
१४ माघ, काठमाडौं । नेपालमा आजबाट कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । कोभिड खोप सम्बन्धि सर्वसाधारणबाट आउन सक्ने सामान्य जिज्ञासाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको जानकारीमुलक सामाग्री यसप्रकार रहेको छ ।
१. के कोरोना भाइरस रोग विरुद्धको खोप लिन जरुरी छ ?
यो खोपले कोरोना भाइरस रोग लाग्नबाट बचाउँछ । खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । साथै, यो खोप लगाएपछि, तपाईबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ । नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप १८ वर्ष माथिका सबै उमेर समूहलाई सिफारिस गरिएको छ ।
२.कति छिटो हामीले यो खोप पाउँछौ ?
सबै नेपालीलाई पुग्ने गरि खोपको परिमाण एकै पटक उलपव्ध हुन नसक्ने भएकाले यो खोप प्राथमिकताका आभारमा चरण्वद्ध रुपमा सबैलाई क्रमश : दिइनेछ । नेपालमा कोरोना भाइरस रोगको जोखिम,संक्रमितहरुमा भएको मृत्यु तथा सिकिस्त हुने दरको आधारमा खोप पाउने लक्षित समूहको प्राथमिकिकरण गरिएको हो । यो प्राथमिकरण विश्व स्वास्थ्य संगठनको सिफारिसको आधारमा पनि गरिएको हो ।
पहिलो प्राथमिकतामा हाम्रो जीवन र स्वास्थ्यसँग सिधा सरोकार राख्ने नगरपालिकाबाट खटाएका सफाइकर्मी,स्वास्थ्यकर्मीसहित स्वास्थ्य स।स्थामा काम गर्ने कर्मचारीहरुलाई राखिएको छ । कोरोना भाइरस रोग संक्रमण हुने र अरुलाई पनि सक्रमित गराउन सक्ने जोखिम बढी हुने र स्वास्थ्यकर्मी संक्रमित हुँदा स्वास्थ्य सेवा नै अवरुद्ध हुन गई हामी सब्र स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुने भएकाले पनि स्वास्थ्यकर्मीहरुलाई पहिलो प्राथमिकतामा राखिएको हो ।
उनीहरुसँगै एम्बुलेन्स चालक तथा सहचालकहरु, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, महिला स्वास्थ्य स्वयम्सेविकाहरु, बृद्धाश्रममा कार्यरत कर्मचारीहरु, अन्तराष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरु र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरुलाई यसै प्राथमिकतामा राखिएको छ ।
दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका महिला तथा पुरुषलाईहरुलाई राखिएको छ । यो उमेर समूहमा कोरोना भाइरस रोगको संक्रमण हुँदा मृत्युदर र जटिलता उच्च भएको देखिएको छ । साथै,४० देखि ५४ वर्ष उमेर समूहका दीर्घरोग भएका व्यक्तिहरुलाई पनि दोस्रो प्राथमिकतामा राखी यो खोप लगाइने छ ।
दीर्घरोग भएका शरणार्थी र प्रवासी कामदारहरुलाई पनि यसै चरणमा खोप लगाइने छ । तेस्रो प्राथमिकतामा खोपको मात्रा उलपव्ध भएसँगै १८ वर्ष उमेर समूहभन्दा माथिका सबैलाई खोप सेवा प्रदान गरिने छ । १८ वर्ष मुनिका बालबालिबामा खोपको प्रभावकारता र सुरक्षाको अनुसन्धान भैरहेकाले उक्त उमेर समहलाई हाल यो खोप दिइने छैन ।
३.के कोरोना भाइरस रोग निको भएकाले पनि यो खोप लगाउनुपर्छ ?
पर्छ , विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरि योे संक्रमण हुन सक्ने भएकाले खोप लगाउनुपर्छ । संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन थाहा नभएकाले पनि सबैले खोप लगाउनुपर्छ ।
४.यो खोप कुन उमेर समूहलाई दिइन्छ ?
नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा चरणवद्ध रुपमा यो खोप १८ वर्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निःशुल्क दिइन्छ ।
५.यो खोप लिएपछि फेरी कोरोना संक्रमण हुन्छ ?
हुन सक्छ, यो खोप लिएपछि पनि केही व्यक्तिहरुमा कोरोना संक्रमण हुनसक्छ । तर खोप लिएपछि कोरोना संक्रमण भएपनि यसबाट गम्भिर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । त्यसैले खोप लिएपछि पनि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग,अर्को व्यत्तिसँग २ मिटर दुरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालनालाई निरन्तरता दिनुपर्छ ।
६.यो खोप कहाँ लगाउन पाइन्छ ?
यो खोप तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निःशुल्क दिइन्छ ।
७. यो खोप कसले लगाउनु हुँदैन ?
अहिले प्रयोग गर्न लागिएको खोप गर्भवती,स्तनपान गराइरहेका,तुरुन्त गर्भवती हुने योजना भएका महिलाहरुले लिनुहुँदैन । साथै,यस खोपको पहिलो मात्रा लगाउँदा एलर्जी भएकाहरुले पनि दोस्रो मात्रा लिनुहुँदैन । यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकाले हाललाई यो समूहलाई खोप सिफारिस गरिएको छैन।
८.के स्वास्थ्य समस्या भएकाहरुले यो खोप लिन हुन्छ ?
हुन्छ, मुटु रोग श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह, शिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरुले यो खोप लिन झनै आवश्यक छ । कोरानो भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरु बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी छ ।
९. यो खोप कतिको सुरक्षित छ ?
सुरक्षित छ, यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले बृहत वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो । विभिन्न चरणको परीक्षण सफल भएपछि मात्र यो खोप मानिसमा प्रयोग गर्न अनुमोदन गरिएको हो ।
१०.यो खोपको कति मात्रा लगाउनुपर्छ ?
कम्तिमा ४ हप्ताको फरकमा यो खोपको दुई मात्रा लगाउनुपर्छ ।
११.यो खोप लगाएपछि के के असरहरु देखिन सक्छन् ?
केभिड १९ खोप लगाएका केही मानिसहरुमा अन्य खोपहरु लगाउँदा जस्तै सामान्य असरहरु देखिन सक्छन् । यसका सामान्य असरहरुमा खोप लगाउको ठाँउमा सुन्निने,दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने,ज्वरो आउने,जिउ दुख्ने,वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउन् आदि रहेका छन् । यस्ता सामान्य असरहरु बिस्तारै ठिक भएर जान्छन् ।
१२.के यो खोपको दीर्घकालिन असरहरु पनि छन् ?
कोभिड १९ नयाँ खोप भएकाले यसका हुनसक्ने दीर्घकालिन असरहरुका बारेमा थप समयपछि मात्रा थाहा हुन्छ । खुशीको कुरा, अनुमति प्राप्त सबै खोपहरु विभिन्न चरणको क्लिनकल परीक्षणमा सुरक्षित पाइएको छ ।
१३.के यो खोपको पहिलो मात्रा लगाएपछि नै हामी सुरक्षित हुन्छौ ?
पूर्ण रुपले सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनैपर्छ । पहिलो मात्रा लगाएपछि स्वास्थय सुरक्षाका अभ्यासहरु,दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेला बेलामा साबुन पानीले मिचिमिचि हात हुने व्यवहारको नियमित पालना गर्नेपर्छ ।
१४. यो खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ ?
खोपको कारणले वृद्धि भएको प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने अझैपनि यकिन भएको छैन ।
१५.के यो खोप अभियानले नियमित खोप सेवालाई कुनै प्रभाव पार्छ ?
पर्दैन, यो खोप लगाउने समयमा पनि बालबालिका र गर्भवती महिलाहरुलाई दिइने खोप नियमित चलिरहन्छ ।
प्रतिक्रिया