मंगलबार , मंसिर ९, २०७७

विस्तृत शान्ति सम्झौताको १४ बर्ष पूरा, द्वन्द्वपीडितले अझै न्याय पाएनन्

विस्तृत शान्ति सम्झौताको १४ बर्ष पूरा, द्वन्द्वपीडितले अझै न्याय पाएनन्

५ मंसिर, काठमाडौं । १० बर्षे सशस्त्र द्वन्द्व अन्त्य गर्न भएको विस्तृत १२ बुँदे सम्झौतामा हस्ताक्षर भएको १४ बर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते आजकै दिन तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीले विस्तृत शान्ति सम्झौता मार्फत एक दशक लामो युद्ध अन्त्यको घोषणा गरेका थिए ।

विसं २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको शान्ति प्रक्रियाका मुख्य कार्यभार थिए– संविधान सभा मार्फत नयाँ संविधान निर्माण, माओवादी लडाकुको व्यवस्थापन, संक्रमणकालीन न्याय र आर्थिक–सामाजिक रुपान्तरण । कोइरालाको निधनसँगै विस्तृत शान्ति सम्झौता कार्यान्वयन हुन नसकेको धेरैको धारणा छ ।

शान्ति सम्झौताले निर्धारणा गरेका लक्ष्यमध्ये पाँच वर्ष अगाडि संविधानसभा मार्फत संविधान निर्माण भईसकेको छ । त्यसैगरी ८ वर्ष पहिला नै माओवादी लडाकुको समायोजन तथा व्यवस्थापनको काम पनि सम्पन्न भइसकेको छ । यद्यपि ‘अयोग्य’ भनी बर्हिगमनमा परेका केही लडाकुले आफूहरुलाई अन्याय भएको र राहत नपाएको बताइरहेका छन् ।

शान्ति सम्झौतामा हस्ताक्षर भएको १४ वर्षपछि पनि संक्रमणकालीन न्यायको प्रत्याभूति पीडितमा हुन सकेको छैन् । १० वर्षे द्वन्द्वको क्रममा तत्कालीन राज्य पक्ष र माओवादीबाट भएको मानव अधिकार उल्लंघनको छानबिन भएपनि त्यसले पूर्णता भने पाएन । मानवअधिकार आयोगले छानबिन गरेपनि दोषीलाई कारवाही गर्न सकेन भने बेपत्ता छानबिन आयोग र सत्य निरुपण आयोग अहिले पनि अन्यौलमै छन् ।

सम्झौतामा हस्ताक्षर गर्दा ६ महिनाभित्र सत्य निरुपण र मेलमिलाप आयोग गठन गर्ने सहमति भएको थियो । तर, शान्ति सम्झौतामा हस्ताक्षर भएको ९ वर्षपछि मात्र सन् २०१५ मा एउटै ऐन मार्फत सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भयो । तर दुवै आयोगले प्रभावकारी रुपमा काम गर्न सकेनन् ।

विस्तृत शान्ति सम्झौताको १४ बर्ष पूरा हुँदा नेपालमा पहिलेकै जस्तो समाज पुरातनवादी भएको छ भने परिवर्तनकारी पक्ष भनेको तत्कालिन माओवादी अहिले विभाजित भएर अस्तित्व नै सिध्याउन अभ्यस्त छ । त्यसमाथि परिवर्तनकारी पक्ष अहिले सबैभन्दा धेरै भ्रष्ट बनेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय