आइतबार , कार्तिक १६, २०७७

कर्णालीको क्षेप्यास्त्र बाग्मतीमा पड्कने त्रास

कर्णालीको क्षेप्यास्त्र बाग्मतीमा पड्कने त्रास

२७ असोज, काठमाडौं । असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालको साथ पाएर बुर्कसी मार्न तम्सिएका पुष्पकमल दाहाल प्रचण्डलाई ठेगान लगाउन प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेशमा क्षेप्यास्त्र प्रयोग गरे । प्रचण्ड निकट पूर्व माओवादी नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीबाट हटाउन सक्ने सन्देश दिन ओलीले पूर्व एमाले पक्षका सांसदहरुलाई अग्रसर गराएका छन् ।

केन्द्रमा नेपालको उक्साहटमा प्रचण्डले ओलीलाई “थाल खाउँ की भात खाउँ”को शैलीमा दपेटेपछि ओलीले नयाँ चाल चले । प्रधानमन्त्री ओलीको इशारामा कर्णाली प्रदेशका सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएर प्रचण्डलाई थान्कोमा बस्न संकेत गरेका छन् । ओलीलाई यस्तो गर्न उक्साउने र तारतम्य मिलाउने काम रक्षामन्त्री ईश्वर पोखरेलले गरेको स्रोतको दावी छ ।

मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा प्रचण्डले पोखरेलको चर्काे आलोचना गर्दै उनलाई समेत हटाउन अडान लिएको रिस उनले त्यहाँ फेरेको बुझिन्छ । प्रचण्डलाई धेरै नचढ्न सन्देश दिने हिसाबले ईश्वर कम्रेडले यस्तो खेल खेलेको हामीले थाहा पायौं– प्रचण्ड निकट स्रोतको भनाई छ । पोखरेलले कर्णाली प्रदेशका पूर्व एमाले नेता यामलाल कंडेललाई शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न ग्रीनसिग्नल दिएको स्रोतले जनाएको छ ।

मुख्यमन्त्रीका दाबेदार कंडेल लामो समयदेखि शाहीसँग असन्तुष्ट छन् । यद्यपि उनी बामदेव गौतम निकट मानिन्छन् । तर मुख्यमन्त्री फेर्न ओली पक्षले सघाउने संकेत पाएकाले उनकै पहलमा यो काम अगाडि बढाइएको हो । यसबारेमा उनले गौतमलाई समेत सुइँको दिएनन् । साथै, माधव नेपाल पक्षका सांसदलाई समेत यसबारे नेताहरुलाई जानकारी नगराउन उनले नै आग्रह गरेका थिए ।

साँच्चै भन्ने हो भने यो प्रकरणमा नेता नेपाल र गौतमलाई पछि मात्रै जानकारी दिइएको हो । सबै खेला ओलीको सहमतिमा ईश्वर कम्रेडले नै खेलेको बुझिन्छ – स्रोतले भन्यो । ईश्वर पोखरेलकै ईशारामा अविश्वास प्रस्ताव दर्ता गरिएको प्रष्ट भएकाले यसबारे प्रचण्डले हिजै प्रधानमन्त्री ओली र नेता नेपालसँग कुरा गरे । साथै, प्रस्ताव फिर्ता लिन आग्रह समेत गरेका छन् । नेता नेपालले मुख्यमन्त्री शाहीको कार्यशैली निरंकुश रहेको गुनासो सबैबाट आएको भनेपनि अहिले सरकार फेर्ने दिशामा जानु घातक हुने बताएका थिए । लगत्तै उनले आफूनिकट सांसद निरज आचार्यलाई प्रस्ताव फिर्ताको पहल गर्न आग्रह गरेका थिए ।

तर प्रधानमन्त्री ओलीले भने प्रचण्डलाई प्रदेशस्तरको लफडामा आफूलाई नपार्न भनेका थिए । साथै, सरकार आलोपालो चलाउने पूर्वसहमति अनुरुप साथीहरुले प्रस्ताव ल्याएको होला भन्दै हलुका जवाफ दिएका थिए । लगत्तै प्रचण्डले यस्तो सहमति त केन्द्रमा समेत रहेको स्मरण गराउँदै अहिले नियोजित रुपमा यो प्रकरण आएकाले केन्द्रले हस्तक्षेप गर्नुपर्ने भन्दै नत्र यसको असर अन्यत्रसमेत देखिने चेतावनी दिएका थिए । ओलीले अब कसरी पहल गर्छन्, त्यसैमा पार्टी एकता लगायत धेरै कुरा निर्भर हुने भन्दै प्रचण्ड पर्ख र हेरको अवस्थामा छन् ।

आज बिहान उनले पूर्व माओवादी नेताहरुलाई खुमलटारस्थित निवासमा बोलाएर गम्भिर छलफल गरेका छन् । भेलामा सहभागी अधिकांशले ओलीको हेपाहा नीति र प्रवृत्तिको डटेर सामना नगर्ने हो भने भोलि अझै ठूला समस्या झेल्नुपर्ने बताए । आज ओलीले कस्तो कदम चाल्छन्, त्यसै अनुसार अगाडि जानुपर्ने प्रचण्डले राय व्यक्त गरेको स्रोतले बतायो ।

भेलामा सहभागी नेता मातृकाप्रसाद यादवले पार्टी एकता गम्भिर संकटमा परेको भन्दै नयाँ ढंगले अगाडि बढ्नुपर्ने अवस्थाप्रति सचेत गराए । पूर्व माओवादी भन्ने सोच उहाँहरुमा व्याप्त छ, त्यसैले हामी एमालेमा समाहित भएको जस्तो व्यवहार हुन थालेको उनले बताए । पूर्व एमालेलाई अझै दम्भ रहेको भन्दै उनले अब एकै ठाउँमा बस्ने हो भने समान हैसियतको व्यवहार हुनुपर्ने उनले प्रष्ट पारे । हामी ओलीजीको कम्तिया हो र ? समान हैसियतको राजनीतिक शक्ति हो भन्ने सन्देश दिनका लागि अब निर्णायक छलफल हुनुपर्ने उनले बताए ।

उता, यो प्रकरणले अन्य प्रदेशमा समेत हलचल मच्चिएको छ । प्रदेश १ र बाग्मती प्रदेशमा यस्तै प्रकरण दोहरिने खतरा बढेको छ । प्रदेश नं. १ मा ओली पक्षका शेरधन राईलाई हटाएर नेपाल पक्षका भीम आचार्यको पक्षमा बहुमत जुट्ने देखिएको छ । यस्तै, बाग्मती प्रदेशमा समेत डोरमणि पौडेलको ठाउँमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने खेलमा नेपाल पक्ष सक्रिय हुने संकेत देखापरेको छ ।

यसले गर्दा प्रधानमन्त्री ओलीमाथि थप दबाब परेको छ । कर्णालीको समस्या समाधान भएन भने पूर्व माओवादी पक्षलेसमेत नेता नेपालको पक्षमा माहोल बनाउन सक्ने अवस्था छ । त्यसैले गर्दा ईश्वर पोखरेलको चंगुलमा फसेका ओलीलाई अझै ठूलो सकस हुनसक्ने अवस्था निर्माण भएको छ । त्यसका लागि ओलीले आज कस्तो कदम चाल्छन् , त्यसैमा सबै निर्भर हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय