मंगलबार , कार्तिक ११, २०७७

ओली र प्रचण्डबीच संवादहिनता

ओली र प्रचण्डबीच संवादहिनता

२ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशको अन्तरद्धन्द्ध मिलाउन नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले नेताहरुलाई काठमाडौं बोलाए ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत असन्तुष्ट नेतासमेत हतारिएर काठमाडौं हान्निए । तर, दुई अध्यक्षबीच बढेको असमझदारी र बेमेलले अहिले उनीहरु रनभुल्लमा परेका छन् ।

बिहीबार र शुक्रबार प्रदेशस्तरीय नेताहरुले प्रचण्डसँग बेग्लाबेग्लै भेटे । आफ्ना गुनासा सुनाए । तर ओलीले भने उनीहरुलाई समय दिन सकेनन् । शनिबार ओलीले दुबै पक्षलाई एकैपटक बालुवाटार बोलाए । साथै, प्रचण्डलाई समेत छलफलमा सहभागी हुन आमन्त्रण गरेका थिए । तर उनी बालुवाटार गएनन् ।

असोज २८ गतेसम्म अध्यक्षद्वयको घनिभूत वार्ता हुँदै थियो । तर प्रधानमन्त्री ओलीले एक्कासी सहमति बिनै मन्त्रिमण्डल पुनर्गठन गरे । त्यहाँबाट प्रचण्ड बिच्किएका छन् । त्यसयता ओली र प्रचण्डबीच भेटवार्ता भएको छैन । दशैंको मुखमा राजधानी आएका कर्णाली प्रदेशका नेताहरु समस्याको हल खोजेर जाने पक्षमा थिए । तर दुई अध्यक्षले एकैथलोमा बसेर कुरा नगरेकाले अहिलेलाई केही भएन । त्यसैले अब हामी भोलि नै घर फिर्दैछौं, एक प्रदेश सांसदले भने ।

हिजो प्रधानमन्त्री ओलीले प्रदेश संघ मातहतको प्रशासनिक इकाइ भएको आशय व्यक्त गर्दै मुख्यमन्त्री लगायत पदाधिकारीहरुले केही काम गर्दा प्रधानमन्त्रीको सहमति लिनुपर्ने बताएका थिए । साथै, प्रचण्डसँग छलफल गरेर समस्याको समाधान गर्ने पनि उनले बताएका थिए । तर ओली र प्रचण्डबीच दशैँ यता भेटवार्ता हुने सम्भावना कमै देखिन्छ ।

किनभने ओलीले प्रचण्डको मन भाँचिदिएका छन् – खुमलटार निकट स्रोत भन्छ ।  हिजो प्रदेशका नेतासँग ओलीले प्रचण्डले आफ्नै ढंगले पार्टी चलाउन खोजेको आरोपसमेत लगाएकाले भेट गर्न रुचि देखाएका छैनन् ।

अब जे हुने दशैंपछि नै गरौंला भन्दै प्रचण्ड पन्छन खोजेको स्रोतले बतायो । तर प्रचण्ड र नेता माधवकुमार नेपालबीचको संवाद भने बाक्लिएको छ । प्रचण्ड र नेता नेपालबीच कर्णाली प्रदेशका नेताहरुसँगको भेटमा छलफल भएको थियो । त्यसयता पनि उनीहरुबीच फोनमा नियमित सम्पर्क भइरहेको छ– स्रोतले भन्यो ।  दशैंपछि ओलीसँग कसरी कुरा गर्ने भन्नेमा नै नेताहरु वार्ता गरिरहेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय