बिहिबार , माघ १५, २०७७

ओली फेरि नक्कली राष्ट्रवादी

ओली फेरि नक्कली राष्ट्रवादी

२८ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय मिडिया जी न्यूजलाई दिएको अन्तर्वार्ताले फेरि उनको राष्ट्रवादी फण्डालाई उराल्न थालिएको छ । नेपाल र नेपालीप्रति भारतीय पक्षको हेपाहा नीतिविरुद्ध खरो बोलेको भनी प्रशारण गरिएको उक्त अन्तर्वार्ताका पछाडि कुनै स्वार्थ नहोला त ? पक्कै छ ।

किनभने पछिल्लो समय ओलीको झुकाव भारतप्रति बढेको छ । चीनभन्दा भारतसँगको सम्बन्ध फलदायी हुने निचोडमा पुगेका ओलीले जी न्यूजसँग गरेको कडा कुरा त्यसै आए त ? छैन । धेरै प्लान बनाएर मात्रै यो अन्तर्वार्ता लिइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै समकक्षी भएको र सार्वभौम राष्ट्र भएकाले ठूल्दाई नमान्ने उनको अभिव्यक्ति सोचसमझका साथ आएको हो । किनभने ओली भारतीय पक्षको कब्जामा परेको सन्देश प्रवाहित भइसकेको छ । त्यसले खुलेर भारतको पक्षमा काम वा निर्णय गर्न ओलीलाई अफ्ठेरो छ । जसले गर्दा भारतीय संस्थापन पक्षसँगको सहमतिमा नै ओलीलाई फेरि राष्ट्रवादी पगरी गुथाउन खोजिएको मात्रै हो ।

दुनियाँले देखेको छ ओलीले यत्रो असंवैधानिक कदम चाल्दासमेत भारत मौन छ । जबकी संसदीय प्रजातन्त्रको हत्या गर्ने ओली प्रयास एकखाले संवैधानिक कू नै हो । त्यसबारे भारत पर्ख र हेरको पक्षमा मात्र आफूलाई उभ्याउँदै आएकोछ । यति नै काफी छ भारतीय दृष्टिकोण बुझ्न ।

तर जनताको ध्यान फेरि ओलीप्रति आकर्षित गर्न नियोजित रुपमै अहिले जी न्यूजको अन्तर्वार्ता प्रशारण भएको हो । ओलीको बोली कति सही हो भन्ने ठम्याउन नेपाली जनताले धेरै कुर्नै पर्दैन । पर्सि नयाँ दिल्ली जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उता कसरी प्रस्तुत हुन्छन् ,त्यो हेरेपछि नै धेरै कुरा खुलीहाल्छ । अहिले नै धेरै अनुमान लगाउने र धारणा बनाउने काम नगर्दा हुन्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय