११ मंसिर २०७८, शनिबार

दवावमा छन् ओली, अब कुन फण्डा प्रयोग गर्लान् ?

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १२:५४


म भ्रष्टाचार गर्दिन र सहन पनि सकिदैन : प्रधानमन्त्री ओली

१६ कार्तिक, काठमाडाैं ।  पार्टीभित्र फेरि अर्काे भाउँतो आइलागेपछि केही हतास देखिएका प्रधानमन्त्री केपी ओलीको लाख प्रयासबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार त पसे, तर सकारात्मक सन्देश चाहिं दिएनन् ।  कार्तिक ४ गते यता अध्यक्षद्वयको संवादहिनता त हिजो टुट्यो, तर विवाद भने उस्तै छ । ओलीले प्रचण्डलाई फकाउन धेरै नै पापड बेल्नुप¥यो । आफ्ना दूतहरुलाई लगातार खुमलटार पठाएर ओलीले प्रचण्डलाई बालुवाटार आउन वाध्य तुल्याएपनि सोचेअनुरुप परिणाम भने पाउने अवस्था छैन् ।

हिजोको भेटमा प्रधानमन्त्री ओलीले पुराना विवाद त्यागेर अब दुई अध्यक्ष नयाँ शिराबाट अगाडि बढौं भन्ने प्रस्ताव राखेको भएपनि प्रचण्डले भने नपत्याएको निकटवर्ती स्रोतले बतायो । ओलीजीले अध्यक्षद्वय मिलेरै अगाडि जाउँ, कमीकमजोरी सच्याउन म प्रतिबद्ध छु भनेर अध्यक्ष प्रचण्डलाई भनेको जानकारी दिंदै स्रोतले भन्यो– अब टालटुले कुराले हुँदैन, जे गर्ने हो सचिवालय बैठकले नै गर्ने छ ।

हिजोको छलफलमा प्रचण्डले प्रष्टसँग अब तपाईंसँग व्यक्तिगत रुपमा कुरा नगर्ने, जे गर्ने हो त्यो सचिवालयमार्फत नै होस् भन्ने प्रस्ताव राख्नु भएको छ – स्रोतले भन्यो । प्रधानमन्त्री ओलीले तारन्तार दूतहरु पठाएर बालुवाटार डाकेपछि प्रचण्डले हिजै वरिष्ठ नेता झलनाथ खनाल र अर्का नेता माधवकुमार नेपालसँग टेलिफोन वार्ता गरेका थिए । नेतात्रयबीच सचिवालय बैठक तत्काल बोलाउन ओलीलाई वाध्य पार्ने समझदारी बनेको थियो । सोही बमोजिम प्रचण्ड ओलीसँग भेट्न तयार भएका थिए ।

हिजोको छलफलमा अध्यक्षद्वयबीच मन माझामाझ भएको छ, अब सकारात्मक दिशामा छलफल हुनेछ– ओली पक्षीय एक नेताले भने । उनका अनुसार, अहिले सचिवालय बैठक बस्नु भन्दा अध्यक्षद्वयले ठोस सहमति बनाएर मात्रै जादाँ बेश हुन्छ ।  खासगरी, मन्त्रिपरिषदमा गरिने पुनर्गठन र अन्य राजनीतिक नियुक्तिका सन्दर्भमा दुुई अध्यक्षको कुरा मिल्यो भने समस्या हुने छैन् – उनले भने । तर ओलीले चाहे अनुसार अब अगाडि बढ्न सहज देखिंदैन । खासगरी कर्णाली प्रदेशको मुद्धाले पार्टीको आन्तरिक समीकरणमा व्यापक परिवर्तन देखाएको छ । अध्यक्ष प्रचण्ड र नेता नेपालको समीकरण बनेपछि कर्णालीको आकार नै बदलिएको छ । ओली पक्ष अल्पमतमा परेको छ ।

त्यो अवस्था विस्तारै अन्य प्रदेश र संघमा समेत देखिने छ । त्यही अवस्थाको राम्रो विश्लेषण गर्दै ओलीले रणनीति बनाउन थालेका छन् । उनको बुुझाईमा प्रचण्ड र नेपालले आफ्नै विरुद्धसमेत अविश्वास प्रस्ताव दर्ता गर्न सक्ने छन् । त्यसको तयारी समेत भइरहेको उनी पक्षधर नेताहरुले आंकलन गरेका छन् ।

त्यसैले ओली अत्तालिएर कहिले माधव नेपालसँग सहकार्यको प्रस्ताव गर्दैछन् भने कहिले प्रचण्डलाई फकाउने प्रयास गरिरहेका छन् । नेता नेपालसँग भएको वान टू वान टक समेत ओलीका लागि सुखद रहेन । किनभने नेता नेपालले ओलीका कुनै पनि प्रस्तावलाई स्वीकार गरेनन् । बरु उल्टो पार्टीभित्र नेताहरुबीच फाटो ल्याउने गरी खेल नखेल्न चेतावनी दिएका थिए ।

अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला : दाहाल

नेपालले घाँस नहालेपछि ओली फेरि प्रचण्डलाई नै मनाउने प्रयासमा लागेका छन् । तर अहिलेसम्मको अवस्था हेर्दा ओलीले प्रचण्डलाई फकाउने सम्भावना देखिंदैन– नेपाल पक्षीय एक केन्द्रीय नेताले भने । अब पनि ओलीको ललिपपबाट प्रचण्ड फकिने कुनै संकेत आफूले नपाएको उनको बुझाई छ ।

ओलीले आफ्नो जाल पटकपटक फालेकाले नेताहरु उनलाई पत्याउने पक्षमा छैनन् , बरु आफूलाई बेलैमा सच्याएर जाँदा मात्रै ओलीको भलो हुने उनको ठम्याई छ । तर ओली भने पुरानै शैलीलाई निरन्तरता दिने पक्षमा देखिएका छन् । हिजो साँझ निकट नेताहरुसँग बालुवाटारमा ओलीले छलफल गरेको स्रोतको भनाई छ । छलफलमा सहभागी नेताहरुले तीन थरि विचार व्यक्त गरेको बालुवाटार निकट स्रोत भन्छ ।

नीति तथा कार्यक्रममाथि ६ संशोधन प्रस्ताव प्रस्तुत

एकथरि नेताले प्रचण्ड र नेपालसँग सम्झौता भन्दा संघर्ष गर्दा मात्रै ओली पक्ष बलियो हुने धारणा राख्यो । उनीहरुले प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा सीमित रहन ओलीले सम्झाउनुपर्ने भन्दै बरु नेता नेपालसँग सहकार्य गर्दा उपयुक्त हुने धारणा राख्यो । यो पक्षको नेतृत्व ईश्वर पोखरेलले गरेको स्रोतको भनाई छ ।

तर अर्का थरि नेताले भने अहिले संक्रमणकाल नै रहेकाले दुबै पक्षलाई थोरै सत्ता साझेदार बनाएर जाने त्यसमा सहमत नभए देशव्यापी रुपमा बहस चलाउनुपर्ने तर्क अघि सारेको थियो । संसदीय दलका उपनेतासमेत रहेका पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङले यस्तो विचार समूहको नेतृत्व गरेको पनि स्रोतको भनाई छ ।

यस्तै तेस्रो पक्षले भने ओली एक कदम पछाडि हटेर भएपनि पार्टी एकता जोगाउनुपर्ने धारणा राखेका छन् । यस्तो धारणा राख्नेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत छन् ।  प्रधानमन्त्रीजीले सबैका कुरा ध्यानपूर्वक सुन्नु भयो, तर प्रतिक्रिया दिनु भएन भन्दै स्रोतले अब कसरी अगाडि प्रस्तुत हुने भन्नेबारे ओलीले नै धारणा बनाउने बतायो ।

अब सबै विवादबारे सचिवालय बैठकमा मात्रै छलफल गर्न माग भएकाले कस्तो रणनीति बनाउने भन्ने काम स्वयं ओलीको हो । किनभने ओली निकटवर्तीहरुका कुरा सुनेपनि आफूलाई लागेको मात्रै गर्ने स्वभावका मानिस हुन् । प्रचण्डलगायत शीर्ष नेताहरुले सबै विवादको छिनोफानो सचिवालयबाटै गर्ने बताउन थालेका छन् । त्यसैले अब ओलीले कुन फण्डा प्रयोग गर्लान् त्यो हेर्न केही दिन कुर्नै पर्ला ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा