शनिबार , कार्तिक १५, २०७७

गाउँपालिकाले किनेको गाडी फिर्ता गराउन नेकपाको निर्देशन

गाउँपालिकाले किनेको गाडी फिर्ता गराउन नेकपाको निर्देशन

२५ असोज, झापा । बुद्धशान्ति गाउँपालिकाले कोरोना कहरका बेला रु ७० लाख खर्च गरेर हालै खरिद गरेको स्कार्पियो गाडी फिर्ता गराउन नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को स्थानीय कमिटीले आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

नेकपा बुद्धशान्ति गाउँपालिका स्थानीय तह परिचालन विभागको आज सम्पन्न बैठकले महँगो सवारी साधन आवश्यक नभएको ठहर गर्दै गाडी फिर्ता गराउन निर्देशन दिएको पार्टीका गाउँपालिका इञ्चार्ज रोशन तिम्सिनाले बताए ।

पार्टीको गाउँ परिषद् र कार्यपालिकाको निर्णयविपरित महँगो गाडी खरिद गरी ल्याइएको हुँदा उक्त गाडी फिर्ता गराउन निर्देशन दिइसकेपछि पार्टी मातहतका जनप्रतिनिधिले गाडी फिर्ताको पहल गर्ने उनको भनाइ छ । बैठकमा पार्टीका गाउँपालिका अध्यक्ष टिका पाठक, सचिव प्रेम नेम्वाङ, गाउँपालिकाकी उपाध्यक्ष मीरा भूर्तेल, पार्टीबाट निर्वाचित वडाध्यक्षलगायतको उपस्थिति थियो ।

नेकपाको स्थानीय कमिटीले गरेको निर्णय स्वागतयोग्य भएको स्थानीयवासी कृष्ण कोइरालाले प्रतिक्रिया दिए । “कोरोनाले आर्थिक सङ्कट बढिरहेका बेला महँगो गाडी किन्नु ठिक हुँदैन”, उनले भने, “नेकपाले गाडी फिर्ताको सही निर्णय गरेको छ, अब यो निर्देशनको पालना हुनुपर्दछ ।”

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय