१६ मंसिर २०७८, बिहीबार

ओली र प्रचण्डबीच १२ दिनपछि भेटघाट, संवादहीनताको अन्त्य

प्रकाशित मिति :  १५ कार्तिक २०७७, शनिबार १६:०६


१५ कार्तिक, काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा केन्द्रीत रहेर छलफल भएको हो ।

यसअघि दुई अध्यक्षबीच कार्तिक ४ गते छलफल भएको थियो । त्यसपछि पार्टीभित्र विवाद बढ्दै गएपछि छलफल रोकिएको थियो । करिब दुई घन्टा लामो छलफलमा नेकपा अध्यक्ष दाहालले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग पार्टीको सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका छन्।

१२ दिनपछि भेटघाटका लागि शनिबार बालुवाटार पुगेका अध्यक्ष दाहालले ओलीसँग पछिल्लो दिनमा घटेका राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए। त्यसक्रममा दाहालले पार्टीको सचिवालय बैठक बोलाएर छलफल गरिनुपर्ने धारणा राखेको हुन् ।

दाहालले कर्णाली सरकारमाथि गएको अविश्वास प्रस्ताव, रअ प्रमुखसँग सुटुक्क भेटघाट गरेको प्रसंग, पर्सा घटना र कोभिड-१९ बारे धारणा राखेका थिए। तर, दाहालले राखेका धारणामाथि ओलीले जवाफ नदिएको स्रोतले बतायो।

पार्टीमा अनुमोदन नगराई निर्णय लिन थालेपछि दाहाल र ओलीबीच पुन: तिक्तता सुरू भएको छ। यसअघि लामो रस्साकस्सीबीच नेकपा विवाद साम्य भएको थियो। तर, पछिल्ला राजनीतिक घटनापछि दाहाल-ओली भेटघाट नै बन्द भएको थियो। संवादहीनताको उक्त अवस्था भने शनिबारको भेटले अन्त्य गरिदिएको छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा