निषेधाज्ञा तोड्नेमाथि कठोर कारवाही हुन्छ
नेपालबहस संवाददाता
भदौ ८, २०७७ सोमबार १९:५०:२०
लकडाउन कै बीचमा आफ्नै गुह जिल्ला स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हालेका गंगाबहादुर क्षेत्री यतिबेला रातदिन नभनी जिल्लाको समग्र शान्तिसुरक्षा र अमनचयन कायम गराउन दत्तचित्त छन् । एकातर्फ कोरोना कहरको भयावह अवस्था र अर्कोतर्फ समाजमा अपराधिक क्रियाकलाप नियन्त्रण गरी शान्तिसुरक्षा कायम राख्नु पर्ने दायित्व उनको काँधमा छ ।
अझ पछिल्लो समय बाढी पहिरो पीडितहरुको उद्धार, राहत र व्यवस्थापनको चुनौती पनि थपिएको छ । सरल, मिजासिला र स्पष्टवक्ता प्रजिअ क्षेत्री कानुन कार्यान्वयनमा भने कडा मिजासका देखिएका छन् । प्रमुख राजनीतिक दल, नागरिक समाज तथा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत जिल्लाका सबै कार्यालय प्रमुखसँगको समन्वय र परिचालन गर्दै छोटो समय मै स्याङ्जामा सफल प्रजिअको पहिचान उनले बनाएका छन् ।
स्याङजामा ठुलो संख्यामा प्रहरीमा समेत कोरोना संक्रमण देखिएपछि जारी निषेधाज्ञा अझै कायम छ । थप संक्रमण समुदायमा फैलिन नदिन गृहमन्त्रालय मातहतका निकायको महत्वपूर्ण भुमिका रहेको छ । कोरोना भाइरसको सन्त्रास र त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लाले गरेको निषेधाज्ञा (लकडाउन) पछि स्याङजामा परेको प्रभाव र रोगबाट बच्न जिल्लाले गरेको तयारीमा केन्द्रीत रहेर स्याङजाका प्रजिअ क्षेत्रीसँग गरिएको कुराकानी:-
◊ कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (लकडाउन) को अवस्था स्याङजामा कस्तो रहेको छ ? अवज्ञा गर्नेलाई के–कस्ता कारवाही भएका छन् ?
हामीले जिल्लामा अत्यावश्यक काम बाहेक अन्य सेवा प्रवाहलाई रोक लगाएका छौं । प्रशासनले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन गरेको आह्वानलाई स्याङजाबासीले आत्मसाथ गर्नुभएको छ । हालसम्म आईपुग्दा यो अझ प्रभावकारी भएको पाइएको छ । समग्रमा स्याङजाका ९० प्रतिशत बढी मानिसहरुले सरकारी आदेशको पालना गर्नुभएको छ । पोखरा र बुटवल जाने बाटो परेकाले राजमार्गमा केही मोबिलिटी देखिए पनि उहाँहरु पास लिएरै जानुभएको देखिन्छ । आफूलाई स्थानीय भन्दै बिनाकाममा हिड्नेहरुलाई हामीले सचेत गराउने, सवारी साधन नियन्त्रणमा लिने जस्ता कारवाही गर्दै आएका छौं । मूख्यत हाम्रो कारवाही भन्दा ठूलो सामाजिक कारवाही हो । जथाभावी हिड्नेलाई समाजले नै कारवाही गर्ने स्थिति बन्दैछ ।
◊ निषेधाज्ञाको अवस्था हेर्न घर बाहिर निस्कने प्रवृत्ति देखिएको छ । यसलाई कसरी निरुत्साहित गर्नुहुन्छ ?
पछिल्लो समय १२ जना मात्र आईसोलेशनमा हुनुहुन्थ्यो । अब स्याङजा कोरोनामुक्त हुदैंछ भन्ने लागेको थियो । तर अचानक नेपाल प्रहरीमा समेत कोरोना देखिएपछि हामीले पुन लकडाउन (निषेधाज्ञा) घोषणा गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोग लिएका छौं । निषेधाज्ञाको बेला बाहिर निस्कने प्रवृत्तिलाई निरुत्साहित गर्न मैले प्रहरीलाई कठोर हुन आदेश दिएको छु । सम्झाउँदा नबुझ्नेलाई कानुनी कारवाही गर्न हामी पछि हट्दैनौ । तर, मूख्यकुरा सामाजिक चेतना नै हो । अहिले हामी स्थानीय जनप्रतिनिधि र समाजका अगुवा व्यक्तित्वहरुमार्फत प्रत्येक व्यक्तिलाई जिम्मेवार बनाउन लागिपरेका छौं । प्रहरी प्रशासनको आखाँ छल्नेलाई समाजले पनि पाठ पढाउन आवश्यक छ । हामी सिंगो समाजलाई नै कोरोनो भाइरस बिरुद्घको लडाइमा सँगसँगै लिएर लड्न चाहन्छौं ।
◊ खाद्यान्न र तरकारीका पसलहरु साँझ मात्र खुलेका छन् । पसलमा किनमेल गर्नेको भीडभाड हुन्छ । यसले निषेधाज्ञाको के अर्थ भयो र ?
पछिल्लो पटक त्यस्तो छैन् । अहिले त्यस्तो खासै भीड भएजस्तो मलाई लाग्दैन् । बिक्रेताहरूले नबुझ्दा यो समस्या भएको हो । खासमा यी पसलहरु बन्द गर्ने होइन । तर, बिक्रेताहरू पनि रोगको त्रासले साँझ मात्र खोल्नुहुन्छ । यसले क्रेताबिक्रेता दुवैलाई झन् जोखिम बढाएको छ । जिल्लामा पुन लकडाउन भनौं निषेधाज्ञा गरी हालसम्म आईपुग्दा हामीले स्थानीय सरकारसँग समन्वय गरी कम्तिमा १ मिटरको दुरी कायम गरी सामान खरिदबिक्री गर्ने व्यवस्था मिलाएका छौं । केही स्थानीय तहले सो काम गरिसकेको र केहीले गरिहाल्ने भन्ने हामीले खबर पाएका छौं ।
◊ संकटको यस घडीमा प्रत्येक नागरिकले सरकार खोजीरहेका छन् । तपाई सरकारको प्रतिनिधिको रुपमा स्याङ्जाको प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । तपाइसँग जनताले कसरी सम्पर्क गर्न सक्छन ?
हाम्रो मुख्य प्राथमिकता जिल्लाको शान्ति सुरक्षा नै हो । म प्रमुख जिल्ला अधिकारी हुनुको नाताले संकटको यस घडीमा सम्पूर्ण स्याङजाबासीको साथमै रहेको विश्वास दिलाउन चाहन्छु । कोभिड १९ बारे प्रत्येक गाँउपालिका तथा नगरपालिकाले सम्पर्क व्यक्ति तोकिदिएका छन् । स्थानीय सरकारहरु छन् । स्थानीय तहमा प्रहरी कर्मचारी पनि हुनुहुन्छ । उहाँहरुमार्फत पनि हामी स्थानीयसँग जोडिएका छौं । यतिबेला यहाँहरुलाई कुनै संकट आइपर्यो भने सिधै मेरो मोबाइल नम्बर ९८५६०४७७७७ मा सम्पर्क गर्न सक्नुहुन्छ ।
◊कतिपय दैनिक ज्यालादारी गरी खाने मजदुरहरुले यतिबेला भोकै सुत्नुपरेको भन्ने छ नि ?
स्याङजामा त्यसरी भोकै सुत्नुपर्ने अवस्था छैन् । हामीले उहाँहरुलाई हेरेका छौं । कतिपय मनकारी स्थानीय व्यक्तिहरुले पनि उहाँहरुलाई खानेकुरा दिइरहनु भएको छ । हामीले गाँउपालिका तथा नगरपालिकालाई त्यस्ता व्यक्तिहरुलाई खानाको व्यवस्था गर्न अनुरोध पनि गरेका छौं । गाँउपालिका तथा नगरपालिकाले वडा अध्यक्षलाई उक्त कार्य गर्न भनेको हामीलाई जानकारी प्राप्त भएको छ । स्याङजामा कोही भोकै सुत्नुपर्दैन । यदि त्यस्तो अवस्था देखियो भने हामीलाई खबर गर्दा हामी आभारी हुनेछौं । हामी आपतविपतमा परेका व्यक्तिहरुलाई तत्काल राहत सहयोग गर्न आतुर छौं ।
◊ अहिलेसम्मको अवस्था हेर्दा स्याङजामा कोभिड १९ को जोखिम कति हो ? जिल्लामा कोभिड १९ रोकथामका सम्बन्धमा देखिएका चुनौती के हुन् ?
अहिलेसम्म जिल्लामा करिब २ सय ७० जना संक्रमित हुनुहुन्छ । अहिलेसम्मको केस र हिस्ट्रीको अवस्था अध्ययन गर्दा विदेशबाट आएकाहरुलाई मात्र नभएर प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयलाई समेत रोगको संक्रमण पुष्टि भएको देखिन्छ ।यसरी हेर्दा स्याङजामा पनि यो पछिल्लो २ हप्तामा संक्रमित प्रहरीहरु प्रशस्त देखिएका छन् । यसर्थ, स्याङजा जोखिममा छैन भन्ने अवस्था छैन । उहाँहरुले सेल्फ क्वारेन्टाइन र आइसोलेशनमा रहेर कत्तिको नियम पालन गर्नु भएको छ त्यसको आधारमा जोखिमको मात्रा घटीबढी भन्ने मात्र हो । हाम्रो मूख्य चुनौती भन्ने नै सेल्फ क्वारेन्टाइनमा रहनु भएकाहरुलाई हामीले कत्ति जिम्मेवार बनाउन सक्यौं भन्ने हो । यदि सेल्फ क्वारेन्टाइन र आइसोलेशनलाई गम्भीरताका साथ् नलिनुभएको भए अथवा रोग लुकाइरहनु भएको भए त्यो खतरा हुनसक्छ ।
◊ जिल्लामा प्रहरी र स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएपछि सबैमा सन्त्रास बढेको छ । यसको संक्रमण समुदायमा फैलन नदिन के कस्ता प्रयास गरिएको छ ? अर्काेतर्फ विदेशबाट नेपाल आएकाहरुको अनुगमन संयन्त्र कसरी बनाइएको छ ?
विदेशबाट आएकाको अनुगमन सम्बन्धित पालिकाले नै गर्छ । विदेशबाट आएर उच्च जोखिममा रहेकाको विवरण केन्द्रबाटै आउँछ भने अन्यको स्थानीय सरकारमार्फत रेकर्ड राखिएको छ । अहिले छिमेकीले नै खबर गर्ने हुँदा कोही लुकिछिपी रहने स्थिति छैन र हुनुपनि हुँदैन । उहाँहरुलाई सेल्फ क्वारेन्टाइनमा र आइसोलेशनमा रहन भनिएको छ र त्यसको स्थानीय सरकारका वडा अध्यक्षकै संलग्नतामा अनुगमन भैरहेको छ । सेल्फ क्वारेन्टाइनमा रहन नमान्नेलाई हामीले सरकारी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छौं ।
◊ जिल्लामा रहेका क्वारेन्टाइन र आईसोलेशनको अवस्था के छ ?
पछिल्लो समयमा भारत र अन्य मुलुकबाट आउनेहरुको संख्या घट्दै गएकाले क्वारेन्टाईनको संख्या पनि घट्दै गएको छ । क्वारेन्टाईनमा शुरुमा बस्न नमान्नु भएकाहरु अहिले त्यहाँको व्यवस्थापन देखेर खुशी हुनुहुन्छ । हाम्रा प्रत्येक पालिकाहरुले क्वारेन्टाइन स्थल यकिन गरेका छन् ।
◊ निजी अस्पातालले सेवा नदिएको समाचार आइरहका छन् । स्याङजाको अवस्था के छ ?
हामीकहाँ त्यस्तो अवस्था छैन् । अहिलेसम्म जिल्ला अस्पतालले बिरामी धानिरहेको छ । जहाँसम्म अन्यत्र समाचारमा आएका कुरा छन्, हाम्रोमा त्यो अवस्था होइन । निजी अस्पतालले उपचार नगरेको गुनासो स्याङजामा हामीले पाएका छैनौ । डाक्टरको धर्म नै उपचार गर्नु हो । त्यसैले मलाई उहाँहरु आफ्नो धर्म छोडेर भाग्नुहुन्छ जस्तो पनि लाग्दैन ।
◊ अन्त्यमा आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ? जिल्लाबासीको लागि तपाईको के सन्देश छ ?
पछिल्लो समयमा जिल्लामा संक्रमण अलि बढेको हो कि झै देखिन्छ । अहिलेको हाम्रो मूख्य उद्देश्य भनेको कोभिड १९ को रोकथाम नै हो । यसका लागि सरकारको आदेश मानेर घरमै बस्नुभएकोमा आभारी छु । तपाईको टोल छिमेकमा कोही विदेशबाट आउनुभएको छ र सेल्फ क्वारेन्टाइनमा नरहनु भएको भए उहाँहरुलाई सचेत गराऔं । मान्छे आफ्नो भए पनि रोग आफ्नो हुँदैन । त्यसैले सबैले सामाजिक दुरी कायम गरौँ । रोग लाग्न नदिऔ, लागि हाले नआत्तिऔं र फैलन नदिऔं ।सबै सतर्क रहौं र सुरक्षित बनौ । यो सरकारको मात्र होइन, हामी सबैको साझा लडाई हो । घरमै बसेर कोभिड १९ विरुद्धको लडाई लडौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पदा संरक्षणमा उदाहरणीय नगर प्रहरी
पुष २९, २०८० आइतबार
संविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख घिमिरे
असोज १, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार