
भक्तपुर, १२ मंसिर । ठगी मुद्दामा पक्राउ परेका भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज ‘नेक’का पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए । गतबुधबार केन्द्रीय अनुसन्धान ब्युरोल ‘सिआइबी’ले पक्राउ गरेको न्यौपानेविरुद्ध अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकसँगै घुस दिएको मुद्दा दायर भएको थियो ।
आफ्नो आर्थिक अनियमितता र भ्रष्टाचार लुकाउन न्यौपानेले तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त पाठकलाई ७८ लाख रूपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिनुपरेको थियो । पक्राउ परेका न्यौपानेसहित पाँच जनाविरुद्ध ठगी मुद्दामा व्यूरोले अनुसन्धान गरिरहेको छ ।
इञ्जिनियरिङ कलेजमा भएको आर्थिक अनियमितताबाट २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ बेरुजु देखिएको र न्यौपानेको नाममा मात्रै तीन करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बेरुजु रही ठगी गरेको अभियोग न्यौपानेलाई लाग्दै आएको छ ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 1 मिनेट