१३ हजार बेरोजगार युवाद्वारा व्यवसायका लागि इच्छापत्र पेश
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार १९:३३:२६
४ कात्तिक, बैतडी । कोरोना कहरका कारण रोजगारी गुमाएका बैतडीका १३ हजारले कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्नका लागि इच्छापत्र पेश गरेका छन् । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बेरोजगार युवाका लागि गरेको आह्वानमा बैतडीका १३ हजारले इच्छापत्र पेश गरेका हुन् ।
कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रमार्फत उक्त सङ्ख्या बेरोजगारले इच्छापत्र पेश गरेका हुन् । जसमा कृषि ज्ञान केन्द्रमा एक हजार ४०० ले इच्छापत्र पेश गरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रमा ११ हजार ६०० ले इच्छापत्र पेश गरेका हुन् । मन्त्रालयको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहबाट इच्छापत्र प्राप्त कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । उनले भने, “इच्छापत्र पेश गर्नेमा बढीजसो तरकारी र फलफूल खेती गर्न चाहने रहेका छन् ।”
कोरोना महामारीले रोजगारी गुमाएका र इच्छा पत्र पेश गरेको व्यक्तिद्वारा १५ दिनभित्र प्रस्ताव माग गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । कोभिड–१९ को प्रभावले रोजगारी गुमाएर फर्केका र इच्छापत्र पेश गरेका युवालाई छिटो आम्दानी हुने कार्यक्रममा ५० प्रतिशत अनुदान दिइने बताइएको छ । प्रस्ताव पेश गर्दा विदेशबाट फर्केर १४ दिन क्वारेन्टाइन बसेको, स्वास्थ्य परीक्षण गरेको प्रमाण पत्र, कारोवार गर्न चाहने भए जग्गाधनी लालपुर्जा र गर्न चाहेको कामसहित प्रस्ताव पेश गर्नुपर्ने बताए । अनुदान दिँदा एक व्यक्तिलाई ६० हजारसम्मको व्यवसायको लागि ५० प्रतिशत अनुदान दिइने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यस्तै पशु सेवा विज्ञकेन्द्रमा इच्छापत्र पेश गर्नेमा बढीजसो बाख्रापालन, कुखुरापालन, गाईभैसीपालन गर्ने रहेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रका निमित्त प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए । उनले भने, “प्रस्ताव पेश गर्न तिहारलगत्तै १५ दिने सूचना आह्वान गर्छौं, व्यवसाय हेरेर अनुदान रकम प्रदान गरिने छ ।” कोरोनाको प्रभावले चैत महिनायता रोजगारी गुमाएकाले उक्त कार्यक्रममा सहभागी हुन पाउने जनाएको छ । प्रमाण पुगेमा सबैलाई अनुदान दिइने बताइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौ हजारलाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको हो । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आव २०७७÷२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको हो । मन्त्रालयले कृषि क्षेत्रमा केही गर्न चाहने तथा कृषिमै सम्भावना देखेका व्यक्तिलाई राहत प्रदान गर्ने कार्यक्रम ल्याएको हो । जसको लागि प्रदेशको नौवटै जिल्लाका ८८ वटै स्थानीय तहबाट इच्छापत्र हाल्न आह्वान गरिएको थियो ।
कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई इच्छापत्र पेश गर्नसमेत सूचना जारी गरेको थियो । मन्त्रालयले असोज ६ गतेभित्र जिल्लास्थित कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र, गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा इच्छा पेश गर्न अपिल गरेको थियो । कार्यक्रमअन्तर्गत छोटो अवधिमा आयआर्जन हुने र रोजगारी सिर्जना हुने आशा लिइएको छ । जसका लागि मन्त्रालयले बैतडीमा कृषि ज्ञान केन्द्रमा ६० लाख र पशुसेवा विज्ञकेन्द्रमा रु एक करोड ४० लाख पठाइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु
चैत १५, २०८० बिहिबार
अछाममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
चैत १२, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार