कालीगण्डकी करिडोर कालोपत्रमा ढिलाइ किन ?
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार १८:१:६
खेमराज गौतम
१९ मंसिर, गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्रका लागि ढिलाइ भएको छ । बागलुङ खण्डअन्तर्गतको मालढुङ्गा–टाकुरी–पालुङखोला ३८ किलोमिटर सडकमध्ये सडक विभागलाई हस्तान्तरण गरेको १० किलोमिटर सडक अझै कालोपत्र हुनसकेको छैन । सडक विभागलाई हस्तान्तरण गरेको एक वर्ष पुग्नै लाग्दासमेत बोलपत्र प्रक्रियामा गएको छैन ।
कोरोनापछि कालीगण्डकी करिडोर गुल्मी खण्ड कालोपत्र गर्न थालिए पनि बागलुङ खण्डको काम सुस्त छ । स्तरोन्नति हुन बाँकी रहेको २८ किलोमिटर सडक स्तरोन्नतिमा समेत ढिलाइ भइरहेको छ । करिडोरअन्तर्गतको मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक १० मिटर चौडा बनाई सडक विभागलाई २०७६ पुस १ गते हस्तान्तरण गरिए पनि सडक विभागले अहिलेसम्म डिपिआर ‘विस्तृत आयोजना प्रतिवेदन’, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका काम गर्न सकेको छैन ।
कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका प्रमुख सुबोध देवकोटाले कारोनाका कारण कालीगण्डकी करिडोर बागलुङ खण्डको काम ढिलाइ भइरहेको बताए । “कोरोनापछि अहिले करिडोरको बागलुङ खण्डमा स्तरोन्नतिको काममा केही ढिलाइ भइरहेको छ, अब तीव्रता दिन नेपाली सेनालाई आग्रह गरेका छौँ”, देवकोटाले भने, “सडक विभागलाई हस्तान्तरण गरेको बागलुङको १० किलोमिटर सडक कालोपत्रका लागि डिपिआरको काम भइरहेको छ ।” देवकोटाका अनुसार कालोपत्रको काममा केही ढिलाइ भए पनि अबको छ महिनामा ठेक्का अघिका सबै प्रक्रिया टुङ्ग्याउने गरी सडक विभागसँग समन्वय गरेर अगाडि बढेको छ ।
कोरोनाका कारण प्रभावित बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको बलेवा विमानस्थलबाट पालुङखोलासम्म २८ किलोमिटर सडक १० मिटर चौडा पार्ने काम पुनः अघि बढाइएको करिडोर निर्माणको जिम्मा पाएको नेपाली सेनाको निर्माण कार्यदल प्रमुख रेश्मीराज भट्टराईले जानकारी दिए “जम्मा रु पाँच करोड बजेट आएको छ, अझै २० देखि २५ करोड बजेट आए आगामी वैशाखभित्र सडक विभागलाई बागलुङको सबै सडक हस्तान्तरण गर्ने गरी काम शुरु गरेका छौँ”, भट्टराईले भने, “आठ मिटर सडकलाई बम विस्फोट गर्ने र १० मिटर चौडा गरिनेछ ।” अब निर्माणले तीव्रगति लिने र आगामी वैशाखभित्रै सडक विभागलाई कालोपत्रका लागि हस्तान्तरण गरिने नेपाली सेनाले जनाएको छ ।
कोरोनाका कारण करिडोरको स्तरोन्नति र सडक विभागले कालोपत्रमा ढिलाइका विषयमा नागरिकबाट गुनासो र आलोचना हुन थालेपछि अहिले काम अघि बढाउन थालेको कालीगण्डकी सरोकार समितिका संयोजक टीकाराम ढकालले बताए । नेपालीको भाग्यरेखाका रूपमा रहेको करिडोरको सपना साकार हुँदै आएको छ । “एक वर्षभित्र बागलुङमा समेत कालोपत्र गर्ने गरी सरकार अघि बढ्न खोजेको छ”, ढकालले भने, “बागलुङको मालढुङ्गा र गुल्मीबाट कालोपत्र गर्दै आउने बीचमा धमाधम स्तरोन्नति गरी सडक विभागलाई बुझाउने गरी लागिएको छ, विसं २०७९ मा बागलुङ र गुल्मी खण्डमा सबै सडक कालोपत्र भइसक्नेमा आशावादी छौँ ।”
कालीगण्डकी करिडोर त्रिदेशीय सडक हो, यसले छिमेकी भारत र चीनलाई जोड्नेछ । मालढुङ्गाबाट गुल्मीको रिडीसम्मको खण्डमा सेनाले विसं २०७० देखि काम गरिरहेको छ । विसं २०७० को असारमा शिलान्यास गरेपछि सेनाले ८० किमी ट्र्याक खोलेको थियो । सबै सडकखण्डको ट्र्याक खुलेपछि चौडा पार्ने काम पनि सेनाकै जिम्मामा दिइएको हो । अत्यधिक पहरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएको थियो ।
विसं २०५७ पुस १ गतेका दिन गुल्मीमा शिलान्यास भएको उक्त सडक २० वर्षपछि गुल्मीबाटै कालोपत्रको काम शुरु भएको छ । करिडोरको बागलुङ र गुल्मी खण्डको ८० किलोमिटरमध्ये पाँचवटा खोलामा बेलीब्रिज निर्माण भएका छन् । पचासी किलोमिटर सडक बेनीबाट मुस्ताङको कागवेनीसम्मको ट्र्याक नेपाली सेनाले खुला गरी विसं २०६८ मा उक्त सडकखण्ड सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । कागवेनीबाट कोरलासम्म अहिले धमाधम काम भइरहेको छ । गुल्मीबाट बागलुङको मालढुङ्गा सडकको ट्र्याक खोल्न नेपाली सेनाको कार्यदललाई २०७० वैशाखमा जिम्मा लिएर ट्र्याक खोलिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालनमा
फागुन २८, २०८० सोमबार
नेपालगञ्ज–गुलरिया सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न
फागुन १६, २०८० बुधबार
बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता
फागुन १३, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार