१२ मंसिर २०७८, आईतवार

आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाः सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति

प्रकाशित मिति :  १५ कार्तिक २०७७, शनिबार ०९:४०


१५ कातिक, काठमाडाैं ।  प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि शुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीपदानसमेत गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने शुक्रबार राति नै मनाइएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान शुरु, आकाशदीपदान र तुलसीको विशेष पूजाराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको अध्यक्ष धर्मशास्त्रविद् गौतमले उल्लेख गरे ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा