
देश उठ्नै नसक्ने गरि थलिएको छ । सत्ताधारी दलका मासिक लाखौंको सुविधा लिने नेताहरु र उच्चपदस्त बाहेक सबै सर्वसाधारण मान्छेले महसुस गरेको तितो सत्य हो यो । नहोस पो कसरी ? कोरोनाले विश्व कै अर्थतन्त्रमा ज्यादै नकारात्मक असर परेको बेलामा हाम्रो जस्तो विपन्न मुलुकलाई हुनु सास्ती छ र अझै त्यसमाथि नगण्य निर्यात र ठुलो परिणाममा आयात गर्ने मेरो देशले केवल रेमिट्यान्सको भरमा यत्रो धान्नै नसक्ने आकारको प्रशासनिक खर्च साथमा हजारौँ छोटे राजाहरुको सुविधा भोगी बहुलठ्ठी ठसक राज्यलाई गह्रुङ्गो हुँदै गईरहेको छ ।
सर्वसाधारणहरु कतिञ्जेल यो काउसोको माला भिरेर नेता भनाउँदाहरुको दासता खप्न सक्लान र ? सरकार एकपछि अर्को नकारात्मक कीर्तिमान राख्न ब्यस्त छ । वाइडबडीबाट सुरु भएको यात्रा ३३ किलो सुन, वालुवाटार जग्गा, ७० करोड घुस, यति, मेलम्ची अनि ओम्नी काण्ड जस्ता मुख्य विसौनीहरुमा विसाई मार्दै अन्तराष्ट्रिय स्तरमै प्रथम हुन सफल भएको छ ।
अलिकति पनि लज्जाबोध छैन् देश चलाउने ठेक्का पाएका गरिबमारा देशद्रोही भंडूवाहरुलाई । जनता अझै यिनीहरु कै शब्दजालको बहकाउमा छन् । गिद्धले सिनो लुछे झैँ लुछेर नसक्दासम्म हेरेर मात्रै बस्ने गुलाम मानसिकता कहिले फेरिने हो । श्री पशुपतिनाथलाई नै थाहा होला, अरु कसैलाई थाहा छैन् ।
कुकुर र विरालोलाई मित लगाएर एउटै खोरमा हुले पनि ङयार् ङयार नगरी त किन बस्न सक्थे भनेजस्ताे स्वभाव जो ठहरियो । यो कुर्सीको खेल होकी पद प्रतिष्ठाको कुरा होकी उसले खाएको डाहा या आफुले खान नपाएको आवेग हो ? जुङ्गै नभएका मामुचीहरुको जुँगाको लडाई हो ? अथवा मालिकहरुको निर्देशन पालना गरेका हुन् ? बुझी नसक्नु भाछ ।
एकले अर्को पक्षको उछित्तो काढेको छ, गद्धार घोषणा गरेको छ, के गाईजात्रा हो ? हुन् त् कम्युनिष्ट भनेका गद्धार नै हुन् र कतिलाई थाहा छ कुन्नि ? नेपालमा पहिलो गद्धारको उपाधि पनि कम्युनिष्टका संस्थापक नेता क. पुष्पलालले नै पाएका थिए । त्यसपछि त्यो पदवीबाट रायमाझी, मोहन घर्तिमगर हुँदै बामदेव, बाबुरामसम्म सम्मानित भैसकेको हुँदा अब प्रचण्ड र ओलीबीच कडा प्रतिस्पर्धा चलेको छ ।
कसले जित्छ ? यसपटक लालगद्धारको पदक ? अनि सहविजेता को को हुने हुन ? प्रतिक्षा कै विषय बनेको छ । तर दुवै प्रतिस्पर्धी उक्त सम्मानका लागि योग्य छन् । अब कसले जित्छ वा कसले हार्छ त्यो त आउने समयले बताउँला । देशमा अर्को एउटा देश, जनता र राजासहितको प्रजातन्त्रका लागि लडेको कुनै समयको ठुलो र जनताले सर्वाधिक विश्वास गरेको नेपाली कांग्रेस नाम गरेको ऐतिहासिक पार्टी पनि छ र त्यो गरिमामय संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक पार्टी अहिले मरिच झैं खुम्चिएर तान्त्रिक हुन पुगेको छ ।
के गरोस्, राजतन्त्र विदेशीका एजेण्टहरुले खोसिहाले । प्रजातन्त्रको पूर्ण अर्थ नबुझेका लठुवाहरुको झुण्डले ‘भोट बेचुवा ग्याङ्ग’ पार्टी कब्जा त गरे तर न त नेतृत्वदायी हुङ्कार भर्न सके न त प्रतिपक्षीय भूमिका निर्वाह गर्न सके । लोभ लालचमा पैसा लिने र विपक्षीलाई भोट बेच्ने भूमिकामा सीमित हुन् पुगे ।
एकातर्फ विदेशी दलाल अर्कातर्फ भोट बेचुवा ग्याङ्गले देश चलाउन नजान्दा हिजो सत्ताच्युत राजाको पक्षमा जनता नारावाजी गर्दैछन् “राजा आऊ देश बचाऊ” । अनि सत्तासिन लफङ्गा झोले हनुमान्दासहरु अनुहारको फोहोर सीसा पुछेर पन्छ्याउँन खोज्दै छन् । जुन किमार्थ सम्भव छैन । तर यो सत्य स्वीकार्ने बेलासम्म कति सीसा फोर्ने हुन्, के थाहा ? / फ़्र्याङ्कफर्ट, जर्मनी ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 1 मिनेट