सोमबार , मंसिर १५, २०७७

मिक्लाजुङमा एक साताका लागि निषेधाज्ञा जारी

मिक्लाजुङमा एक साताका लागि निषेधाज्ञा जारी

१२ कार्तिक, पाँचथर । मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मिक्लाजुङ–४ रबीका छ स्थानीयवासीमा संक्रमण देखिएपछि आजदेखि कार्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जानकारी दिए । गाउँपालिकाले औषधि पसल, दूध र दुग्धजन्यबाहेक व्यापार व्यवसाय बन्द गर्नाका साथै ग्रामीण भेगमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै शववाहन, एम्बुलेन्स र निर्माण सामग्री ढुवानी गर्ने साधनबाहेक सम्पूर्ण सवारीका साधनसमेत उक्त अवधिका लागि बन्द गरिएको गाउँपालिकाद्वारा आज जारी सूचनामा उल्लेख छ । गाउँपालिका स्वास्थ्य एकाइका प्रमुख अग्नि चम्लागाईका अनुसार यही कात्तिक ४ गते झापाको दमकबाट रबी आएकी एक महिलामा गरिएको परीक्षणमा कोभिड–१९ संक्रमण देखिएको थियो ।

आज संक्रमित महिलाको सम्पर्कमा रहेका उनका एक छोरा तथा उनी बस्दै आएको घरका तीन महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो । छ संक्रमितमध्ये एकलाई ज्वरोसहित कोरोना भाइरस संक्रमणका लक्षण देखिएको चम्लागाईले जानकारी दिए ।

उनीहरुमध्ये दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र रबीको कोभिड–१९ अस्थायी अस्पतालमा राखिएको छ भने चार जना होम आइसोलेशनमा छन् । पाँचथरमा पहिलो पटक समुदायमा कोभिड–१९ सङ्क्रमण देखिएको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय