शनिबार , जेठ १, २०७८

आजै मन्त्रीमण्डल पुनर्गठनको सम्भावना

आजै मन्त्रीमण्डल पुनर्गठनको सम्भावना

११ असोज, काठमाडौं । मन्त्रीमण्डल पुनर्गठनको अन्तिम तयारी चलिरहँदा प्रधानमन्त्री केपी ओलीमाथि चर्काे दवाव पर्न थालेको छ । मन्त्री पदका आकांक्षी धेरै रहेका बेला ओलीलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । आज साँझसम्म मन्त्रीमण्डल पुनर्गठन भइसक्ने स्रोतले बताएको छ ।

यसै प्रयोजनका लागि अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल भइरहेको छ । ओली र प्रचण्डबीच हिजो नै निर्णायक वार्ता गर्ने सहमति थियो । तर केही विषयमा विवाद कायमै रहेकाले आज मात्रै वार्ता भएको हो । आजको वार्ताले मन्त्रीहरुको नामसमेत टुंगो लाग्ने बुझिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रचण्डसँगको छलफल लगत्तै ओलीले मन्त्रिपरिषदको बैठक राखेका छन् । मध्यान्ह १२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक कतिपयका लागि अन्तिम हुनेछ । ओलीले यसबारे मन्त्रीहरुलाई प्रष्ट जानकारी दिन आजको बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओली सकेसम्म यही मन्त्रिमण्डललाई दशैंसम्म लैजाने पक्षमा थिए ।

तर उपाध्यक्ष बामदेव गौतमको अर्थमन्त्री बन्ने चाहनाकै कारण तत्कालै गर्न हतारिएका छन् । गौतमको पदबारे सर्वाेच्च अदालतमा मुद्धा विचाराधीन रहेको छ । यही अवस्थामा पुनर्गठन गर्दा गौतमलाई समेट्न नपर्ने उनको बुझाई रहेको छ । त्यसैले मिल्यो भने आजै साँझ पुनर्गठन गर्ने ओलीको तयारी रहेको स्रोतको दावी छ ।

अध्यक्ष प्रचण्ड भने अहिलेका अधिकांश मन्त्रीलाई हटाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा देखिएका छन् । प्रचण्ड मात्रै होइन अर्का नेता माधवकुमार नेपालको चाहना पनि नयाँलाई समेट्ने रहेको छ– खुमलटार निकट स्रोत भन्छ । त्यसैले प्रचण्डसँग ओलीले एउटा मोडालिटी बनाएर पुनर्गठन गर्न सहमति जनाएका छन् । हाललाई दुई वर्ष पूरा गरेका सबैलाई हटाएर नयाँ ल्याउने प्रस्ताव प्रचण्डको रहेको छ ।

तर प्रधानमन्त्री ओली भने केही वरिष्ठ नेतालाई हटाउन इच्छुक छैनन् । त्यसैले ओली तनावमा रहेको निकटवर्ती स्रोतको भनाई छ । आज भने प्रचण्डसँग निर्णायक वार्ता हुने र एउटा निकास निस्कने बालुवाटार निकट स्रोतको दाबी छ । आजको क्याबिनेट वैठकमा प्रधानमन्त्रीले सबै मन्त्रीको राजीनामा माग्ने सम्भावना रहेको समेत स्रोतले बताएका छ । त्यसो गर्दा प्रचण्डको प्रस्ताव पनि मानेको जस्तो हुने र पुनर्गठन गर्दा आफुले चाहेका मन्त्रीलाई फेरि ल्याउन सहज हुने देखिएको छ ।

प्रचण्ड भने गृहमन्त्री रामबहादुुर थापा र आपूर्ति मन्त्री लेखराज भट्टलाई हटाउने पक्षमा रहेका छन् । तर ओली भने सकेसम्म दुबैजनालाई निरन्तरता दिने सोचमा रहेका छन् । त्यसैले एकपटक सबैलाई हटाउने र पुनर्गठनमा फेरि समेट्ने दाउ ओलीको रहेको छ । त्यसो हँुदा गृहमन्त्री थापाले निरन्तरता पाउने सम्भावना देखिन्छ ।

तर लेखराजलाई भने कुनै हालतमा निरन्तरता दिन प्रचण्ड राजी छैनन् । उनका बारेमा प्रचण्डले प्रष्टैसँग आफ्नो भनाई राखिसकेको स्रोतको भनाई छ । तपाईंको कोटाबाट राख्ने हो भने मेरो आपत्ति छैन, तर मैले चाहिं लेखराजलाई सिफारिश गर्दिन – प्रचण्डले ओलीलाई यस्तो प्रस्ताव गरेको स्रोतको भनाई छ । त्यसैले अबको पुनर्गठनमा लेखराजको सम्भावना तुहिएको छ – स्रोतले भन्यो ।

आज हुने पुनर्गठनमा अर्थ मन्त्रालय भने खाली रहने बुझिएको छ । प्रचण्ड र ओलीबीच हाललाई अर्थमन्त्रालय खाली नै राख्ने सहमति भएको बुझिएको छ । गौतमको अन्तिम फैसला नआएसम्म अर्थ मन्त्रालय खाली नै रहने सहमति अध्यक्षद्वयबीच भएको प्रचण्ड निकट स्रोतको भनाई छ ।

आज हुने भनिएको पुनर्गठनमा नेपाल पक्षका नेताहरु पनि समेटिने छन् । जसमा भीम रावल, सुरेन्द्र पाण्डे, बेदुराम भूषाल, विरोध खतिवडा र यज्ञ सुनवार पर्ने सम्भावना रहेको छ । यस्तै ओलीले भने सबैलाई राख्न नसकेपनि यही नाम मध्ये केहीलाई सहभागी गराउने बताएका छन् ।

उता, प्रचण्डले पनि आफ्नातर्फबाट केही नाम सुझाएका छन् । जसमा पम्फा भूषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रभू साहलगायत रहेका छन् । सञ्चार तथा प्रविधि मन्त्रालयमा प्रचण्डले दावी गरेका छन् । पम्फालाई सञ्चार मन्त्रालय दिन उनले सुझाएका छन् । तर ओली भने यसमा तयार देखिएका छैनन् ।

जे भएपनि आज चाहिं पुनर्गठन गर्ने पक्षमा प्रधानमन्त्री रहेको बालुवाटार निकट स्रोतले बताएको छ । प्रधानमन्त्री ओली सुभाषचन्द्र नेम्बाङलाई पनि समेट्न चाहन्छन् । तर कसरी व्यवस्थापन गर्ने भन्ने पिरलो पनि उत्तिकै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय