बिहिबार , कार्तिक ६, २०७७

एकदर्जन सचिवहरुको सरुवा, नयाँ मन्त्रीहरुलाई स्वागत !

एकदर्जन सचिवहरुको सरुवा, नयाँ मन्त्रीहरुलाई स्वागत !

२९ असोज, काठमाडौं ।  मन्त्रीपरिषद बैठकले एकदर्जन सचिवहरुको सरुवा गरेको छ । प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ६ बजे सुरु भएको बैठकमा सचिवहरुको सरुवा र नयाँ मन्त्रीहरुलाई स्वागत गरिएको छ ।

जस अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।

प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै, भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको सचिव बनाइएको छ ।

सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा लगिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बिहीबारको बैठकले सरकारका प्रवक्ता तोक्ने र कोरोना नियन्त्रणका लागि ईश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसीको जिम्मेवारीबारे पनि छलफल हुने अनुमान गरिएकोमा सो विषयमा पनि छलफल नभएको बताइएकाे छ ।

प्रधानमन्‍त्री ओलीले बुधबार साँझ मन्त्रिपरिषद हेरफेर गरेका थिए । हेरफेरमा तीनजना नयाँ मन्‍त्रीहरू थपिएका छन् भने दुई जनाको जिम्मेवारी परिवर्तन भएको छ ।

मन्त्रिपरिषदका नयाँ सदस्यमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ थपिएका छन् । तीनै मन्त्रीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय