पत्रकार हकहितको लागि आन्दोलन गर्नुपर्ने अवस्था सदाका लागि अन्त्य गरिने: मन्त्री गुरुङ

२४ माघ, काठमाडौं । विगतका वर्षमा जस्तै आगामी दिनमा पत्रकारले आफ्नो हकअधिकार स्थापित गर्नका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको कानूनीरुपमा नै अन्त्य गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् । विगत र वर्तमान समयमा पत्रकारिता क्षेत्रमा जन्मिएका समस्याको समाधान गर्न आफु सधैँ तयार रहेको मन्त्री गुरुङले बताए ।
नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको २२औँ साधारणसभा उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले आफ्नै पालामा दीर्घकालिन रुपमा पत्रकारको समस्याको समाधान गर्ने दावी गरेका छन् ।
पत्रकार समाज रुपान्तरणको मुख्य अङ्ग भएकाले रचनात्मक तरिकाबाट जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै उनले पत्रकारले समाजमा सही सूचना प्रवाह गर्नका लागि मात्र आफ्नो कलम अघि बढाउन सुझाव दिए । आगामी वर्षको नीति तथा कार्यक्रमका लागि प्रतिनिधिमूलक ढङ्गबाट पत्रकारलाई छलफलमा बोलाई कार्यक्रम अघि बढाउने पनि उनले बताए ।
हाल पाँच करोड रहेको पत्रकार कल्याणकारी कोषका लागि पाँच करोड थपेर रु १० करोड बनाएर बहुवर्षीय कार्यक्रमका रुपमा अघि बढाउने पनि मन्त्री गुरुङले जानकारी दिए ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाले पत्रकार उपचार कोषका लागि सो शाखालाई रु १५ लाखको चेक हस्तान्तरण गरेको छ । नगर प्रमुख विद्यासुन्दर शाक्यले चेक हस्तान्तरण गर्दै समाज रुपान्तरण लागि मुख्य भूमिका निर्वाह गर्ने पत्रकारलाई सहयोग गर्न पाउँदा आफू खुशी रहेको बताएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा कलम चलाउनुभएका अग्रज पत्रकारलाई पुरस्कार वितरण एवं सम्मान गरिएको छ । सम्मान पाउनेमा राजेन्द्र स्थापित, शम्भु श्रेष्ठ, बलराम थापा, निर्मला शर्मा, देवेन्द्र चुँडाल, विश्वराज किरात, इन्द्र रिजाल, निरोधराज पाण्डे, ज्ञान उदास, ईश्वरीप्रसाल वाग्ले, टिवी विरही, गोपाल बुढाथोकी, दामोदरप्रसाद दवाडी र मानध्वज लामा रहनुभएको छ । कार्यक्रममा पत्रकारिता नामक स्मारिकाको विमोचना गरिएको थियो ।
प्रतिक्रिया