
७ माघ, काठमाडाैं । सत्तारुढ दल नेकपामा आएको विभाजनसँगै जनवर्गाीय संगठनहरु पनि विभाजित भएका छन् । दुवै पक्षले जनवर्गाीय संगठनहरूका कार्यक्रम गरिरहेका छन् । युवा, विद्यार्थी, पेशागत महासंघ, मजदुर लगायतका जनसंगठनहरुका कार्यक्रमहरु भैरहेका बेला नेपाल –दाहाल समूहले मंगलबार काठमाडौका पत्रकारहरुको पनि भेला गरेको थियो ।
राष्ट्रिय भेला नाम दिएको सो कार्यक्रममा समूहका अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहालले सम्बोधन गरेका थिए । तर सो कार्यक्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि आउने भनिएको थियो । तर उनी भने उपस्थित भएनन । पत्रकार र प्रचार भनेपछि हुरुक्क हुने प्रवक्ता श्रेष्ठ पत्रकारकै कार्यक्रममा नआउनुले त्यहाँ केही न केही गडबडी छ भनेर आशंका गर्न थालियो । उनी काठमाडौमा छैनन् कि भनेर सोधीखोजी समेत गरियो तर उनी काठमाडौमै भएको पत्ता लाग्यो ।
तर उनी किन आएनन त भन्ने प्रश्नकाे जवाफ भने आधिकारिक रुपमा कतैबाट आएको छैन् । पूर्व एमालेमा प्रचार विभाग सम्हालेका योगेश भट्टराईले सम्बोधन गरेसँगै उनले पनि सम्बोधन गर्ने कार्यक्रम राखिएको थियो । तर उनी देखिएनन । के उनले पत्रकारहरुको कार्यक्रम बहिष्कार नै गरेका हुन त ? वा उनलाई बोलाइएन त ? भन्ने प्रश्न उठेको छ । काठमाडौमा समान्य भन्दा सामान्य कार्यक्रममा पनि सहभागी हुने श्रेष्ठ मंगलबार मंगल थापा नामका एक व्यक्तिलाई पार्टी प्रवेश गराउन लागे कि भन्ने पनि आशंका छ ।
यद्यपि मंगल थापा प्रवेश गराउन उनी आफै लाग्नु पर्ने अवस्था थिएन । उनी प्रेस संगठनको कार्यक्रममा नगएपछि आफू काठमाडौंमै रहेको प्रमाण दिन साँझ मंगल थापासँग बसेको तस्वीर सार्वजनिक गरेका थिए । खासमा पूर्व माओवादी समूहका पत्रकाहरुले उनलाई खबर नै नगरेपछि श्रेष्ठ कार्यक्रममा नगई घरमै खुम्चेर बस्नु परेको थियो । उनलाई नबोलाएको थाहा पाएपछि पूर्व जनमोर्चा समूहका पत्रकाहरु रुष्ठ बनेर बुधबार विहानै श्रेष्ठलाई भेट्न ललितपुर पुगेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया