१२ मंसिर २०७८, आईतवार

कांग्रेसमा कस्को पल्ला भारी ?

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १४:५७


१३ कार्तिक, काठमाडौं । कार्तिक लागेदेखि राजधानीको मौसम चिसिएको छ । कोरोना कहरले थलापरेको राजधानी काठमाडौंवासीले महान चाड दशैँसमेत खुसीले मनाउन पाएनन् । लगत्तै राजनीतिक सरगर्मी बढेको छ । नेताहरु विस्तारै सक्रिय हुन थालेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली फेरि एक्लिएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ओलीको सम्बन्ध थोरै चिसिएको छ । खासगरी कर्णाली प्रदेशको विवादमा प्रचण्ड र अर्का नेता माधवकुमार नेपालको समीकरण बनेपछि ओली फेरि तनाबमा छन् । यो समीकरण अन्य प्रदेश र संघमा समेत पर्ने ठम्याई ओलीको रहेको छ । त्यसैले उनी भारतीय पक्षको सहयोगमा प्रचण्डलाई प्रभावित पार्ने रणनीति बनाएका छन् । त्यसैको एउटा श्रृखलाका रुपमा भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्तकुमार गोयललाई विशेष दूतका रुपमा नेपाल बोलाएर गोप्य मन्त्रणा गरेका छन् ।

उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसपनि अहिले आगामी महाधिवेशन गर्न कस्सिएको छ । आउने फागुनको ७ देखि १० गतेसम्मका लागि निर्धारण गरिएको चाैधौँ महाधिवेशनमा को सभापति उठ्ने भन्ने विषय र सन्दर्भ धेरैको चासो बनेको छ । वर्तमान सभापति शेरबहादुर देउवा अर्काे कार्यकालका लागि तयारीमा जुटेका छन् । साम दाम दण्ड भेद नीति अख्तियार गरेर भएपनि उनी फेरि सभापतिमा दोहरिन चाहेका छन् । तर उनका लागि अब सहज छैन ।

गएको साउनसम्म उनी संस्थापन पक्षबाट एक्ला उमेदवार नै थिए । तर साउनको अन्तयतिर उनकै सबैभन्दा निकट उपसभापति विमलेन्द्र निधिले सभापतिमा दाबी गरेका छन् । त्यसका लागि उनको तयारी तीब्र भएको छ । यसबारे उनले सभापति देउवालगायत वरिष्ठ नेता रामचन्द्र पौडेल र अरुसँगसमेत कुरा गरेका छन् । सर्वसम्मत रुपमै सभापति छान्ने उनको सर्त रहेको छ ।

निधिले उमेदवारी दिने तयारी थालेपछि संस्थापन पक्षकै अर्का नेता गोपालमान श्रेष्ठलेसमेत सभापतिमा दाबी गरे । तर श्रेष्ठको दाबीको खासै अर्थ चाहिं छैन । देउवापनि श्रेष्ठको दाबीप्रति सिरियस छैनन् । तर निधिले गरेको दाबीले देउवा झस्किएका छन् । उता, संस्थापन इतर पक्षमा पनि सभापतिका आकांक्षीको संख्या आधा दर्जन छ । वरिष्ठ नेता पौडेलका साथै महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइरालाले दाबेदारी गरिरहेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहको चाहना पनि सभापतिकै लागि देखिन्छ ।

सहमति नबन्दा डा. रामशरण महत र अर्जुन नरसिंह केसीले पनि सभापतिकै लागि उमेदवारी दिने बताउँदैछन् । तर यो पक्षमा वरिष्ठ नेता पौडेल सर्वसम्मत बन्ने कसरतमा रहेका छन् । सबैले अन्त्यमा आफैंलाई स्वीकार्ने बुझाई पौडेलको देखिन्छ । तर परिस्थिति उनले सोचे बमोजिम छैन । कोइराला दाजुभाईको तयारी उठ्नेमै छ ।अझ शेखर त देशव्यापी दौडाहामै थिए । तर बीपीको लिगेसी भने शशांकमा रहेको छ । त्यसैले आउने महाधिवेशनमा कोइराला दाजुभाईको निर्णय अर्थपूर्ण हुने देखिन्छ । कोइरालाद्वय मैदानमा ओर्लिको अवस्थामा पौडेल भिड्ने अवस्थामा रहने छैनन् । त्यसैले उनी भित्र भित्रै सहमति नजुटोस् भन्ने नै चाहन्छन् ।

तेस्रो धारका रुपमा रहेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले मुख खोलिसकेका छैनन् । उनी पर्ख र हेरको अवस्थामा छन् । साथै, शक्ति सञ्चय गर्ने उनको रणनीति देखिन्छ । सकेसम्म नयाँ गुट बनाउने उनको चाहना छ । तर उनी पक्षधर गगन थापाहरु भने यसपाला देउवालाई सघाउ पुग्ने कुनै काम भरसक नहोस् भन्ने चाहन्छन् । त्यसैले सिटौलासँग पुरानो शक्ति नरहनपनि सक्छ । गगनलगायत नेताहरु शेखर र प्रकाशमानलाई एकजुट बनाउने अभियानमा रहेकाछन् । त्यसो हुँदा शेखरको नेतृत्वमा गगन महामन्त्री र प्रकाशमानलाई चुनाव जितेको अवस्थामा प्रधानमन्त्री बनाउने गरी सहमति जुट्न सक्ने स्थिति छ । यसका लागि भित्रभित्रै तीब्र रुपमा तयारी भइरहेको छ । सिटौलाले यो अभियानलाई सघाएनन् भने उनको शक्ति अहिले भन्दा क्षिण भएर जाने सम्भावना पनि उत्तिकै रहेको छ ।

जसले जस्तो सुकै तयारी वा रणनीति बनाएपनि देउवाको भूमिका नै निर्णायक हुने देखिन्छ । देउवा सकेसम्म आफैं उठ्ने गरी बसेका छन् । तर परिस्थिति प्रतिकुल भयो भने उनी विकल्पमा पौडेल वा शशांकलाई अगाडि सार्ने पक्षमा छन् । यसबारे उनले आफू निकट केही नेताहरुसँग छलफल गरिसकेका छन् । तर विमलेन्द्रलाई भने कुनै हालतमा नछाड्ने उनको सोच रहेको छ । किनभने यसपटक निधिकै कारण आफूलाई धोका हुन सक्ने बुझाई रहेको छ ।

देउवा र पौडेल समकालिन नेता हुन् । वय उमेरका यी दुबै एकैसाथ राजनीतिमा आएका हुन् । तर देउवाले धेरै अवसर पाएभने पौडेल चुकेका छन् । त्यसको एउटा कारण पौडेल अलि संकीर्ण स्वभावका हुनु रहेको धेरैको बुझाई छ । बेला बेला देउवा आफैं पनि यस्ता कुरा निकटहरुसँग गर्ने गर्छन् । आफूले छाड्नै परे पुरानो दुखको साथी पौडेललाई समर्थन गर्ने की भन्ने सोच रहेको देखिन्छ ।

तर देउवा वरिपरिका अरु नेताहरु भने पौडेलले आफूहरुलाई कुनै सहयोग नगर्ने बुझाईमा छन् । त्यसैले छाड्नै परे शशांकलाई समर्थन गर्न उनीहरुको सुझाव छ । तर यस्तो अवस्था अहिल्यै आइसकेको छैन । देउवाको पहिलो प्रयास आफैं दोहरिने नै हो । केही नलाग्ने अवस्था आउँदा मात्रै विकल्पमा पौडेल वा शशांक हुन सक्ने देखिन्छ । देउवाको चाहना बुझेर नै निधिले बेलैमा उमेदवारी दाबी गरेका हुन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा