देउवाविरुद्ध मोर्चाबन्दी शुरु, पौडेल र सिटौलाबीच छलफल
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार १९:४१:२
११ असोज, काठमाडौं । पार्टीमा एकलौटी गर्न थालेका कांग्रेस सभापति शेरबहादुर देउवालाई तह लगाउन अब असन्तुष्ट पक्षबीच मोर्चाबन्दी शुरु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्ष देउवा विरुद्ध एकै ठाउँमा उभिने वातावरण तयार भएको छ ।
आज बिहान पौडेल र सिटौलाबीच लामो छलफल भएको छ । देउवाको अलोकतान्त्रिक प्रवृत्तिलाई समयमै नियन्त्रण नगर्ने हो भने आउने दिन कांग्रेसको हालत अझै खस्कनेमा नेताद्वय सहमत देखिएका छन् । त्यसैले अब देउवाविरुद्ध सबैलाई गोलबद्ध बनाउने पक्षमा उहाँहरु एकाकार हुनुभएको हो – सिटौला निकट एक केन्द्रीय सदस्यले बताए ।
चौधौं महाधिवेशको मिति पछाडि धकेल्न देउवा सक्रिय भएपछि पौडेल सिटौला नजिएका हुन् । आजै पार्टी कार्यालयमा देउवालाई विरोधपत्र बुझाउने कार्यक्रम रहेको छ । त्यसमा समेत पौडेल र सिटौला सहमत भएका छन् । यो एकता चौधौं महाधिवेशनसम्म नै रहनुपर्ने पौडेलले आग्रह गरेको स्रोत बताउँछ । जवाफमा सिटौलाले पौडेलले सभापतिमा दाबी नगर्ने हो भने सहयोग रहने बताएका थिए ।
बरु पार्टीले सरकार बनाउने अवस्था आए तपाईंलाई उम्मेदवार बनाउन सकिन्छ , तर सभापतिका लागि भने दाबी नगर्नुहोस्– सिटौलाले पौडेललाई भनेको उद्धृत गर्दै स्रोतले भन्यो । यसबारे पछि सल्लाह गर्ने वचन पौडेलले दिएको पनि स्रोतको दाबी छ । पौडेल पक्षकै कतिपय नेतासमेत अब सभापति भन्दा प्रधानमन्त्रीकै लागि उनले पहल गर्नुपर्ने धारणा राखेका छन् ।
केन्द्रीय सदस्यहरु धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे, गुरुराज घिमिरेलगायत यस्तो धारणा राख्नेमा रहेका छन् । उनीहरुकै पहलमा सिटौला पक्षका गगन थापा र प्रदीप पौडेलसमेत देउवा विरोधी अभियानमा सकृय रहेका छन् । गगन र प्रदीपले आग्रह गरेकाले नै सिटौला वरिष्ठ नेता पौडेलसँग छलफल गर्न तयार भएका हुन् । देउवालाई पराजित गर्न सबै एकजुट हुनैपर्नेमा नेताहरु सहमत छन् । त्यसका लागि पौडेलले त्याग देखाउन सक्नुपर्छ – सिटौला निकट स्रोत भन्छ ।
महाधिवेशन समयमै भएन भने पार्टी गम्भिर संकटमा पर्ने भन्दै नेता पौडेलले फागुनमा गरिएन भने हुनै नसक्ने धारणा राखेका थिए । त्यसैले असोज १९ गतेको बैठकमा मिति सार्ने प्रस्ताव गरिए एकै स्वरमा विरोध गर्ने सहमति गरेका छन् । सभापति देउवा भने कोरोना संक्रमणका कारण फागुनमा महाधिवेशन गर्न नसिकने भन्दै भदौमा सार्ने तयारीमा रहेका छन् ।
संविधान बमोजिम बढीमा साढे पाँच वर्ष भित्र महाधिवेशन सम्पन्न गर्नुपर्छ । उक्त अवधि आगामी भदौमै पूरा हुँदैछ । कोरोना संक्रमण देखाएर महाधिवेशन नै नगर्ने देउवाको चाल भएको भन्दै नेता पौडेलले विरोध गर्दै आएका छन् । हिजो वसुन्धरास्थित दियालो रेष्टुरेन्टमा असन्तुष्ट पक्षको भेला भएको थियो । त्यहाँ नेता पौडेलले देउवा जसरी भएपनि पार्टी कब्जा गर्ने रणनीतिमा रहेको भन्दै फागुनमै महाधिवेशन गर्न दबाब दिनुपर्ने धारणा राखेका थिए ।
उक्त भेलामा पूर्व महामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, मिनेन्द्र रिजाललगायत नेताहरु उपस्थित थिए । भेलामा नेता केसीले छिमेकी भारतको बिहारमा भर्खरै मात्र विधानसभाको निर्वाचन भएको स्मरण गराउँदै देउवाले महाधिवेशन छल्ने बहाना मात्र खोजेको बताएका थिए ।
सकेसम्म महाधिवेन नै नगराएर पुरानै पदाधिकारीको नाम निर्वाचन आयोगमा बुझाउने दाउमा देउवा रहेको उनले दाबी गरे । केन्द्रीय सदस्य र पदाधिकारीको हस्ताक्षरसहित देउवालाई विरोधपत्र बुझाउने तयारी स्वरुप हिजोको भेला आयोजना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार