मंगलबार , मंसिर ९, २०७७

ओली अध्यादेश जारी गराउने तयारीमा

ओली अध्यादेश जारी गराउने तयारीमा

३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र चर्किएको विग्रहले कुन रुप लिने हो ? त्यसको छनक आज दिनभरिको घटनाक्रमले निर्धारण गर्ने देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली अहिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीलतनिवास पुगेका छन् ।

आज दिउँसो १ बजेका लागि पूर्व निर्धारित सचिवालय बैठक नराख्न ओली गएको एक सातादेखि धेरै दौडधूपमा लागे । सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीमाथि गम्भिर आरोप लगाउँदै एकल प्रतिवेदन पेश गरेपछि स्थिति अझै जटिल बनेको हो ।

प्रचण्डले लगाएका आरोपमाथि आजको बैठकले गम्भिर छलफल गर्ने कार्यक्रम तय भएको छ । साथै, ओलीको निरंकुश स्वभावबाट आजित भएका बहुमत सचिवालय सदस्यले आजै स्थायी कमिटीको मिति तोक्ने तयारी गरेका छन् ।

त्यसलाई रोक्न ओलीले गएको साता ठूलै मेहनत गरे, तर संम्भव भएन । सचिवालय बैठक रोक्न विभिन्न दूतमार्फत ओलीले प्रचण्डलाई फकाउने काम गरेपनि सकारात्मक देखिएन । त्यसैले उनले सचिवालय बैठक राखेकै समय पारेर मन्त्रिपरिषदको बैठक डाकेका थिए ।

मन्त्रिपरिषद बैठक राखेपनि सचिवालय बैठक नरोक्ने पक्षमा बहुमत सदस्य अडिग भएपछि ओलीले अन्तिम अस्त्रका रुपमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका छन् । यसै प्रयोजनका लागि फाइनल छलफल गर्न उनी शीतल निवास गएको अनुमान गरिएको छ । त्यसैले उनले १ बजेका लागि तय गरिएको मन्त्रिपरिषद बैठक २ बजे सारिएको छ ।

ओलीको चाहना

पार्टीभित्रका असन्तुष्ट समूहले जतिसुकै बलजफ्ती गरेपनि ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद त्याग्न तयार छैनन् । बरु आवश्यक परे पार्टी फुटाएरै भएपनि अर्काे पटक बहुमत ल्याउने कसरतमा छन् । त्यसका लागि उनले राष्ट्रपतिसँग पटक–पटक सल्लाह गरेका छन् । तर राष्ट्रपतिले सकेसम्म मिलाएरै जान आग्रह गरेको र एकपटक प्रचण्डसँग आफूले छलफल गरेपछि मात्रै नयाँ कदम चाल्न सुझाव दिएकी थिइन् ।

सोही बमोजिम हिजो राति भएको छलफलमा प्रचण्डले राष्ट्रपतिसँगको भेटमा ओलीलाई निशर्त सघाउन नसकिने जानकारी दिएका थिए । आज बस्ने सचिवालय बैठकले ओलीविरुद्ध दर्ता गरिएको प्रचण्डको प्रस्तावमाथि छलफल गरी स्थायी कमिटी डाक्ने तयारी भएको बुझेपछि ओली राष्ट्रपति कहाँ पुगेका हुन् ।

ओलीले संसदीय दलमा मात्रै आफूलाई जतिको समर्थन प्राप्त हुन्छ सोही आधारमा प्रतिशत निर्धारण गरी विभाजनसम्बन्धी अध्यादेश ल्याउने कसरत गरिरहेका छन् । साथै, विभाजनपछि नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने उनको तयारी छ । ओलीको पक्षमा अहिले ७८ जना र नेपाली कांग्रेसका ६४ जना मिलेर सरकार बन्ने अवस्थाबारे समेत ओलीले राष्ट्रपतिलाई अवगत गराउने भएका छन् ।

प्रचण्ड – माधव नलत्रने
ओलीसँग अब चाहिं वार कि पारकै लडाईं लड्ने पक्षमा प्रचण्ड र माधवकुमार नेपाल पक्ष रहेका छन् । जसले जतिसुकै फकाए वा दबाव सिर्जना गरेपनि यसपटक भने प्रचण्ड र माधव पक्ष नझुक्ने पक्षमा अडिग देखिएका छन् । सधैंको झैझगडा भन्दा ओली बिनाको पार्टी नै चलाएर बस्ने पक्षमा प्रचण्ड र माधव देखिएका छन् ।

यद्यपि आफूहरुलाई ओलीले विभिन्न किसिमको मानसिक तनाब र दबाब दिइरहेको भएपनि अब वार की पारमै जाने बताएका छन् । हिजो साँझ प्रचण्डले नेता नेपाललगायत झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग फोनमार्फत छलफल गरेका थिए । आजको सचिवालय बैठक नै अहिलेको बटमलाइन बनाउने विषयमा पाँचै जना नेताबीच सहमति बनेको छ ।

शक्तिकेन्द्रको अनावश्यक चलखेल
नेकपा भित्रको विवाद मिलाउन वा बढाउन जे भएपनि शक्तिकेन्द्रको चलखेल हुने गरेको छ । पदीय हैसियत र मर्यादाको ख्यालै नगरी राष्ट्रपति र चिनियाँ राजदूतको अनावश्यक चलखेलले नेपालको सार्वभौमिकता र अखण्डतामै आघात पुगेको छ । राष्टपति जस्तो गरिमामय पदको लाजै नराखी विद्यादेवी भण्डारी पार्टीको एउटा गुट विशेषको ताबेदारीमा लागेकी छन् । यो उनको पदको मर्यादा विपरित भएको स्वयं सत्ताधारी दलका नेताहरु बताउँछन् ।

उता, चिनियाँ राजदूत होउ यान्छी मध्य रातमा राष्टपति र प्रधानमन्त्रीसँग भेट्न जान थालेकी छन् । उनले राष्टपतिसँग भेट्दा कूटनीतिक प्रोटोकलको ख्याल राख्नुपर्नेमा त्यसको धज्जी उडाउने काम भएको छ । यसले नेपालको राष्टिय अखण्डता र सार्वभौमसत्ता माथि नै धावा बोलेको छ ।

बैशाख १२ दोहाेरिने
आजको सचिवालय बैठकले ओलीलाई नराम्रो झड्का दिने निश्चित छ । त्यसलाई छल्ने कुनै उपाय नभएकाले ओलीले आजैको मन्त्रिपरिषद बैठकबाट निर्णय गराई दल बिभाजनसम्बन्धी अध्यादेश फेरि जारी गर्ने भएका छन् । यसअघि पनि बैशाख १२ गते उनले यस्तै अध्यादेश जारी गराएका थिए । तर पार्टी भित्रबाटै त्यसका प्रतिकार भएकाले वाध्य भएर उनी पछि हटेका थिए ।

अब भने स्थिति उनको नियन्त्रणमा नरहने निश्चित भएकाले प्रचण्डलगायत बहुमतलाई आफ्नो राजकीय शक्ति देखाउनकै लागि भएपनि ओलीले अध्यादेश जारी गराउने भएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय