आइतबार , कार्तिक १६, २०७७

एक वर्षपछि थाइराइड परीक्षण सेवा पुनः सञ्चालन

एक वर्षपछि थाइराइड परीक्षण सेवा पुनः सञ्चालन

२७ असोज, लमजुङ । पहाडी जिल्ला लमजुङमा एक वर्षपछि एक सामुदायिक अस्पतालमा थाइराइड परीक्षण सेवा पुनःसञ्चालनमा आएको छ । राइनास नगरपालिका वडा नं ७ गरमबेँसीस्थित सहोदर सामुदायिक अस्पतालमा एक वर्षपछि आजदेखि उक्त सेवा पुनः सञ्चालनमा आएको हो ।

एक वर्षअघि सो परीक्षण गर्ने एनलाइजर मेशिन बिग्रिएपछि नयाँ खरीद गरेर उक्त जाँच सेवा पुनः सञ्चालन गरिएको अस्पतालका लेखा तथा प्रशासन अधिकृत दीपक परियारले बताए । उनले भने, अस्पतालले साढे एक लाख रुपैयाँमा खरीद गरी सञ्चालनमा ल्याएपछि एक वर्षदेखि यस सेवाबाट वञ्चित सेवाग्राही तथा नागरिक लाभान्वित भएका छन् ।

यन्त्र बिग्रिएपछि मर्मत गरी सञ्चालन गर्ने भनिए पनि मर्मत हुन नसकेको र नयाँ खरीदमा समेत विविध कारणले ढिलाइ भएपछि सेवा फेरि सञ्चालन गर्न यतिका समय लागे पनि आगामी दिनमा भने सेवा प्रवाहमा सहज भएको अस्पतालले जनाएको छ । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग नजीकै पर्ने अस्पतालका अनुसार यन्त्र बिग्रिएपछि थाइराइडका बिरामीको रगत नमूना संकलन गरी पोखरा पठाउनुपर्ने र तीन चार दिन रिपोर्ट आउन समय लाग्ने गरेको थियो । अब डेढ घण्टामै थाइराइडको रिपोर्ट आउने अस्पतालका प्रशासन अधिकृत परियारले बताए ।

उनका अनुसार अस्पतालमा थाइराइड सेवाका लागि दैनिक पाँचछ बिरामी तथा सेवाग्राही आउने गर्छन् । अस्पतालबाट उपलब्ध सेवाहरुका लागि दैनिक एक सय जनाको हाराहारीमा नगरपालिकासहित गोरखा पालुङ्टार र तनहुँ भानु नगरपालिकाका बासिन्दा आउने गरेको अस्पतालले जनाएको छ ।

पन्ध्र शय्याको अस्पतालमा हाल एक्सरे, भिडियो एक्सर, इण्डोस्काृपीलगायत सबै ल्याबका मेशिन, सिआर्म मेशिनलगायत सुविधा रहेकाले सेवा सहज रुपमा प्रवाह भएको छ । नयाँ मेशिनबाट थाइराइडका साथै प्रोटिन, भिटामिन डी, प्रोस्टेटलगायत विभिन्न हर्मोनको जाँच गर्न सकिने अस्पतालले जनाएको छ । विसं २०६८ देखि सञ्चालनमा आएको अस्पतालमा करीब ६ वर्षअघि देखि थाइराइड परीक्षणको सेवा उपलब्ध हुँदै आएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय