११ मंसिर २०७८, शनिबार

कर्णालीको कहर थाँती, ओलीको निर्णयपछि मात्रै पुनर्गठन

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १४:५०


१६ कार्तिक, काठमाडौं । लगभग पुनर्गठनको अन्तिम तयारीमा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही एक्कासी रोकिएका छन् । हिजो साँझ मुख्यमन्त्री शाहीले पुनर्गठन गर्ने तयारी गरिरहँदा प्रधानमन्त्री ओली पक्षका दुईजना मन्त्रीलाई हटाएर नेता माधवकुमार नेपाल पक्षका दुुईजनालाई मन्त्रिमण्डलमा समावेश गर्ने जानकारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएका थिए ।

त्यसको संकेत उनले हटाइन लागेका मन्त्रीहरुलाई गरिसकेका थिए । सोही बमोजिम हटाइन लागेका मन्त्रीहरुले सामाजिक सञ्जालमार्फत आफ्नो विदाईको स्वघोषणासमेत गरेका थिए ।  तर आज बिहानै अध्यक्ष प्रचण्डले केही दिन पुनर्गठन नगर्न सल्लाह दिएकाले हाललाई रोकिएको स्रोतले बतायो ।

आफू पक्षका दुईजनालाई हटाउने बुझेपछि प्रधानमन्त्री ओलीले त्यसको प्रतिक्रिया दिने तयारी गरेका थिए ।  यसबारे संकेत पाएका प्रचण्डले बिहानै नेता नेपालसँग टेलिफोन संवाद गरे । साथै, ओलीले नयाँ कदम नचलेसम्म कर्णालीमा पुनर्गठन नगरौं भन्ने सहमति दुईजनाबीच भएको छ–खुमलटार निकट स्रोतले भन्यो ।

त्यसैले ओलीले अब गर्ने संघीय मन्त्रिमण्डलको पुनर्गठन र अन्य कदम प्रष्ट भएपछि मात्रै कर्णाली प्रदेशबारे के गर्ने भन्ने टुंगो लाग्ने छ– स्रोतले भन्यो । फेरिपनि बल ओलीकै कोर्टमा पुुगेको छ भन्दै स्रोत भन्छ– ओलीले गर्ने क्रियाको प्रतिक्रिया हामीले दिने हो । ओलीको निर्णयले नै पार्टीको आगामी कार्यक्रम र दिशा स्पष्ट हुनेछ ।

यसको अर्थ संघीय सरकारको स्वरुप जस्तो रहन्छ, कर्णालीको पनि त्यस्तै रहने हो ।  यसैबीच, ओली पक्षका भनिएका कर्णाली प्रदेशका सांसद्हरुबीच मत बाझिएको छ । यामलाल कंडेलको व्यक्तिगत कुण्ठाले गर्दा समग्र कर्णाली प्रदेश प्रभावित हुन लागेको भन्दै केही सांसदले यस्तो अस्थिरता अन्त्य गर्ने भएका छन् ।

यस प्रयोजनका लागि थप छलफल गर्न उनीहरु राजधानी आउँदैछन् । प्रधानमन्त्रीसँगै भेटेर सबै कुरा गर्ने भन्दै केही सांसदले मुख्यमन्त्री शाहीलाई सघाउने संकेत गरेको बुझिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा