मंगलबार , मंसिर ९, २०७७

प्रचण्ड, माधव नेपाल, वामदेव गौतमसहित ५ नेतामाथि सुरक्षा निगरानी

प्रचण्ड, माधव नेपाल, वामदेव गौतमसहित ५ नेतामाथि सुरक्षा निगरानी

२ मंसिर, काठमाडौं । ‘बरु अप्रिय कदम चाल्छु, तर कुनै हालतमा राजीनामा दिन्न’ भनेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसहितका ५ जना नेतामाथि उच्च सुरक्षा निगरानी बढाएका छन् । आफूविरुद्ध फरक राजनीतिक प्रस्ताव सचिवालय बैठकमा ल्याउने अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमसहितका ५ नेतामाथि उच्च सुरक्षा निगरानी बढाएका हुन् ।

उच्च सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री ओलीको निर्देशनमा प्रचण्डसहितका नेताहरुकाे गतिविधि निगरानी गर्न सुरक्षा निगरानी बढाइएको हाे । सुरक्षा निगरानी बढाइएका नेताहरुमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र वरिष्ठ नेता झलनाथ खनाल समेत छन् ।

उनीहरुको भेटघाट र हिडडुलमा उच्च निगरानी गर्न निर्देशन दिइएको छ । पछिल्लो समय भारतीय खुफिया एजेन्सी रअका अधिकारी लगायत विदेशी कुटनीतिज्ञसँगको भेटघाट बढेपछि शीर्ष नेताहरुको सुरक्षा निगरानी बढाइएको उच्च स्रोतले जनाएको छ ।

कार्तिक २७ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरुद्ध फरक राजनीतिक प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव दर्ता भएपछि ओली पक्ष झस्किएको छ । खासगरी पटक पटक प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दा पनि नदिएपछि यसपटक पार्टी विभाजन नै भएपनि ओलीविरुद्ध निर्णायक कदम चाल्ने पक्षमा प्रचण्डसहितका नेताहरुले राजनीतिक प्रस्ताव दर्ता गराएका हुन् ।

यसले ओलीले औपचारिक रुपमै गाह्रो परेको छ । यस्तो बेला ओलीले नेताहरुमाथि सुरक्षा निगरानी बढाएर थप कदम चाल्ने सम्भावना छ । तर के हुन्छ ? भन्ने खुलेको छैन् । विवाद बढ्दै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओली र प्रचण्डसँग पालैपालो भेटवार्ता गरेकी छिन् ।

दुई दिनअघि ओलीलाई शीतलनिवास बोलाएर भेटवार्ता गरेकी भण्डारीले आज मात्रै प्रचण्डसँग पनि भेटवार्ता गरेकी हुन् ।

नेपाली सेना पनि ‘हाई अलर्ट’मा

प्रधानमन्त्रीको ओलीको निर्देशन पाएपछि नेपाली सेना पनि ‘हाईअलर्ट’मा बसेको स्रोतले जनाएको छ । ईश्वर पोखरेललाई हटाएर रक्षामन्त्रालय आफैसँग राखेका प्रधानमन्त्री ओलीले सेनालाई उच्च तयारीमा रहन निर्देशन दिएका स्रोतले जनाएको छ ।

नेपाली सेनाको उच्च स्रोतका अनुसार ओलीको निर्देशनपछि सेना हाईअलर्टमा बसेको हो । प्रधानमन्त्री ओलीले कडा कदम चाल्छु भनेर पटक पटक चेतावनी दिएपनि उनले अहिलेसम्म त्यस्तो डरलाग्दो कदम भने चालेका थिएनन् ।

तर पछिल्लो दुई दिनयताको प्रधानमन्त्रीको भेटवार्ता र कार्यशैली हेर्दा खतराको संकेत देखिएको सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय