नेकपा विवाद: भोलिको सचिवालयमा के होला ?
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार १९:५०:३
१५ मंसिर, काठमाडौं । “इँट का जवाफ पत्थर सें” भन्ने हिन्दी कहावत चरितार्थ गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सचिवालय बैठकमा ३८ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेपछि स्थिति गम्भिर बनेको छ । ओलीले गएको शनिबार पेश गरेको प्रस्ताव उपर भोलि बस्ने सचिवालय बैठकमा छलफल हुँदैछ ।
यसअघिको बैठकमा ओलीले प्रष्टैसँग प्रचण्डले कात्तिक २८ गते पेश गरेको प्रस्ताव निशर्त फिर्ता नगरे पार्टी एकीकरण प्रकृया अगाडि बढ्न नसक्ने चेतावनी दिएका छन् । त्यतिले मात्रै पनि नपुगेर ओलीले गलत आरोप लगाएकोमा प्रचण्डले क्षमा माग्नुपर्ने शर्तसमेत तेस्र्याएका छन् । तर प्रचण्डले ओलीले भन्ने वित्तिकै प्रस्ताव फिर्ता लिने अवस्था पनि छैन् । किनभने प्रचण्डले पेश गरेको प्रस्ताव सचिवालयका पाँच शीर्ष नेताको सल्लाहले प्रस्तुत भएको हो ।
ओलीको चेतावनी त्यतिमै सीमित रहेन । उनले प्रचण्डले पेश गरेको प्रस्तावलाई पार्टीका कुनैपनि बैठकमा औपचारिक रुपमा राख्न नपाइने घोषणा नै गरिदिएका छन् । उनको तर्क छ–पार्टीको अन्तरिम विधानले कुनैपनि अध्यक्षले एकल रुपमा प्रस्ताव पेश गर्न पाउँदैन । यस्तै , अन्तरिम विधानले महाधिवेशन अगाडि सबै काम दुई अध्यक्षको सहमतिमा गर्ने भनिएकाले बहुमत अल्पमतको कुनै अर्थ छैन । त्यसैले महाधिवेशवन अगाडि पार्टी संगठनका कुनैपनि कमिटीमा अल्पमत र बहुमतका आधारमा चल्ने कुरै छैन । यसको मतलब ओलीलाई कुनैपनि पार्टी संगठनले बहुमतका आधारमा कारबाही गर्ने वैधानिक हक नै छैन ।
साथै, पार्टी एकताका लागि प्रचण्ड गम्भिर नहुने हो भने सबै प्रकृया पूर्ववत अवस्थामा पुग्ने अर्काे चेतावनीसमेत ओलीले दिएका छन् । त्यसो नहुने भए ०७५ जेठ २ गते अगाडिकै अवस्थामा फर्कनसमेत उनले सुझाव दिएका छन् । यसको अर्थ प्रचण्ड अब कार्यकारी अध्यक्षको हैसियतमा रहेनन् । प्रचण्डले उठाएका सवालमा ओलीले विधि पद्धतिलाई स्वीकार गर्न तयार रहेको बताएका छन् ।
तर महाधिवेशन अगाडि भने केही हुन नसक्ने उनको अडान रहेको छ । महाधिवेशनमा आफू अध्यक्षको उमेदवार नरहने तर अरुले पनि दोस्रो पुस्तामा पद हस्तान्तरण गर्न त्याग गर्नुपर्ने शर्त राखिदिएका छन् । ओलीको यो प्रस्ताव प्रचण्ड र अर्का नेता माधवकुमार नेपालका लागि पाच्य छैन । ओलीको प्रस्ताव नै बटम लाइन मान्ने हो भने कक्षा नदोह¥याउने कुरा अरुका लागिसमेत बाध्यकारी हुने अवस्था छ । ओलीको प्रस्ताव नमान्ने हो भने आफैं कक्षा दोह¥याउन तयार रहेको सन्देशसमेत दिन खोजिएको छ ।
अब निकास के त ?
ओली पक्ष चाहन्छ पार्टी एकता कायम राख्ने हो भने प्रचण्डले क्षमायाचना गर्नुपर्छ । साथै, सबै कुरा नयाँ शीराबाट थाल्नुपर्छ । अर्थात, नयाँ सहमति कायम हुनुपर्छ । तर प्रचण्ड भने यसका लागि तयार देखिंदैनन् । किनभने प्रचण्डको एकल धारणा थिएन कात्तिक २८ मा प्रस्तुत भएको प्रतिवेदन । सचिवालयका पाँच शीर्ष नेताको सामुहिक निश्कर्षबाट आएको दस्ताबेजको जिम्मेवारी प्रचण्डले एकल रुपमा लिने कुरापनि भएन ।
प्रचण्ड – नेपाल पक्षको बटम लाइन भनेको ओलीले दुईमध्ये एक पद छाड्नैपर्छ । नत्र दुई लाइनको संघर्ष जारी रहन्छ । साथै, ओलीलाई लोकतान्त्रिक पद्धतिबाट ठेगान लगाउनसमेत पार्टी तयार रहनुपर्छ । यस्तै ओलीले सबै विवादको हल सचिवालयबाटै खोजिनुपर्ने माग गरेको छ । जबकी प्रचण्ड–नेपाल पक्ष भने स्थायी कमिटी र केन्द्रीय कमिटीले अब यसको छिनोफानो गर्नुपर्छ । यही विवादले गर्दा नेकपा भित्रको विवाद अझै लम्बिने अवस्था रहेको छ ।
सचिवालय होल्ड गर्न खिचातानी
ओली पक्षको बुझाईमा सचिवालयमा वहुमत कायम भयो भने अरु झण्झट व्यहोर्नै पर्दैन । यसका लागि ओलीले रामबहादुर थापाको समर्थन कायमै राखी बामदेव गौतमलाई आफूतिर तान्ने प्रयास गरिरहेका छन् । थापालाई आफ्नो पक्षमा खुल्न प्रचण्डले पटकपटक दबाब दिन थालेपछि ओलीसमेत आफ्नो उर्जा त्यतापटी खर्च गर्न लागिपरेको छ ।
यस्तै गौतमको अस्थिर चरित्रका कारण फेरिपनि खेल्न सकिने बुझाई ओलीको देखिन्छ । यसका लागि अर्थ मन्त्रालयसहित उपप्रधानमन्त्री बनाएरै भएपनि तान्ने उनको प्रयास जारी रहेको स्रोतको भनाई छ । तर गौतम भने ओलीसँग विश्वास गर्ने आधार गुमेको प्रतिक्रिया दिन थालेका छन् । बरु प्रचण्डले बोलाउने हरेक गुट बैठकमा उनको सहभागिता हुने गरेको छ ।
ओलीको प्रस्तावको प्रतिक्षा
भोलि बस्ने सचिवालय बैठकमा ओलीले थप के प्रस्ताव राख्ने हुन् त्यसको प्रतिक्षामा प्रचण्ड– नेपाल बसेका छन् । ओलीले ल्याउने प्रस्तावलाई नै आधार बनाएर धारणा बनाउने पक्षमा उनीहरु रहेका छन् । ओलीले अस्ती जस्तोसुकै आक्रोश पोखेपनि अहिले रक्षात्मक अवस्थामा रहेको बुुझिएको छ । त्यसैले भोलिको सचिबालय बैठकमा उनले सम्भवतः नरम भाकामा आफूलाई प्रस्तुत गर्नेछन् । साथै, दुबै पक्षलाई मान्य हुने साझा प्रस्ताव ल्याउन एउटा कमिटी बनाउन ओलीले प्रस्ताव गर्न सक्ने अनुमान गरिएको छ ।
जसले भदौ २६ गतेकै निर्णयलाई आधार बनाएर अगाडि बढ्ने अपेक्षा उनको रहेको छ । तर प्रचण्ड–नेपाल पक्ष भने अब टालटुले सहमतिको पक्षमा छैन । जे गर्ने हो अब भने छिनोफानो नै हुनुपर्ने उनीहरुको धारणा रहेको छ । ओलीले गल्ती स्वीकारेर आत्मालोचना गर्दै नयाँ कम्तिमा एक पद त्याग्ने प्रतिबद्धता नगरेसम्म विवाद मिल्ने छाँटकाँट छैन । त्यसका लागि भोलिको बैठक कुर्नैपर्ने भएको छ ।
प्रचण्ड –नेपालको तयारी
भोलि बस्ने बैठकमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा प्रचण्ड र नेपाल पक्षले आन्तरिक तयारी तीब्र बनाएको छ । हिजो साँझ र आज बिहान प्रचण्ड निवास खुमलटारमा ओली विरोधी नेताहरु भेला भइ छलफल गरेका छन् । ओलीसँग निर्णायक रुपमै प्रस्तुत हुनुपर्ने पक्षमा उनीहरु सहमत छन् । छलफलमा नेताहरु नेपाल , झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटी सदस्यहरुसमेत सहभागी थिए ।
ओली रुपान्तरण भएमात्रै महाधिवेशनसम्म एकता अगाडि बढ्न सक्ने भन्दै प्रचण्डले आफ्नो राजनीतिक जीवनमा सबैभन्दा ठूलो निराशाको वातावरण बन्न लागेको बताएका थिए । विधिपद्धति नमान्ने र आफ्ना कुरा एकोहरो रुपमा मात्रै राख्ने हो भने अब पार्टी कमिटीका निर्णयहरु कार्यान्वयनको चरणमा प्रवेश गर्नेसमेत छलफलमा सहभागीलाई प्रचण्डले बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार