मुहार फेर्दै बागलुङ बजार
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार २१:५०:३६
२४ असोज, बागलुङ । अबदेखि बागलुङ बजार छिर्दा तपाईँले केही फरक पाउनु हुनेछ । धुले सडक, साँघुरा चोक, अस्तव्यस्त ट्राफिक र पोलैपिच्छे गुजिल्टिएका तारबाट बजारमुक्त हुँदैछ । अघिल्लो वर्ष शुरु भएको बजारको मुहार फेर्ने योजनाले यसपालि साकार रूप लिन थालेको हो । वर्षौँदेखि अव्यवस्थित र बिरुप बजारको परिचय बदल्न बागलुङ नगरपालिका जुर्मुराएको छ ।
बजारको सौन्दर्यीकरण गरिछाड्ने जनप्रतिनिधिको अठोट छ । सडक–चोक सुधारका लागि नगरपालिकाले ट्राफिक कार्यालयदेखि घर–टहारासम्म हटाएको छ । बजारको मुखैमा रहेको ट्राफिक र समीक्षालयचोक पहिलेभन्दा दोब्बर चौडा भएको छ । हल्लन, क्याम्पस र शिवधाराचोक पनि विस्तार भएको छ । घन्चमन्च सवारी गुड्ने, मोडिन नसकी बस÷ट्रक चोकमै अड्कने स्थितिबाट केही छुटकारा मिलेको छ । सडक फराकिलो बन्दा पैदलयात्रीको आउजाउ पनि सहजउन्मुख छ ।
“चोक सुधारले सवारी व्यवस्थापनमा केही सहजता थपिएको छ”, ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले भने । चोक–सडक विस्तारसँगै सडक सुरक्षाका पूर्वाधार पनि बनाउनुपर्ने उनको भनाइ छ । सडकछेउका जीर्ण विद्युत् पोल हटाउन ट्राफिक प्रहरी आफैँ पनि अग्रसर छ । “नगरपालिकाको अभियानमा हामी पनि साथ छौँ, यसले ट्राफिक व्यवस्थापन चुस्त बनाउन सघाउ पुग्छ”, प्रनानि पाठकले भने । उनले मालवाहक सवारीलाई बिहान–बेलुका मात्र बजार छिर्न दिने गरी प्रबन्ध गर्न लागिएको बताए ।
साँघुरा सडक र बढ्दो सवारी चापलाई दृष्टिगत गरी ट्राफिक प्रहरीले गत वर्षदेखि पार्किङसमेत एकतर्फी गराउँदै आएको छ । सडकछेउ पैदलमार्ग नभएका कारण पनि ट्राफिक व्यवस्थापनमा थप चुनौती छ । पैदलयात्री सडककै बीच भएर जथाभावी हिँडिरहेका देखिन्छन् । नगरपालिकाका इञ्जीनियर गौरव शर्माले मापदण्डभित्र पर्ने संरचना हटाएर सडक चौडा पारिएको बताए। उनका अनुसार बजारका मुख्य सडक १० र सहायक सडक ७ मिटरसम्म फराकिलो बनाइँदैछ । सडक विस्तार र स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको इञ्जीनियर शर्माको भनाइ छ ।
भूपी शेरचनचोक–किरानाटोल, धवलागिरि बहमुखी क्याम्पसको पश्चिम गेटदेखि गोल्डेनगेटचोक र वीरेन्द्र–एश्वर्य उद्यान आसपासको सडक चौडा पारिएको छ । सडक विस्तार गर्दा ट्राफिक कार्यालय, वीरेन्द्र–ऐश्वर्य उद्यानको पर्खाल, ज्ञानोदय भगवती पुस्तकालयको व्यावसायिक भवन भत्काइएको थियो । यस्तै मापदण्डभित्र पर्ने तत्कालीन जिल्ला विकास समिति, मालपोत, नापी कार्यालयको पर्खाल, माइक्रो काउण्टर र सार्वजनिक शौचालयसमेत हटाइएको नगरपालिकाले जनाएको छ । भूपिचोकदेखि किरानाटोलसम्म घरका पेटीसहितका संरचना फालेर सडक चौडा पार्ने काम भइरहेको छ ।
सडक विस्तार गर्ने, खाल्डाखुल्डी पुर्ने, जीर्ण पोल, तार हटाउने काम एकसाथ अघि बढेको वडा नं. २ का अध्यक्ष जीवन आचार्यले बताए । “धेरै पुराना र अव्यवस्थित २८ वटा विद्युत् पोल हटाइसक्यौँ”, उनले भने, “आउँदो तीन÷चार महिनाभित्रमा बजारको स्वरुप केही फेरिन्छ ।” वडाध्यक्ष आचार्यका अनुसार बजार क्षेत्रमा एक सयभन्दा बढी पुराना विद्युत् पोल हटाउनुपर्ने स्थिति छ । पोलमा गुजुल्टिएका र जथाभावी टाँगिएका विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तारले बजारलाई बिरुप तुल्याएको थियो । नेपाल विद्युत् प्राधिकरण, टेलिकम कार्यालयलगायतसँगको समन्वयमा तार हटाउने काम भइरहेको छ ।
प्राधिकरणले नाङ्गो तार हटाएर नयाँ प्लाष्टिकजडित कालो तारबाट विद्युत् सेवा दिन शुरु गरेको छ भने टेलिकम पनि पुरानो तामाको तारको सट्टा फाइबर विस्तारमा केन्द्रित बनेको छ । बजारभित्रका जीर्ण सडक कालोपत्र गर्नेसमेत योजना नगरपालिकाको छ । गत वर्ष नै चोक सुधारको काम सक्ने लक्ष्य लिइए पनि कोभिड–१९ का कारणले पछाडि धकेलिएको जनाइएको छ । बजारका भित्री सडक र नाली निर्माणलाई पनि प्राथमिकता दिइएको वडाध्यक्ष आचार्यको भनाइ छ ।
उनले बजारमा आवादी बढेकाले पूर्वाधार विकास पनि सोहीअनुसार गर्नुपर्ने बताए । नगरप्रमुख जनकराज पौडेलले सडक मापदण्ड कडाइका साथ लागू गरिने बताए । “सडकको अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाइरहेका छौँ, अब बजार व्यववस्थित हुन्छ, चोक–सडक सुधारको योजना निरन्तर चल्छ”, उनले भने ।
नगरप्रमुख पौडेलले सडकबत्ती र सिसी क्यामेरालाई पनि थप व्यवस्थित गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले दशैँअघि नै सडकका खाल्डाखुल्डी पुर्ने बताए । बजारको ढल निकासका लागि रु ७० करोडको डीपीआर तयार भएको र यही वर्ष ठेक्का प्रक्रियामा जाने नगरप्रमुख पौडेलले बताए । उक्त योजनाका लागि सङ्घ सरकारले रु १२ करोड बजेट विनियोजन गरेको छ ।
व्यवस्थित ढल निकासले वर्षायाममा बागलुङ बजारका सडक जलमग्न हुने समस्या सधैँका लागि अन्त्य हुनेछ । “बजारलाई व्यवस्थित र आधुनिक बनाउन प्रयासरत छौँ”, नगरप्रमुख पौडेलले भने । नगरपालिकाले बजार क्षेत्रमा पर्ने वीरेन्द्र–ऐश्वर्य र शहीद स्मृति उद्यानमा समेत सौन्दर्यीकरणको काम थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
गण्डकी प्रदेश प्रमुख भट्टले वैशाख ७ मा बोलाए अधिवेशन
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार