शनिबार , मंसिर १३, २०७७

कविता : लापत्ता प्रेम पत्र

कविता : लापत्ता प्रेम पत्र

नमिता दवाडी/ न्युजिल्यान्ड 

मेरा प्रियतम बादलका रेसाहरुमा
प्रभाती किरणमा
पस्चिमास्त हुँदै गर्दा क्षितिजमा देखिने
सुर्यको रातो रङ्गमा
हावाको तरङ्गमा जहाँ तहीँ छु म !!

मलाई साँच्चिकै अँगाल्न मन छ भने
तिमी आकाश हुनुपर्छ
बदलिएकी मलाई पाउन तिमी पनि बदलिनु पर्छ
घरै छेउको खहरेमा उँर्लिदो मेरो चकचकले काउकुतीन
तिमी बगर हुनुपर्छ ,
काँडो निकाल्ने बहानामा मेरा हात पाउ हुँदै मन छुन
तिमी बयर घारी हुनुपर्छ !!

पन्चर भएको मेरो साइकिललाई ,
त्यतै कतै अड्याईदिएर
आफ्नो साइकिलको अगाडि ,
एक थोपा सासको दुरीमा मलाई बोकेर
समयको पाङ्ग्रा खियाउँदै स्वप्निल यात्रा गर्न
तिमी स्याउली बजारको बाटो हुनुपर्छ !

म सामिप्यता खोजिरहेछु,
आत्मियता घोलिरहेछु तिम्रै काखमा बसेर ,
खोइ के भएको छ तिमीलाई
अजनबी झैँ के के , के के गरिरहन्छौ !!

कहिले ,
कफीको घुट्को बनाई मलाई घुटुक्क निल्छौ
घाटीको सानो झ्यालबाट
मुस्किलले तिमीलाई पुग्ने सास छिर्छ,
म छटपटिएको पत्तो सम्म पाउँदैनौ !!

कहिले चुरोटको धुवाँमा गोल गोल घुमाउँदै
हावामा उँडाइरहन्छौ ,
आफ्नै प्रेम ,
आफ्नै जीवनको यसरी खिल्ली
उँडाई रहँदा तिमीले यो मुटु कति चिरिन्छ
देखाउन बिशेष सुक्ष्म दर्शकयन्त्र सम्म छैन मसँग !!

यो सब नहोस् ,
तिमीले खेप्नु नपरोस्
उराठिलो रिक्तता ,
भोग्नु नपरोस् भयानक सन्नाटा ,
उष्ण ओठमा माया पग्लिरहेको दृश्य हेरेर
कल्पनातीत आनन्दमा तिमी झुमिराख ,
सोचेर ,
बाटो अनन्तको लिनु भन्दा पहिले
लेखेको थिएँ तिमीलाई प्रेम पत्र ,
मुटु टाँसेर अक्षरहरुमा  !!

हतार हतार हुलाक छिरेर
खाम बन्दी गरेको थिएँ मेरो जिन्दगी भन्दा लामो चिठी
टाँसेर हवाई टिकेट
लेखेको थिएँ तिम्रो नाम ठेगाना
प्रापकको ठाउँमा !!

पुरा भरोसाका साथ खसालेको थिएँ पत्र
पत्र मन्जूषामा
मलाई के थाहा ! सडक छेउमा गाडिएका उनका पाइला
जति खेर पनि उप्काइन सक्थे ,
फ्याँकिन सक्थे बिगत बनेर समयको रद्दी खानामा !!

आज ,
तिम्रो हर्कत देखेर लाग्छ !
मेरो चिठी बिचैमा गायब भयो
जसरी हराए हजारौँ लाखौँ प्रित पत्र ,
हुलाक , खाम , टिकेटसँगै
हुलाकी दाइहरु
चोकको चिया पसलमा ,
स्टिलका ग्लास भरी चियाको नाममा झुसी लागेका
प्रेम , सद्भाव र आत्मियता !!

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय