
१५ माघ, काठमाडाैं । गरिमा विकास बैंकले विगत लामो समयदेखि आकर्षक व्यापार गर्दै आएकोमा आर्थिक वर्ष ०७७/७८ को दोश्रो त्रैमासमा पनि आकर्षक वित्तीय विवरण प्रकाशन गर्दै अधिकांश सूचक सकारात्मक देखाएको छ । खुद मुनाफामा २१ प्रतिशत माथि वृद्धि गर्न सफल बैंकले निक्षेप तथा कर्जामा पनि आकर्षक वृद्धि गर्न सफल भएको छ ।
निक्षेप र कर्जा दुवैमा २५ प्रतिशत माथिको वृद्धि हुनुले बैंकको भविष्य राम्रो हुँदै गएको देखिन्छ । त्यस्तै बैंकको जगेडा कोष पनि बलियो हुँदै गएको छ । किताबी मूल्य करिब १५० पुग्नुले बैंकको सम्पत्ति वृद्धि हुँदै गएको देखिएकाे हाे ।
धेरै विकास बैंकहरु वाणिज्य बैंकसँग मर्जर वा एक्वायरमा गएको अवस्थामा गरिमा विकास बैंकले भने वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्दै सफलताकाे बाटाेमा अगाडि बढेकाे देखिन्छ । रिटर्न्स अफ इक्युटी १६ प्रतिशतमाथि हुनुले बैंक व्यवस्थापन सफल भएको छ ।
कम्पनीले माघ ३० गते पोखरामा आफ्नो वार्षिक साधारणसभा गर्दै १३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७१ प्रतिशत नगद लाभांश गरी जम्मा १४ दशमवल २१ प्रतिशत लाभांशको प्रस्ताव पारित गर्दैछ । साधारणसभा प्रयोजनका लागि बुक क्लोज भैसकेको अवस्था छ ।
विकास बैंक सञ्चालक समिति:
यस बैंककाे हाल संचालक समितिको अध्यक्षमा चन्द्रकान्त बराल छन् भने संचालक समितिका सदस्यहरूमा श्यामप्रसाद बस्याल, भीम पाण्डे, डा. भुपेन्द्रबहादुर खडका, संजिव ढकाल र स्वतन्त्र संचालकमा कुञ्जराज थापा छन् ।
त्यस्तै बैंक उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृतमा गोविन्दप्रसाद ढकाल छन् भने नायव प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय आर्चाय रहेका छन् ।
क्षेत्रीयस्तरमा पोखराबाट २०६४ सालबाट आफ्नो यात्रा सुरु गरेको बैंकले आफुलाई स्थापित गर्न ठूलो समय लागेन । निलगिरी विकास बैंकसँगको मर्जर पश्चात २०७२ सालमा बैंक रास्ट्रिय स्तरको विकास बैंक भएको थियो । बैंकले हाल नेपालका २६ जिल्लाबाट कारोवार गर्दै आएको छ ।
विकास बैंक उच्च व्यवस्थापन टीम:
कस्तो आयो आर्थिक वर्ष ०७७/७८ दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन :
गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा ३९ करोड ३५ लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा विकास बैंकले ३२ करोड ५५ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा २१ प्रतिशतको वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोत (खुद व्याज आम्दानी):
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ८० करोड ६० लाख खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले ८४ करोड २६ लाख खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा ५ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा २१ प्रतिशतले वृद्धि हुँदै ५६ करोड २२ लाख पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले ४६ करोड ५० लाख संचालन मुनाफा गरेको थियो ।
गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले ७ करोड ९९ लाख रकम जोखिम बापत व्यवस्थापन गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले सो सिर्शकमा १८ करोड ४८ लाख व्यवस्था गरेको छ ।
प्रतिशेयर आम्दानी :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३१ पैसा हुन आउँछ । कम्पनीले प्रतिशेयर आम्दानी गणना गर्दा ३ अर्ब २३ करोड पुँजीमा गरेको र कम्पनीले १३ दशमलव ५० प्रतिशत बोनस शेयर प्रयोजनार्थ बुक क्लोज गरेको अवस्थामा कम्पनीको पुँजी ३ अर्ब ६७ करोड हुनेछ। उक्त पुँजीलाई समायोजन गर्दा प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४१ पैसा हुन्छ।
नोट : माघ १५ गतेको बजार मुल्यको आधारमा
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य ( प्रतिशेयर नेट्वर्थ) १४८ रुपैयाँ आउँछ ।
निक्षेप, कर्जामा कस्तो :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५३ अर्ब ५ करोड निक्षेप संकलन गरी ४४ अर्ब १६ करोड कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष ०७६/७७ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीले काेराेना कहरका बीचमा पनि निक्षेप संकलन २५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह २७ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोषको अवस्था :
जगेडा कोष ३१ प्रतिशतले वृद्धि हुँदै ८३ करोड ३९ लाख पुगेको छ भने संचित मुनाफा ५४ प्रतिशतले वृद्धि हुँदै ७२ करोड २६ लाख रुपैयाँ रहेको छ ।
निस्क्रिय कर्जा :
कम्पनीको खराब कर्जा शुन्य दशमलव ९४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा खराब कर्जा शुन्य दशमलव ३९ प्रतिशत थियो । बैंकले खराब कर्जा १ प्रतिशत भन्दा मुनी राख्न सफल भएको छ।
आधार व्याजदर :
बैंकको आधार व्याजदर केही घट्दै ८ दशमलव ३८ प्रतिशत पुगेको छ ।
स्प्रेडदर :
व्याजदर अन्तर ४ दशमलव ९९ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ५ दशमलव २६ प्रतिशत थियो ।
निष्कर्ष :
बैंकको सीसीडी अनुपात ८० नजिक रहेको छ। अन्य बैंकलाई अधिक तरलताको समस्या भएको बेला गरिमा विकास बैंकले निक्षेप संकलनको वृद्धि प्रतिशत भन्दा धेरै कर्जा प्रवाह गरेको छ । बैंकको व्यापारलाई कोरोनाले नरोकेको देखिन्छ । अन्य केही विकास बैंकले सम्पत्ति बेचेर आकर्षक मुनाफा देखाएकोमा यस बैंकले यस त्रैमाससम्म गैरसंचालन आम्दानी गरेको देखिदैन् ।
यसरी बैंकले “कोर बैकिङ” काम गरेर नै नाफा देखाएको देखिन्छ । आधार व्याजदरमा कमी आएको छ । आधार व्याजदर कमी आउँदा ऋण लगेका ग्राहकलाई केही राहत भएको छ । स्प्रेडदर पनि ५ प्रतिशत भन्दा मुनी ल्याउन बैंक सफल भएको छ । कोरोना कहरका बीचमा पनि खराब कर्जा १ प्रतिशत भन्दा मुनी राख्न बैंक व्यवस्थापन सफल भएको छ । समग्रमा हेर्दा बैंक एक नम्बर विकास बैंक बन्न पूर्ण रुपमा तयार भएको छ ।
प्रतिक्रिया