कच्ची कटानसँगै पुग्यो यातायात बारेकोट, सर्वसाधारण खुशी
नेपालबहस संवाददाता
असोज २७, २०७७ मंगलबार १४:३३:२५
२७ असोज, जाजरकोट । बाढीपहिरोबाट थिलोथिलो परेको बारेकोट गाउँपालिकामा सडक मर्मतसँगै यातायात सेवा सञ्चालन भएको छ ।गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा सडक सञ्जालसँग अघिल्लो वर्ष जोडिएको भए पनि वर्षायाममा ठाउँठाउँमा सडक भत्किएपछि यातायात सेवा अवरुद्ध भएको थियो ।
सदरमुकाम खलङ्गाबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा ‘ट्रयाकओपन’ भएलगत्तै बाढीपहिरोले बारेकोट छियाछिया भएको थियो । अवरुद्ध सडक सञ्चालनमा आएपछि सर्वसाधारण खुशी भएका छन् । नलगाड जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल रहेको बारेकोटमा सडकको कच्ची कटान मर्मत भएसँगै यातायातका साधन सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।
जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिकाको कालिमाटीसम्म ३५ किलोमिटर सडक जाजरकोट–डोल्पा सडकखण्डभित्र पर्दछ । नलगाड नगरपालिकाको कालिमाटीबाट सिर्केसम्मको २२ किलोमिटर सडक नलगाड जलविद्युत् आयोजनाको पहुँचमार्ग जानका लागि आयोजनाले निर्माण गरेको हो ।
कालिमाटी हुँदै लैखमसम्म नलगाड नदीको तीरैतीर अर्को पहुँचमार्ग निर्माण गरी बारेकोट गाउँपालिका–७ लैखमसम्म सडक जोडिएको छ । अर्को कालिमाटी हुँदै खनटाकुराबाट सिर्के जोडेर बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सासँग सडक जोडिएको छ । यी सबै सडक क्षेत्रगतरूपमा मर्मत गरिएका छन् । नलगाड नदीको खारामा पुल निर्माण कार्य ढिलो हुँदा सो नदीको किनारैकिनार यातायातका साधन सञ्चालन गर्न सकिएको छैन । त्यस्तै सिर्कोबाट लिम्सासम्मको १३ किलोमिटर सडक गाउँपालिकाले आफैँले कच्ची निर्माण गरेको थियो ।
नलगाड जलविद्युत् आयोजना बाधस्थल अर्थात् सक्ला ध्यापाटाकुराबाट लिम्सासम्मको १२ किलोमिटर सडकको स्तरोन्नतिका लागि रु आठ करोडको बोलपत्र आह्वान छ । गाउँपालिकाको ५० प्रतिशत र सङ्घीय सरकारको ५० प्रतिशत बजेटबाट स्तरोन्नतिको काम शुरु गर्न लागिएको हो ।
गाउँपालिकाले रु चार करोड ५० लाख बजेटबाट आफ्नो क्षेत्रको सडक निर्माण गरी अस्थायी ‘ट्रयाक’ खोलेको थियो । कर्णाली प्रदेशकै सामरिक महत्वको नलगाड जलविद्युत् आयोजना ९४१७ मेगावाट० निर्माणका लागि डिपिआरको कामदेखि अन्य विकास निर्माणको कामलाई यो सडकले विशेष महत्व दिइएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए ।
सङ्घीय सरकारको विशेष महत्वको रूपमा रहेको यो आयोजना निर्माण गर्न सहज हुने पहिलो मार्ग नै यो सडक रहेको सिंहको भनाइ छ । जुम्ला र डोल्पाको सिमानासँग जोडिएको बारेकोट गाउँपालिका जडीबुटीको भण्डारको रुपमा परिचित छ । माथि नलगाड नदीको उद्गमस्थलसहित अग्ला हिमाल र तल नलगाड जलविद्युत् आयोजना निर्माणस्थल भएका कारण यसको महत्व अन्य स्थानीय तहको भन्दा फरक छ ।
सडक सञ्जाल नहुँदा खाद्यान्न, निर्माण सामग्रीदेखि अन्य विभिन्न वस्तु ढुवानीमा समस्या भोग्दै आएका यहाँका स्थानीयवासी सडक निर्माणसँगै सहजता आएको भन्दै खुशी भएका छन् । पुर्खौदेखि पिठ्यूँमा आफूभन्दा बढी तौलका भारी, नाम्लोको सहायताले बोक्दै बारेकोट लैजाने र बाहिर पठाउने काम गर्दै आएका तीन हजारभन्दा बढी घरधुरीहरु सडक सञ्जालमा जोडिएसँगै दुःखका दिन गएको प्रतिक्रिया दिन थालेका छन् ।
घोडा, खच्चडको भरमा दैनिक आवश्यकतासँग जुझ्दै आएका सर्वसाधारण अब गाडीसँग मितेरी गाँसेर दैनिक काम कारवाही सञ्चालन गरिरहेको बारेकोट गाउँपालिका–५ का खड्क शाहीले जानकारी दिए । गाउँपालिकाले अन्य सहायक सडक निर्माणको काम तीव्र पारेको बताइएको छ । जुम्लासँग सडक जोड्न लागि काम तीव्र पारिएको छ ।
कोरोना त्रासका बीचमा विकास निर्माणको कामलाई गति दिइएको गाउँपालिकाले जनाएको छ । बिरामी हुँदा होस् वा अन्य कुनै समस्या परेमा दुई दिन लगाएर सदरमुकाम आउने यहाँका स्थानीयवासी अहिले एक दिनमै सदरमुकाम आएर जान सक्ने अवस्था सिर्जना भएको छ ।
गाउँपालिकामा विद्युतीकरणका लागि सडक निर्माण भएकै ठाउँबाट पोल गाडेर तार तान्ने काम केही दिनमै शुरु हुने नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालनमा
फागुन २८, २०८० सोमबार
नेपालगञ्ज–गुलरिया सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न
फागुन १६, २०८० बुधबार
बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता
फागुन १३, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार