सिटिजन्स बैंकको सभाले पारित गर्याे तिनाउ मिसनलाई प्राप्ति गर्ने प्रस्ताव, (१००ः९६)कायम गरियाे शेयरमूल्य अनुपात

१५ माघ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छैठौं विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा आज माघ १५ गते बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको छ ।
बैंकले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लाटफर्म जुम मार्फत बंंैकको छैठौं विशेष साधारण सभा संचालन गरेको हो ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि पारित विशेष प्रस्ताव पारित भएको हो । यस विशेष साधारण सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ ।
तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर (१ः०.९६) दिने गरी शेयर मूल्य अनुपात (Share Swap Ratio) कायम गरिएको छ ।
यसै बीच, नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको पनि मिति २०७७ माघ १५ गते, सम्पन्न वार्षिक साधारण सभाले समेत तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ ।
दुबै बैंकको विशेष/वार्षिक साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।
एक महिना भित्रमा तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष राजन सिंह भण्डारीले जानकारी दिदैें डिजिटल प्लाटफर्ममा उल्लेखनीय सहभागिताकालागी शेयरधनीहरुलाई बैंक संचालक समिति सम्पूर्ण सदस्यहरुको तर्फबाट आभार प्रकट गरे ।
प्राप्तिपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२६ अर्ब रुपैयाँ पुग्ने छ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०४ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ । । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।
बैंकले हाल देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली पूर्ति गरिरहेको छ ।
प्रतिक्रिया