शनिबार , कार्तिक १५, २०७७

दशैँमा घटस्थापनादेखि बिदा दिन सचिवहरूको सुझाव

दशैँमा घटस्थापनादेखि बिदा दिन सचिवहरूको सुझाव

२८ असोज, काठमाडौं । मन्त्रालयका सचिवहरूले सरकारलाई यस पटक घटस्थापना ‘कात्तिक १ गते’ देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् । सरकारको नियमित दशैँ बिदा भने कात्तिक ७ गते ‘फूलपाती’ देखि कात्तिक ११ गतेसम्म मात्र छ ।

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटार, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि सचिवहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर सुझाव दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सचिवहरूले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर आफ्ना मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयमा पनि कोरोना संक्रमित देखिएको उल्लेख गर्दै दशैँ बिदा लम्ब्याउन सुझाव दिएका हुन् । ‘दसैंमा घटस्थापनादेखि बिदा दिने भन्नेबारे छलफल हुँदै छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असोज २५ गते मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखापरेको बताएका थिए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पनि यही अवस्थामा कोरोना संक्रमण बढ्दै गए काठमाडौं उपत्यकामा लकडाउन गर्नुपर्ने सल्लाह सरकारलाई दिएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार पुग्यो भने लकडाउन गर्नुपर्ने सल्लाह सरकारलाई दिइसकेको छ ।

सचिवहरूले लामो बिदाको माग गरिरहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले रुचि देखाएका छैनन् । संक्रमणको यस्तो अवस्था कति लामो समय जान्छ भन्ने यकिन नभएकाले यसरी लामो बिदा दिँदा गलत नजिर बस्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय