चिसोले बालबालिका र ज्येष्ठ नागरिकलाई बढी कठिन
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार १५:१३:३८
५ पुष , टीकापुर । टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगे । टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । “बच्चालाई एक दिन अस्पताल भर्ना गरेर राखेँ, निकै कमजोर भएको छ”, सन्ध्याले भने, “चिसो बढ्यो, घाम लागेन, बाक्ला लुगा छैनन्, बच्चालाई चिसो गढेछ ।”
एकसरो लुगा लगाएर बच्चा बोकेर अस्पतालबाट फर्किरहेकी सन्ध्या आफैँ पनि जाडोले काँपिरहेका थिए । “गरिब छु, श्रीमान् पनि वैशाखदेखि घरमै बसेका छन् । रोजगार नभएर आम्दानी छैन”, सन्ध्याले भने, “सानो बच्चा छ । काम पनि केही पाउँदैन । पेट पाल्नै मुस्किल छ, लुगाकपडा लाउने त सपनामात्र भएको छ । टीकापुरकै विशालनगर शिविरका रुपेश परियार ज्यालादारीको काम गर्छन् । शीतलहर शुरु भएपछि उनको परिवारलाई समेत जाडो छेक्न समस्या भएको छ । “म दिनभरि काम गर्छु, घरमा तीन बच्चा र श्रीमती छन् । दिनभरि कमाएर लगेपछि उनीहरुले खान पाउँछन्”, रुपेशले भने, “यसपटक एउटा सिरक किनौँला भनेको किन्न सकिएन । चिसो भएर रातभरि सुत्न सकिन्न, दिनभरि काम गर्नुपर्छ । मलाई त रिङ्गटा लाग्न थालेको छ ।”
रुपेशको परिवार घरमा ओढ्ने, ओछ्याउने टन्न कपडा नभएर भुइँमा पराल बिछ्याएर सुत्ने गरेको छ । “आगो बालेर तापौँ भने पनि दाउरा पाइँदैन”, रुपेशकी श्रीमती मनसराले भने, “सबैजना सँगै सुत्छौँ अलि तातो हुन्छ, एक सातायता जाडो निकै बढेको छ ।”मुक्त कमैया बस्तीका शिवनगरमा पनि चिसोसँगै शीतलहर शुरु भएपछि धेरैको दैनिकी कष्टकर भएको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिकलाई बढी कठिन भएको छ । शिवनगरका रामेश्वर चौधरी चिसो बढेपछि एक सातादेखि काममा जान सकेका छैन । डकर्मी काम गर्ने रामेश्वरको घर उनले काम नगरे चल्दैन । “चिसोमा काम गर्न कठिन हुन्छ, केही दिन काममा नजाँदा घरमा भएको सबै अन्न सकियो, ओहो हामी गरिबलाई जाडोमा पनि समस्या, गर्मीमा पनि समस्या ।
बिरामी भए पनि आफ्नो र परिवारको पेट पाल्न काम गर्नैपर्ने”, रामेश्वरले भने, “चिसो बढेपछि शिविरका अधिकांशमा रुघाखोकी, ज्वरोजस्ता समस्या शुरु भएका छन् । एकातिर कोरोना भाइरस संक्रमणको डर पनि बढेको छ ।”बस्तीका बडघर रामफल चौधरी शिविरमा बस्तीमा बस्ने सबै गरिब भएकाले समस्या भएको बताए । “हरेक वर्षको जाडो छेक्न कठिन हुन्छ, सरकारले विपन्नको जीविकोपार्जनका लागि केही उद्योग, कलकारखाना खोलिदिएको भए सबैले रोजगार पाउँथे”, बडघर चौधरी भनछन्, “आयआर्जन भए पो आवश्यकता पूरा हुन्छन् । खेतीपाती गरौँ भने जमिन छैन, अनि मौसमले पनि सधैँ पीडा दिन्छ ।”
विजयनगर बस्तीकी गीतारानी चौधरी शनिबार बिहानै एकसरो म्याक्सी लगाएकी, सलभित्र काखमा बच्चा च्यापरे दौडदै थिए । उन घर निर्माण हुने स्थानमा इँटा, बालुवा बोक्ने काम गर्ने रहेछन् । “काम गर्नुपर्छ, बच्चा हेर्ने मानिस छैन, बोकेरै काममा जान्छु”, गीतारानीले भने , “घरमा अन्न भएको भए चिसोमा आराम गर्ने थिए । शरीरमा लुगा छैन, दिनभरि काम गर्दा त जाडो भएको महसुस हुन्न तर राति चिसोले मुटु काप्छ ।”
यसरी शिविर तथा बस्तीमा बसेका धेरै नागरिक हरेक रात मुटु कपाएरै कटाउँछन् । उनीहरु सरकारले सहजरूपमा रोजगारीका अवसर सिर्जना गरिदिनुपर्ने माग गर्छन् । कोरोना भाइरस संक्रमण पछि शिविरका धेरै नागरिकको ज्यालादारी गर्ने काम पनि छुटेको छ । भारतमा काम गर्नेहरु पनि घर फर्केका छन् । टीकापुर नगरपालिकाले गत वर्ष यी बस्तीमा दाउरा वितरण गरेको थियो । यस वर्ष पनि पुस महिना शुरु भएसँगै चिसो निकै बढेको छ । कैलालीको तापक्रम छ डिग्री सेल्सियससम्म झरेको छ । “यसपटक पनि चिसो बढेको छ । हामीले बस्तीमा बस्ने नागरिकलाई जाडो छेक्न कठिन भएकोबारे छलफल गरेका छौँ”, टीकापुर–१ का वडाध्यक्ष गङ्गाराम आचार्य भनछन् , “नगरपालिकामा छलफल गरेर उनीहरुलाई राहत दिने काम गर्छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार