सोमबार , कार्तिक १०, २०७७

नेकपा विवाद फेरि बल्झियो, दशैं लगत्तै ओलीविरुद्ध मोर्चाबन्दी

नेकपा विवाद फेरि बल्झियो, दशैं लगत्तै ओलीविरुद्ध मोर्चाबन्दी

३० असाेज, काठमाडाैं ।  प्रधानमन्त्री केपी ओलीले पार्टी निर्देशनको खुल्लमखुला उल्लंघन गर्दै एकलौटी हिंडेको निश्कर्ष निकाल्दै असन्तुष्ट नेताहरुले दशैं लगत्तै स्पष्टीकरण लिने रणनीति बनाएका छन् । हिजो साँझ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा भएको असन्तुष्ट पक्षका नेताहरुको भेलाले अब ओलीसँग निर्णायक संघर्ष गर्नुको विकल्प नरहेको निश्कर्ष निकालेको छ ।

लामो समयको अन्तरद्धन्द्ध अन्त्य गर्दै भदौ २६ गते सम्पन्न पार्टी स्थायी कमिटी बैठकले सहमतिको बुुँदा तयार गरेको थियो । जसमा प्रतिनिधिसभाको बाँकी कार्यकालका लागि ओली नै प्रधानमन्त्री रहने र पार्टीको कार्यकारी अधिकार भने प्रचण्डले प्रयोग गर्ने सहमति भएको थियो ।

साथै, सरकार चलाउँदा ओलीले पार्टीसँग परामर्श गर्ने , मन्त्रिपरिषद पुनर्गठनलगायत राजनीतिक नियुक्ति गर्दा दुबै अध्यक्षबीच सहमति कायम भई सचिवालय बैठकले अनुमोदन गराउने निर्देशनसमेत स्थायी कमिटीले गरेको थियो ।

त्यसको दुई साता नबित्दै ओलीले निर्देशन उल्लघंन गरी एकलौटी जाने सन्देश प्रवाहित गरेका थिए । असोज तेस्रो साता ओलीले आफूखुशी राजदूत नियुक्ति लगायतका काम गरेपछि फेरि तनाव थपिएको हो । त्यसैगरी गत बुधबार ओलीले एकलौटी गर्दै पुनः मन्त्रिमण्डल पुनर्गठन गरेपछि असन्तुष्टी अझै चुलिएको हो । रिक्त तीन मन्त्रालयमा उनले आफू निकट मात्रै ल्याएको भन्दै प्रचण्डलगायत शीर्ष नेताहरु आक्रोशित भएका छन् ।

पार्टी भित्रको विवाद चर्काउन ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको आरोप प्रचण्ड पक्षले लगाएको छ । तर माधव नेपाल पक्षसँग सहमति कायम गरेर प्रचण्डले यो प्रकरणमा ओलीलाई निराश बनाएका छन् । यही मेसोमा कर्णाली प्रदेशका नेताहरुसँगको हिजो भएको भेटमा समेत प्रचण्ड र नेता नेपालले अब ओलीसँग फेरि अन्तर्संघर्ष गर्नुपर्ने अवस्था आउने संकेत गरेका थिए ।

भेलालाई संवोधन गर्दै नेता नेपालले विगतदेखि नै ओलीसँग आफूले संघर्ष गर्दै आएको स्मरण गर्दै यही गति र मति रहने हो भने अब नेकपा ओलीकरण हुने बताए । मन्त्रिमण्डल पुनर्गठन गर्दासमेत अर्का अध्यक्ष लगायत शीर्ष नेतासँग एक बचन छलफल नगर्ने सामन्ती सोच र प्रवृत्तिले पार्टीको भविष्य खतरामा परेको भन्दै नेपालले दशैं लगत्तै पार्टी भित्र ज्वारभाटा खडा गर्न नेताहरुलाई आह्वान गरेका थिए ।

नभन्दै अहिलेको पुनर्गठनपछि मन्त्रिमण्डलमा ओलीको दुईतिहाई पुगेको छ । प्रचण्ड निकट भनिएका गृहमन्त्री रामबहादुर थापा र उद्योग मन्त्री लेखराज भट्टसमेत ओली कित्तामा पुगेका छन् । नेता नेपाल निकट भनिएका कृषि मन्त्री घनश्याम भूषाल र पर्यटनमन्त्री योगेश भट्टराई केवल थपना भएका छन् । यही रुपमा ओलीलाई बेलगाम जान दिने हो भने पार्टी कब्जा गर्न उनी हौसिने बुझाई प्रचण्ड र नेता नेपालको रहेको छ ।

त्यसैले दशैं लगत्तै फेरि अन्तसंर्घर्ष चर्काउनुपर्ने बुँदामा दुबै नेता सहमत छन् । कोरोना कहर अलि कम हुने वित्तिकै देशव्यापी रुपमा बहस चलाउने र कार्यकर्तालाई ओलीको ज्यादती विरुद्ध मैदानमा उतार्ने नीति बनाइएको स्रोतको दाबी छ । ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेयता प्रचण्डसँगको वार्ता रोकिएको छ । उता, प्रचण्ड र नेता नेपालबीचको छलफल भने अझै झाँग्गिएको छ । दैनिक जसो नेताहरु भेट गर्ने वा फोन मै भएपनि छलफल गर्न थाल्नुभएको छ– खुमलटार निकट स्रोतको भनाई छ ।

प्रधानमन्त्री ओलीको ज्यादती विरुद्ध कार्यकर्ता नै उतार्न सकियो भने मात्रै दवाव पर्ने नत्र राजकीय सत्ताको दुरुपयोग गरेर ओलीले जेसुकै गर्न सक्ने अनुमान प्रचण्ड र नेपालले गरेका छन् । त्यसैले अब समग्र पुनर्गठनको मुद्धालाई सचिवालय बैठकबाटै निराकरण गर्ने पक्षमा नेताहरु सहमत देखिएका छन् ।

त्यसका लागि पनि अब दशैंपछि मात्रै पहल थाल्ने उनीहरुको तयारी रहेको छ । तर दशैंकै बीचमा ओलीले के फण्डा गर्ने हुन् भन्ने आशंकासमेत नेताहरुले गरेका छन् । त्यसैले ओलीका हरेक कदमलाई गम्भिरतापूर्वक लिइ सोही बमोजिम तयारी गर्ने उनीहरुको रणनीति रहेको बुझिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय