले त्यसबेलाको घटना सम्झँदा, टीबीले ग्रस्त हुँदासमेत उनी फिल्टर भएकै चुरोट खान तम्सन्थे । जति बुझाउँदा पनि नमान्ने बढो हठी थिए ।
ओली अहिले देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीको कुर्सीमा बिराजमान छन्, त्यो पनि दुई तिहाई समर्थन प्राप्त । तर स्वभाव भने उस्तै । ओलीलाई लागेको छ – नेकपालाई प्राप्त दुई तिहाई समर्थन आफ्नै नाममा आएको हो । जनताले ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बनाउन नै भोट दिएका हुन् । त्यसैले कसैले प्रधानमन्त्रीबाट लघार्न खोज्दा उनी बौलाउँछन्, उनको मथिङ्गल हल्लिने गर्छ ।
प्रधानमन्त्रीका रुपमा पाँचै वर्ष पदमा रहने एउटा इतिहाससमेत उनी रच्न चाहन्छन् । त्यसैले कसैले भन्दैमा वा कसैको सुन्दैमा उनी पदबाट हट्न तयार छैनन् । ओलीको यस्तो स्वभाव राम्रै बुझ्ने नेता हुन् – माधवकुमार नेपाल । लामो समय सँगसँगै काम गर्दा नेपालले ओलीका हरेक आनीबानी जानेका छन् । ओली प्रधानमन्त्री मात्र नभएर पार्टी अध्यक्षसमेत हुन् । दुबै पद ओलीसँग रहँदा त्यसको दुश्चक्रमा परेका छन् नेता नेपाल ।
ओली जस्तो हठी स्वभावका मानिसलाई तह लगाउन निक्कै मुश्किल छ । त्यसैले नेता नेपालले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रयोग गर्न खोजेका छन् । ओलीबाट पटक पटक धोका खाएका प्रचण्डपनि नेता नेपालको काँध चढेर ओलीको झाँको झार्न पाइने हसिन सपनामा रमाउन पुगे । साथै, ओलीलाई हटाएर प्रधानमन्त्रीकै रुपमा माधव नेपाल पक्षले प्रस्ताव गरेपछि त प्रचण्ड हौसिन पुगे ।
नेता नेपाल, झलनाथ खनाल र बामदेव गौतमको समेत साथ सहयोग पाउने बलियो सम्भावना देखिएपछि प्रचण्डले ओली विरुद्ध धावा बोले । तर उनलाई हेक्का थिएन ओलीसँग कसरी भिड्ने भनेर । पूर्व नेकपाका हस्तीहरु हुन् – नेपाल, खनाल र गौतम । यी तीनै जना नेताको नाडी छामेका ओलीका लागि प्रचण्ड पनि खासै समस्या थिएनन् । कसलाई कसरी प्रयोग गर्नुपर्छ भन्ने राम्रो हेक्का राख्ने ओलीको जंजालमा नराम्ररी फस्न पुगे अब प्रचण्ड ।
ओलीलाई अपदस्थ गरेर आफू प्रधानमन्त्री बन्ने , झलनाथलाई राष्ट्रपति बनाउने र माधव कम्रेडलाई पार्टी अध्यक्ष बनाउने गरी बनेको गठबन्धन अनायसै भत्किएको छ । प्रचण्ड माधव गठबन्धनमा लाभको पद नपाउने भएपछि उपाध्यक्ष गौतमले यु टर्न गरे । उनले यही साउन १३ गते सम्पन्न एकपक्षीय स्थायी कमिटी बैठकमा ओलीलाई बल पुग्ने गरी ६ बुँदे प्रस्ताव ल्याइदिए । त्यसपछि खुमलटार गठबन्धन फेरि भताभुङ्ग भयो ।
ओलीले विरोधी पक्षलाई हरेक कोणबाट तह लगाउने रणनीति तयार गरेका छन् । यो कुराको राम्रो जानकारी नहँदा प्रचण्ड एकपटक फेरि चित्त खान पुगेका छन् । ओलीलाई तह लगाउन नसक्ने देखेपछि प्रचण्ड माधव गठबन्धनले फकाउने नीति लियो । त्यसका लागि ओलीसँग प्रचण्डलाई वान टू वान टक गर्न पठाइयो । तर दुबै अध्यक्षबीच भएका सबै छलफल र संवाल निस्फल साबित भएका छन् ।
ओली अल्पमतमा रहँदासमेत आफूहरु निरीह हुनुपरेको पीडाबोध प्रचण्ड, माधव र झलनाथलाई नभएको होइन । तर केही गर्न सक्ने शक्तिपनि उनीहरुसँग छैन । ओलीलाई कारबाही गर्दा पार्टी नै फुट्ने अवस्था छ । त्यो जोखिम मोल्न कोही तयार छैन । ओलीले यही हतियार प्रयोग गरेर सबैलाई तर्साइरहेका छन् ।
ओलीलाई मन परेन भने कसैगरेर पनि मनाउन सकिन्न– नेता मैनाली भन्छन् – बरु भाँचिन तयार होलान् तर उनी निहुरिन चाहन्नन् । त्यही स्वभावले गर्दा लामो समय उनी पार्टीमा प्रतिपक्षी भूमिकामा सीमित भए । माधव नेपालको सेपमा परेका ओली सधैं दुखी थिए ।
तर समयक्रममा ओलीको हातमा पार्टी र सरकार दुबैको लगाम आइलाग्यो । यतिबेला उनी पुरानो हिसाब मिलाउने दाउमा छन् । त्यसका लागि उनले पूर्व माओवादीसँग गठबन्धन गरी चुनाव लड्ने निर्णय गरेका थिए । सुरुमा नेता नेपालहरुले ओलीको उक्त निर्णयलाई एकल भन्दै चुनौती दिन खोजे , तर ओलीका अगाडि केही सीप नचलेपछि स्वीकार्न बाध्य भए ।
ओली पनि प्रचण्डको साथ र सहयोगमा नेपाललगायत स्थायी प्रतिद्वन्द्वीसँग हिसाबकिताव गर्न चाहन्थे । यस प्रयोजनका लागि उनले प्रचण्डसँग पार्टी एकीकरण नै गरे । सुरुका केही दिन प्रचण्डसँग मिलेर ओलीले नेता नेपाललाई तह लगाउने काम गरे । तर प्रचण्डसँगको पूर्व सहमति मान्न ओलीले अस्वीकार गरेपछि भने परिस्थिति फेरियो ।
ओलीले रैतीको हैसियतमा आफूलाई व्यवहार गरेकोमा प्रचण्डको मन कुँढिएको थियो । त्यसैलाई क्यास गर्न खोजे नेता नेपालले । हैसियत बिनाको अध्यक्ष बनाइएका प्रचण्डलाई पनि के खोज्छस् कानो आँखा भने जस्तै भयो । अनि ओलीसँगको गठबन्धन तोडेर माधवसँगको हिमचिम बढेको हो ।
माधवसँगको एकताले पनि प्रचण्डलाई प्राप्ति कम गुमाउने धेरै देखियो । किनभने ओलीलाई तह लगाउन बहुमते गठबन्धन निरीह छ । ओलीलाई तह लगाउन प्रचण्ड माधव गठबन्धनको जोडबलमा सुरु भएको स्थायी कमिटी बैठक अहिले बेवारिसे बनेको छ । गएको साउन १३ का लागि निर्धारित बैठक ओलीले एकपक्षीय रुपमा अनिश्चित कालका लागि स्थगन गरिदिएका छन् । त्यसयता, दुुबै अध्यक्षबीच वार्तासमेत पातलो छ । दुई दिन भएको वार्तामा दुबैले एकएक जना साक्षी राखे तर सहमति जुटेन । केही सीप नलागेपछि बहुमत पक्षका नेताले निकट पत्रकारलाई बोलाएर ओलीको ज्यादतिको फेरिस्त प्रस्तुत गरे ।
यो घटनाले ओलीलाई के निहुँ पाऊँ कनिका बुक्याऊँ जस्तो भएको छ । एकातिर सहमतिको कुरा गर्ने अर्कातिर मलाई खुइल्याउन खोज्ने भन्दै ओलीले प्रचण्डसँगको वार्ता नै रद्ध गरेका छन् । अहिले त कोरोनाको संक्रमण बढेको भन्दै दुबै अध्यक्षले वार्ताका लागि पहल नगरेको अवस्था छ ।
यही अवस्था रहीरहने हो भने अब नेकपा विभाजनबाट कसैले जोगाउन सक्दैन – वरिष्ठ वाम नेता मैनाली भन्छन् । मन नमिलेको कम्युनिष्ट एकै थलोमा बसेको इतिहास छैन, ढिलो चाँडो नेकपामा पनि विभाजन निश्चित छ– उनको ठहर छ ।
नेताहरुबीचको संवाद टुटेकै बेला विभाजनको रेखा पनि कोरिने हो भन्दै उनले यही मौकामा नेकपा फुटको निर्णय तपाई हामीले सुन्ने छौं– मैनालीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार