राजनीतिमा चम्चागिरी र असल कार्यकर्ता
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार २१:५८:३५
नेपाली राजनीतिमा राजनीतिक नेता र कार्यकर्ताहरुको बीचमा देखिएको खाडलले राजनीतिक दलको आडमा चम्चागिरी गरेर आफ्नाे दुनो सोझ्याउने प्रवृत्तिले खेल्ने मौका पाईरहेको छ । ईमान्दार राजनीतिज्ञसँग खराब सोच भएका व्यक्तिहरु बिरलै छेउ पर्न सक्छन् ।
कुनै व्यक्ति वा समूह नेतृत्वको स्वार्थले अभिप्रेरित भएर अगाडि पछाडि त्यतिखेर मात्रै लाग्न सक्छ जब नेतृत्वको खराब सोच, पैसाप्रतिको आशक्ति र स्वार्थले भरिएको नेताको रुपमा पाउँछन् । घरायसी कामकाजमा समेत अत्यन्तै धेरै उपयोग हुने चम्चाले कहिल्यै पनि भाँडो भर्ने काम गरेको इतिहास भने छैन । चम्चाले सधैं भरिभराउ भाँडो रित्याउने काम मात्रै गर्दै आईरहेको हुन्छ । त्यसरी नै राजनीतिमा पनि चम्चागिरीले राजनीतिलाई भरिभराउन र हराभरा बनाउदैन, सधैं रित्तो र उजाड बनाई रहेको हुन्छ ।
नेताले फैलाएको दुर्गन्धलाई पनि आहा कति मिठो, कति स्वादिष्ट र कति स्वास्थ्यप्रद भनेर मिठासयुक्त भनेर सुवास छर्ने प्रवृत्तिलाई नै राजनीतिमा चम्चागिरीको रुपमा लिईने गरिन्छ । त्यसको ठिक उल्टो नेताको गलत कार्यको बिरोध गर्न सक्ने, राम्रो कामको मुक्तकण्ठले प्रशंसा पनि गर्नसक्ने अथवा राम्रोलाई राम्रो र खराबलाई खराब भनेर स्पष्ट रुपमा आफ्ना कुरा नेतृत्वसामु राख्न सक्ने व्यक्तिहरुलाई असल कार्यकर्ता भन्ने गरिन्छ । असल कार्यकर्ताले नेतृत्वलाई जहिले पनि असल मार्गमा हिडन सुझाईरहेको हुन्छ भने चम्चागिरीले आफ्नाे स्वार्थपूर्तिका लागि नेतृत्व तहको उपयोग मात्र गरिरहेको हुन्छ ।
त्यस्तै चम्चागिरीको अर्को गुण भनेको चौबिसै घण्टा नेतृत्व तहको वरिपरी रहेर जयजयकार मात्र गरिरहने हुन्छ । नेतृत्वले बोलेका कुराहरु असल हुन या खराब हुन, क्लेश पनि अध्ययन नगरी गुहुँ र गोबर नछुट्याई जतिखेर पनि जयजयकार मात्र गर्ने कुराले कतिपय ठाउँमा नेता र नेतृत्वको असाध्यै ठूलो बदनाम समेत भैरहेको हुन्छ । यसको ठीक उल्टो एक असल कार्यकर्ताले नेताको राम्रो कामको मुक्तकण्ठले प्रशंसा गर्ने गर्दछ भने खराब कामको खुलेर आलोचना । यसले नेतृत्वलाई आफुले गरेको काम सही छ या गलत छ ? भनेर बुझ्न सजिलो मात्र हुदैन खराब कामलाई तत्काल सुधार्दै अघि बढन सहयोग पनि पुग्ने गर्दछ । तर धेरैजसो नेतृत्व वर्गमा आफुले गरेका जुनसुकै कामहरु र कुराहरुको स्वस्थ्य आलोचना सुन्न सक्ने क्षमताको अभाव रहेको हुन्छ । चम्चागिरीहरुले यस्ता नेता र नेतृत्वलाई सधैं गुमराहमा राखेर कोठे जयजयकारका भरमा खराब काम गर्न अभिप्रेरित गरिरहेका हुन्छन् र सधैंजसो नेतृत्वपंक्ति बदनाम पनि भैरहेका हुन्छन् ।
त्यस्तै चम्चागिरीको रुपमा आफ्नाे स्वार्थपुर्ति गर्न लालायितहरुको भीडले नेतृत्व अथवा नेताले गरेको भ्रष्टाचार होईन भनेर कुर्लने, नेताले गरेको भ्रष्टाचार ढाकछोप गर्न सधैं अग्रसर रहने, नेताले गरेको भ्रष्टाचारका बिषयमा नागरिकहरुले आवाज उठाए प्रतिकारमा उत्रने, नारा जुलुस गरेर नेताको गुणगान गाउँदै नेतालाई चोख्याउन सधैं आफ्नाे बलबुताले भ्याएसम्म लागिरहने खालका हुन्छन् भने असल कार्यकर्ताहरु नेतामाथि लागेको भ्रष्टाचारको दागको बिषयमा आम नागरिकहरुले थाहा पाउने गरी निष्पक्ष रुपमा स्वतन्त्र निकायको सहयोगमा छानविन हुनुपर्छ, यदि नेता वा नेतृत्व वर्गबाट भ्रष्टाचार भएको ठहर भए आम नागरिक सरह कार्यवाही हुनु पर्छ भनेर आवाज उठाउँछन् ।
यसले कानूनी राज्यको प्रत्याभूति दिलाउन समेत राजनीतिक दलहरुमा असल कार्यकर्ताको भूमिका अहंम रुपमा रहेको हुन्छ । यस्ता असल कार्यकर्ताहरुलाई धेरैजसो नेता तथा नेतृत्व वर्गहरु कमै मात्र रुचाउने, राजनीतिक नियुक्तिमा पछाडि पार्दै चम्चागिरी गरेर गुणगान गाउनेहरुलाई नै अवसर प्रदान गर्ने गर्दछन् । कहिलेकाँही स्वयं नेतृत्वपंक्ति नै कार्यकर्ताको भ्रष्टाचारको ढाकछोप गर्न सडकमा उत्रिएका उदाहरणहरु पनि हाम्रो देशमा देख्न र सुन्न पाईन्छ ।
चम्चागिरी गर्ने कार्यकर्ताहरु प्रायजसो नेता तथा नेतृत्व वर्गको सधैं वरिपरि झुम्मीरहने, कसले के भन्यो, कसले के गर्यो ? को कसको पक्षमा छ, को कसको बिपक्षमा कुरा गर्छ ? कसले नेतालाई गाली गर्छ ? कसलाई कहाँ नियुक्ति गर्यो भने हामी सबैको कल्याण हुन्छ ? भन्ने जस्ता कुराहरु सुनाईरहने, सधैं राजधानीमै मात्र बसिरहने, नेताकै अघिपछि कुदिरहने प्रकृतिका हुन्छन । यस्ता चम्चाहरुलाई नेताले पनि अत्यधिक रुपमा रुचाई रहेका हुन्छन् । यिनीहरुकै सुझाव र सल्लाहमा राजनीतिक निर्णयहरु समेत लिने गरेको पाईन्छ जसले कहिलेकाँही सिंगो राजनीतिक दलमा दरारहरु समेत पैदा हुने गर्दछन् भने एक असल कार्यकर्ता नेता भन्दा अलि पर रहने, गुण र दोषका आधारमा नेतालाई समर्थन र बिरोध गर्ने भएका कारण नेताले यस्ता ईमान्दार कार्यकर्ताहरुलाई त्यति मन पराउँदैनन् । भरसक यस्ता कार्यकर्ताहरु नजिक नआई दिए हुन्थ्यो भन्ने सोचले केही काम लिएर नेताकहाँ गए पनि अर्कै नेतालाई भेटने, मन्त्रीलाई या मन्त्रालयका सचिवहरुलाई भेटने भनेर तर्किन्छन् । यसले तिनै नेतालाई राजनीतिक रुपमा अपुरणीय क्षति भैरहेको हुन्छ ।
नेताको चम्चागिरी गरिरहने कार्यकर्तालाई सधैं नेताको आर्शिवाद प्राप्त भैरहेको हुन्छ । शैक्षिक योग्यता कम भएपनि, पदीय जिम्मेवारी लिन अयोग्य भएको देखिए तापनि, भ्रष्टाचारको दाग लागेर तीन कोषसम्म गन्हाईरहेको भए तापनि यस्ता चम्चागिरी गर्ने कार्यकर्ताहरुले राजनीतिक नियुक्ती, बिभिन्न पद र राम्रो स्थानमा अवसर पाईरहेका हुन्छन् । जिम्मेवारी एकातिर तर जिउहजुरी अर्कोतिर गर्ने यस्ता चम्चागिरीहरु जिम्मेवारीलाई कमाई खाने भाँडो बनाएर सधैं नेताकै अघिपछि मात्रै कुदिरहेका देखिन्छन् । तर यसको ठिक उल्टो एक ईमान्दार कार्यकर्ता उचित योग्यता र अनुभवले परिपूर्ण, उक्त पदका लागि अति योग्य र काम गर्ने क्षमता र दक्षता समेत भएको भए तापनि उसलाई उक्त पद पाउन अत्यन्तै मुस्किल परिरहेको हुन्छ । यसले ईमान्दार कार्यकर्ताहरु प्रायः नेतृत्व तहको वरिपरी आफुलाई पदको आवश्यकता पर्यो भनेर कहिल्यै पनि जादैनन् । नेतृत्व तहमा देखिएको चम्चागिरीहरुको दादागिरीबाट बिरक्त भएका ईमान्दार कार्यकर्ताहरु योग्यता, क्षमता र अनुभव भएर पनि उचित स्थानको अभावमा आफ्नै बलबुताका भरमा सामान्य जीवन जिउन बाध्य भएका हुन्छन् ।
राजनीतिक दलमा चम्चागिरी गर्नेहरु नेता शक्तिमा रहुञ्जेल मात्र नेताको वरिपरी देखिन्छन्, नेता शक्तिबाट खुस्किने बित्तिकै मरेको गाईलाई किर्ना, जुम्रा र उपियाँले छोडे झै छोडिदिन्छन् र अर्को शक्तिमा पुगेको व्यक्तिको भक्तिगान गाउन पुग्छन् । तर एक ईमान्दार कार्यकर्ता आफ्नाे नेता शक्तिमा हुँदा होस् या शक्तिबिहिन अवस्थामा रहँदा होस् उसको व्यवहारमा कुनै फरक आएको हुँदैन । जस्तोसुकै अवस्थामा पनि समान व्यवहार गर्ने बानी एक असल र ईमान्दार कार्यकर्तामा रहेको हुन्छ । उसले आफ्नाे दललाई र दलका नेतालाई कहिले पनि मौसमी व्यवहार गर्दैन ।
तर आजभोली जुनसुकै राजनीतिक दलहरुमा पनि यस्ता ईमान्दार र सहृदयी कार्यकर्ता पाउन मुस्किल छ । यदि छन् भने पनि अत्यन्तै कम संख्यामा, राजनीतिक धरातल भन्दा बाहिर रहेर मात्र पार्टीको भलाई र उन्नतिका लागि लागिरहेका छन् । जसलाई नत शक्तिमा पुगेको राजनीतिक दलले संझिएको छ नत नेतृत्वमा पुगेको नेताले । चम्चागिरी प्रथालाई निस्तेज पार्दै वास्तवमा यस्ता ईमान्दार र त्यागी कार्यकर्ताहरुको खोजी गर्नु पनि आजको राजनीतिक नेतृत्वमा रहेका नेता तथा नेतृत्व वर्गको काम होईन र ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअधबैंसे महामन्त्रीद्वय गगन र विश्वलाई एक मित्रको सल्लाह
बैशाख १०, २०८१ सोमबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार