
१० पुष, काठमाडौं । अब क्युआर कोडमार्फत देशभरका तरकारी बजारमा तरकारी खरिद गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्युआर कोडमार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको हो ।
डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्युआर कोडको प्रयोग गर्ने अभियान सुरु गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।
शुक्रबार काठमाडौंको नक्साल तरकारी बजारमा रहेका पसलहरूमा क्युआर कोडबाट भुक्तानीको सुरुवात गर्न आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले देशैभरका तरकारी बजारमा क्युआर कोडको प्रयोगलाई प्रोत्साहन गरिने बताए ।
नगदको चलनचल्तीबाट कोभिड– १९ संक्रमण जोखिमको डर भएकोले क्युआर कोडबाट भुक्तानी गर्ने अभियान सञ्चालन गरिएको पनि बताए । कोभिड– १९ संक्रमणको जोखिम बढेसँगै अहिले क्युआर कोडको प्रयोगकर्ताहरू मासिक रूपमा २० प्रतिशतले बढेको गभर्नर अधिकारीले बताए ।
कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले क्युआर कोडबाट भुक्तानी गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्दा बैंकहरूको खर्च घट्ने बताए ।
नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले फलफूल तथा तरकारी खरिद गर्दा क्युआर कोडबाट बिल भुक्तानी गरी कार्यक्रमको थालनी गरेका हुन् ।
डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका विक्रेताहरूलाई निःशुल्क क्युआर कोड वितरण गरेको थियो ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट