किन चाहियो राष्टियसभा ?
नेपालबहस संवाददाता
असोज ६, २०७७ मंगलबार १८:१९:३८
संविधान जारी भएको पनि ५ वर्ष पुगेर ६ वर्ष लाग्यो । नेपालबाट राजतन्त्रको अन्त्यसँगै लेखन प्रारम्भ भएको संविधान झण्डै १० वर्षपछि २०७२ साल असोज ३ मा जारी भएको थियो । जनतालाई मालिक बनाउन भनेर स्थापना गरिएको गणतन्त्रमा जनता मालिक भए कि भएनन् जग जाहेर छ ।
गणतन्त्रमा पनि राजतन्त्रकालको जस्तै नक्कल गर्ने हो भने के फरक रह्यो र गणतन्त्र र राजतन्त्रमा ? आफ्नाे हात जगन्नाथ झैं राष्टपतिले पनि राजाले गर्ने क्रियाकलाप गर्नुपर्ने, मादपदवी, अलंकार आफ्ना भजनमण्डलीहरुलाई बाँड्नुपर्ने, कुख्यात अपराधीलाई आममाफी दिनुपर्ने, राष्टपति बाहिर निस्कदाँ यात्रा नभनेर सवारी चलाउनुपर्ने, सवारीको नाममा स्थलमार्ग मात्र हैन कि हवाई मार्गमा समेत जनताले सास्ती भोग्नु परेपछि के गणतन्त्रमा जनता मालिक भएकै हुन् त ?
संविधान देशको मुलकानुन हो । कानुन सबैलाई बराबरी हुनुपर्ने हो तर भैरहेको छैन । संविधान दिवसकै दिन पनि कसैले दियो र मैनबत्ती बालेर दीपावली गरे भने कसैले राँकेजुलुश बालेर विद्रोहको दीपावली गरे । हुन त राज्य तहबाटै कानुनको उलंघन भएपनि अरुले पनि किन मान्नु परयो र ?
संविधानको धारा ७८ को उपधारा ४(१) अनुसार “तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्य रहने छैन” भनिएको छ । संविधान दिवसको पुर्व सन्ध्यामा वर्तमान सरकार र सत्ताधारी दल नेकपाले उपप्रधानमन्त्री बनाउनकै खातिर यही प्रतिनिधिसभाको निर्वाचनमा जनताबाट अस्वीकृत नेता बामदेव गौतमलाई राष्टपतिमार्फत संसदमा छिराएर जनअभिमतको खिल्ली उडाएको छ र संविधानको भावनामाथि प्रहार गरेको छ ।
अब उनी कुनै दिन मन्त्री भएको समाचार सुन्दा अचम्म नमाने हुन्छ किनकी भ्रष्टचारमा लिप्त यो २ तिहाईरुपी सरकारले आइमाईलाई लोग्नेमान्छे र लोग्नेमान्छेलाई आईमाई बनाउने बाहेक हरेक काम गर्न जानेको छ ।
हैनभने नेपालको संविधानले कल्पना गरेको विज्ञता, चिन्तक, राष्टिय सम्मानप्राप्त व्यक्तिलाई लैजानुपर्ने ठाउँमा चुनावमा जनताद्धारा तिरस्कृत अनुहार लगेर उक्त सभाको औचित्यमाथि ठुलो प्रश्नचिन्ह खडा गर्यो कि गरेन ? यो राष्टियसभाको गरिमा र महत्वको दृष्टिले उपयुक्त हुँदै होइन । सबै जातको फुलवारी बनाउन त प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक नै पर्याप्त छ नि ।
राष्टिय सभालाई त राष्टिय जीवनका ख्यातिप्राप्त महानुभावको थलो बनाउनु पर्ने हो नि तर बनाइएन । बरु यसलाई चुनावमा हार्नेहरुको थलो बनाइयो । के राष्टियसभा डम्पिड साइड हो ? हैन भने जनताबाट तिरस्कृत भएकाहरुलाई नै पुरस्कृत गर्ने, हार्नेहरुको मात्रै अखडा बनाउने हो भने किन चाहियो राष्टिय सभा ? आजै विघटन गरे भै गो नि ।
स्मरण रहोस् चुनावमा जनताबाट तिरस्कृत बामदेव गौतमलाई मात्रै पहिलोपटक राष्टियसभामा लगिएको हैन । उनीभन्दा अघिनै आधा दर्जन हरुवाहरुलाई राष्टियसभामा फुलमाला गरेर भित्र्याई सकिएको छ । यसरी भित्रिने हरुवाहरुमा गोरखा २ बाट प्रतिनिधिसभाको चुनावमा पराजित नारायणकाजी श्रेष्ठ, सप्तरी ४ बाट प्रतिनिधिसभाको चुनावमा पराजित मृगेन्द्रकुमार सिंह, दाड ३ बाट प्रदेशसभामा पराजित जगतप्रसाद शर्मा, कपिलवस्तुको बाणगंगा नगरपालिकाको मेयरमा पराजित विमला घिमिरे, तनँहुको भानु नगरपालिकाको मेयरमा पराजित भगवती न्यौपाने तथा सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाको वडा सदस्यमा पराजित सिंगबहादुर विश्वकर्मा रहेका छन् ।
हरुवाहरुको राष्टियसभामा नियुक्ति प्रकरणले राजनीतिक अवसरवादलाई प्रश्रय दिएको छ । जनअभिमतको खिल्ली उडाएको छ । राष्टियसभाको विश्वासमा संकट उत्पन्न गराएको छ । सत्तारुढ दलले संविधानको अपमान गरेको छ । संविधानसभाका लागि संघर्ष गर्ने जनता र बलिदान दिने नागरिकको भावनामाथि चोट पुर्याएको छ ।
एकातिर बामदेव गौतम जस्ता जनताद्धारा तिरस्कृतलाई सरकारबाट पुरस्कृत गरिएको छ भने अर्कोतिर जनताबाट पुरस्कृत कुलमान घिसिङलाई सरकारबाट तिरस्कृत गरिएको छ । भष्टचारमा लिप्त र हरेक काण्डमा मुछिएका नेता घुमिफिरी दशकौंसम्म सांसद, मन्त्री बन्न मिल्ने, सम्धीहरुले सातपटकसम्म फरक फरक ठाउँमा सरकारी नियुक्ति खान मिल्ने, युवराज खतिवडालाई राष्टिय योजना आयोगको सदस्य, उपाध्यक्ष, गभर्नर, अर्थमन्त्री र अहिले विशेष आर्थिक सल्लाहकार बनाउनु हुने तर राम्रो काम गरेका कुलमानलाई फेरि दाहोर्याएर नियुक्ति दिन नहुने कस्तो सरकारी नीति हो ?
के अवसर पाउन क्षमतावान हैन कि “हनुमान” नै हुनुपर्ने हो त ? हनुमानहरुले बताइदिए लेखक आभारी हुने थियो । स्मरणरहोस् कुलमानले १८ घण्टा लामो लोडसेडिडको मात्रै अन्त्य गरेका थिएनन् उनी आएपछि ३४ अर्ब ६० करोड रुपैयाँको सञ्चित घाटामा रहेको प्राधिकरणलाई शुन्यमा झार्दै गत वर्षदेखि ४ अर्ब ८६ करोड रुपैयाँ नाफा कमाउने संस्थाको रुपमा उठाउन सफल भएका थिए । चेतना भया । अस्तु । भर्जिनिया, अमेरिका ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजब चिनी तीतो हुन्छ: डा. अरुणा उप्रेती
चैत १२, २०८० सोमबार
अर्थतन्त्र दलाल र कमिसनखोरको चंगुलमा, अर्थमन्त्री खर्च गर्ने क्षमताको खोजीमा
चैत ९, २०८० शनिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार