सम्भव छैन देउवा बिनाको कांग्रेस ?
इन्द्र रिजाल
भदौ २८, २०७७ आइतबार १७:२१:५६
बल्लतल्ल हुने चर्चा थालिएको नेपाली कांग्रेसको चौधौं महाधिवेशन फेरि नेताहरुकै मिलेमतोमा आउने भदौसम्मका लागि सार्ने लगभग निश्चित भएको छ । कोरोना महामारीको कारण देखाएर नेताहरु फेरि पनि कार्यकाल बढाउने कसरतमा देखिएका छन् । नेताहरुको कार्यशैली र व्यवहारले फेरि पनि अर्काे संकट सामना गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । कम्युनिष्ट पार्टीलाई करिब दुई तिहाई मत दिएकोमा अहिले पछुताउने नेपाली जनताले विकल्पमा फेरि पनि कांग्रेस नै ठानेका छन् । तर कांग्रेसको गति र मति यही रह्यो भने फेरिपनि नागरिकको त्यो चाहना पूरा हुने अवस्था छैन् ।
नेपाली कांग्रेसको नेतृत्व तहमा रहेका अहिलेका नेताहरुका कार्यशैली र व्यवहारले उनीहरुले पञ्चायतको ३० वर्षे शासनकाल कसरी कटाए भन्ने लाग्छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेका शेरबहादुर देउवा सत्ता र शक्तिका लागि जोसँग जस्तोसुकै सहमति र सम्झौता गर्न नहच्कनेमा कहलिएकामा पर्छन् । उनको विगत ज्यादै डरलाग्दो छ । राजा ज्ञानेन्द्रको उक्साहटमा बहुमतको संसद विघटनको सिफारिश गरे । पछि उनैले निर्वाचन गराउन नसकेको भनी अक्षमको पगरी गुथाएर अपदस्थ गरे । केही समय आफैं सत्ता चलाएका ज्ञानेन्द्रले फेरि उनै देउवालाई प्रधानमन्त्री बनाए । देउवाले फुरुङ्ग भएर प्रतिक्रिया दिइहाले– गोर्खाका राजाले न्याय दिए । सँगसँगै दूधको साक्षी बिरालो भने जसरी तत्कालिन एमाले नेतृत्व पनि आधा प्रतिगमन सच्चिएको भन्दै सत्तामा हिस्सेदारी खोज्न बुर्कशी मार्न थाल्यो ।
देउवा र केपी ओलीहरुको त्यो चोचोमोचो पछिल्ला दिनमासमेत कायमै छ । ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारमा देउवा सबैभन्दा विश्वासिला र भरोशामन्द पात्र बनेका छन् । “काले काले मिलेर खाउँ भाले” भनेजस्तो गरी ओली र देउवा भागबण्डामा सत्ता साझेदारी गरिरहेका छन् । जबकी नेपाली जनताले यसपाला देउवालाई विपक्षमा बस्ने आदेश दिएको छ । तर देउवा त्यो मान्न तयार भएनन् ।
देउवा पद र शक्तिका लागि मरिहत्ते गर्ने पात्र भएको दुनियाँलाई ज्ञात छ । जनादेशको खिलाफ नै उनी सर्वाङ्ग हुँदासमेत कांग्रेसमै थोरै विवेक भएका नेताहरु चाहिं तैं चूप मै चूपको अवस्थामा छन् । प्रदीप गिरिदेखि गगन थापासम्मले यो गहन विषयमा कुनै प्रतिक्रिया दिने आँट गर्दैनन् । किनभने गिरिलाई फेरि पनि कांग्रेसबाट सांसदको टिकट चाहिएको छ भने गगनलाई त धेरै चिज । गगन, प्रदीप पौडेल मात्र होइन विश्वप्रकाश शर्माहरुसमेत देउवाको गलत प्रवृत्तिको खुलेर आलोचना गर्दैनन् । किनभने भोलि देउवासँगै बार्गेनिङ गरेर पद जो लिनु छ ।
तर युवा पुस्ताका नेताहरु एकजुट भएर आएनन् भने विस्तारै नेपाली कांग्रेस असान्र्भिक हुने खतरामा छ । युवा जमातको आकर्षण नभएसम्म अब राजनीतिमा सफलता पाउन गाह्रो छ । कम्युनिष्टप्रति जनतामा निराशा र आक्रोश छ, तर विकल्पमा कांग्रेस पनि सक्षम छैन । अहिलेको युवा पुस्ता देउवाको नेतृत्वको कांग्रेस चाहन्नन् । देउवाले विगतमा गरेका यावत् गल्तीको फेरिस्त युवा पुस्तासँग सुरक्षित छन् । कम्युनिष्टको विकल्पमा कम्युनिष्टसँग सत्ताको भागबण्डा गर्न लाज नमान्ने देउवा नेतृत्वको कांग्रेस कसैले चाहँदैन । देउवाको यही सोच र प्रवृत्तिले फेरि पनि हातमा आइसकेको सत्ता फुत्किने अवस्थामा छ ।
नेपाली जनताको चाहना पूरा गर्ने हो भने अब कांग्रेस युगसुहाउँदो बन्नैपर्छ । युग अनुकुल हुनका लागि देउवा प्रवृत्ति परास्त भएको कांग्रेस बनोस् भन्ने हो । देउवा प्रवृत्तिलाई साँच्चै निमिट्यान्न पार्ने हो भने स्वयं कांग्रेसजन अग्रसर हुनुपर्छ । अझ युवा पुस्ता । अहिले धेरैले आशा र विश्वास गरेका कांग्रेस नेतृत्वमा देखिएका युवा पुस्ताले गम्भिरता र संवेदनशीलता देखाएनन् भने आउने दिन थप भयावह छ । कमसेकम युवा पुस्ताले एकताबद्ध भई नेपाली कांग्रेसलाई शुद्धता प्रदान गर्नु आवश्यक छ ।
इतिहास सधैं दोहरिंदैन । अहिले भने कांग्रेसका लागि अनुकूल छ । कम्युनिष्ट नेतृत्वको दुई तिहाई नजिकको मत बेकामे भएको छ ।जनजीविकाका सवालमा नेकपा ज्यादै संवेदनहिन देखियो । जनमतको खिल्ली उडाउने काम लगातार भइरहेको छ । कोरोना जस्तो महामारीका बेलापनि उनीहरु सत्ता र अनियमिततामा डुबुल्की मार्नै तल्लिन रहे । त्यसैले कांग्रेसले केही नगर्दासमेत जनताले विकल्पमा आँखा दौडाएको अवस्था छ । तर त्यसका लागि विगतको तीतो अनुभवलाई बिर्सनु भएन । देउवाकै नेतृत्वमा फेरि पनि निर्वाचनमा जाने हो भने कांग्रेसको हविगत हिजोभन्दा कमजोर हुन्छ । यो केवल आरोपका लागि आरोप होइन, गाउँघरमा गएर जनमत लिए हुन्छ ।
देउवाले हिजो देखाएको सत्तामोह र पदलोलुपताले गर्दा आम मानिसमा गलत धारणा बनेको छ । तर यो कुरा देउवाका लागि प्रिय हुने छैन । साथै, देउवाको फेर समाएर भोलि पद पाउँला की भनेर ढुक्नेहरुका लागिसमेत अरुचिकर हुनेछ । तर आम जनता भने त्यही चाहन्छ । कम्युनिष्टको विकल्पमा कांग्रेस नै हो, तर देउवाले विश्राम लिनुपर्छ । यो अवसर हो कांग्रेसका लागि । व्यक्ति भन्दा ठूलो पार्टी हो । पार्टीलाई मजबूत बनाउने हो भने आम नागरिकको सोच र भावनाको कदर गर्नैपर्छ । त्यसका लागि उपयुक्त अवसर भनेको चौधौं अधिवेशन नै हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार