बिहिबार , माघ १५, २०७७

अख्तियारकाे प्रमुख आयुक्तमा जोशी, आयुक्त बन्न नेताको दैलोमा दौडधुप !

अख्तियारकाे प्रमुख आयुक्तमा जोशी, आयुक्त बन्न नेताको दैलोमा दौडधुप !

२८ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे आज बिदा हुदैछन् । अनिवार्य अवकाशका कारण घिमिरे प्रमुख आयुक्तका रूपमा झण्डै दुई बर्षको कार्यकाल बिताएर बिदा हुन लागेका हुन् । उनको बिदाईमा आज अख्तियार कार्यालय टंगालमा विशेष सभाको आयोजना गरिएको छ ।

आफ्नो कार्यकालमा घिमिरे बढी विवादमा परे । उनले घुस खाने कसैलाई पनि नछाडेको दावी गरे । तर ठूला भ्रष्टाचार काण्डमा मुछिएका कसैलाई पनि अनुसन्धानमा तानेनन् । ०७५ असोज ४ मा गते अख्तियार प्रमुखमा नियुक्त भएका उनी २३ महिने कार्यकाल पूरा गरेर आइतबार बिदा हुन लागेका हुन् ।

उनको कार्यकालमा बालुवाटार जग्गा काण्ड, स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको ओम्नी काण्ड, तत्कालिन सञ्चारमन्त्री गोकूल बाँस्कोटालाई राजीनामा दिन बाध्य पार्ने सेक्युरिटी प्रेस खरिद प्रकरण लगायतका थुप्रै फाइलमाथि अख्तियारले दृष्टि राखेन । बरु सत्ताकै चाकरी गर्न ठूला भ्रष्टाचारकाण्डका फाइल तामेलीमा राखेर थप आलोचित भयो ।

आयुक्त बन्न नेताहरुको दैलोमा !

प्रमुख आयुक्त अख्तियारबाट बिदा हुन लागेसँगै अहिले रिक्त रहेकाे आयुक्तका लागि चर्को लबिङ चलिरहेको छ । आयुक्त बनाई दिन भन्दै प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काग्रेस सभापति शेरबहादुर देउवाको ढोकामा लबिङ गर्नेको संख्या बढ्दो छ ।

अख्तियारमा अहिले डा. सावित्री थापा गुरुङ र डा. गणेशराज जोशी मात्र छन् । घिमिरेपछि गुरुङ र जोशीमात्रै अख्तियारमा हुनेछन् । अरु तीन आयुक्तको सीट भने खाली छ ।

तीन जना आयुक्तका लागि झण्डै ६ जनाको लबिङ चर्को छ । खासगरी प्रधानमन्त्री ओलीको कोटाबाट नियुक्त गर्न माग गर्दै पूर्वगृहसचिव प्रेमकुमार राई र पूर्वआईजीपी सर्वेन्द्र खनाल चर्को लबिङमा छन् । प्रधानमन्त्री ओलीले दुई मध्ये एक जनालाई आयुक्तमा सिफारिस गर्ने सम्भावना रहेको स्रोत बताउँछ ।

यस्तै आयुक्तको दौडमा पूर्वएआईजी जयबहादुर चन्द र राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दीलिपकुमार रेग्मी पनि छन् । चन्दलाई सरकारले आईजीपीमै नियुक्त गरेपनि उनले शपथ खान पाएनन् । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको थियो ।

तर नियुक्त गरेको केही घण्टामै आईजीपी दौडमा रहेका डीआईजी नवराज सिलवालले सर्वोच्चमा नियुक्त बदर गर्न माग गर्दै रिट हाले । सो रिटमा सुनुवाई गर्दै सर्वोच्चले सरकारको निर्णय कार्यान्वयनमा रोक लगायो ।

कार्यसम्पादन मूल्यांकनमा किर्ते गरेकाे आराेप लागेका सिलवालको चलखेलले तत्कालिन प्रधानन्यायाधीश शुशिला कार्कीलाई समेत विवादमा तानेको थियो । पछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चन्द र सिलवाल दुवैलाई पन्छाएर प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेको थियो ।

त्यतिबेला कांग्रेस निकटका चन्दलाई आईजीपी बनाउन नसकेका देउवा अहिले आयुक्त बनाउने योजनामा छन् । अरु थप दबाब र विवाद भएन भने देउवाले कांग्रेस कोटाबाट चन्दलाई सिफारिस गर्ने सम्भावना छ । यद्यपि रेग्मीको सम्भावना पनि उत्तिकै रहेको स्रोतको भनाई छ ।

प्रचण्डको सिफारिसमा गुरुङ प्रमुख आयुक्त बन्दै

अख्तियार प्रमुखमा अहिले कार्यरत रहेका दुईमध्ये एकजना प्रमुख आयुक्त नियुक्त हुदैछन् । मन्त्रिपरिषद बैठकले दुई जनामध्ये एक जनालाई प्रमुख आयुक्तमा सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा जोशीलाई नियुक्त गर्ने तयारी बालुवाटार र शीतलनिवासको छ । प्रधानमन्त्री पद जोगाउन निर्णायक भूमिकामा रहेर सहमति गरेका प्रचण्डलाई संवैधानिक आयोगको नियुक्तमा विशेष स्थान दिने ओलीको वचन रहेको चर्चा छ ।

सोही अनुसार पनि यसपटक अख्तियारको प्रमुख आयुक्तमा प्रचण्डकै सिफारिस अनुसार जोशीलाई नियुक्त गर्ने तयारी बढेको हो । तर जोशी उमेर हदका कारण आगामी चैतसम्म मात्रै अख्तियारकाे प्रमुख आयुक्तमा बहाल रहन पाउनेछन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय