
२४ माघ, फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा शुक्रबार बेलुका ६ बजेदेखि निरन्तर हिउँ परेसँगै चिसोले पानी जमेपछिविद्युतगृह बन्द भएको छ । शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको घुन्सा गाउँका स्थनीयवासी केल्साङ शेर्पाले जानकारी दिए।
शेर्पाले भने, “हिजोदेखि निरन्तर हिम पात भइरहेको छ । अहिले करिव दुई फुटसम्म हिउँ जमेको छ ।” सबैतिर सिसाजस्तै हिउँ जमेको शेपाले बताए । विद्युत् लागि निर्माण गरिको पोखोरीमा हिउँ थुप्रिएको र चिसोले पानी सिसाजस्तै जमेपछि विद्युत् उत्पादन बन्द भएको शेर्पाले जानकारी दिए। पैतीस किलोवाटको घुन्सा विद्युत् बन्द हुँदा गाउँ नै अध्यारोमा बस्न बाध्य भएको शेर्पाले बताए।
पानीका मुहान जमेपछि खाने पानीको समेत समस्या परेको उनले बताए । उनले भने, “चिसोको कारण घर बाहिर निस्कन सकिँदैन । घरभित्र आगो तापेर बस्नुपर्छ ।” जनजीवन निकै प्रभावित भएको शेर्पाले बताए । फले निवासी लाक्पा भोटियाका अनुसार हिजोदेखि निरन्तर हिउँ परिरहेको छ ।
घुन्सा गाउँ समुन्द्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा पर्दछ । यस्तै समुन्द्र सतहदेखि तीन हजार २०० मिटर आलाङचुङगोला र समुन्द्र सतहदेखि चार हजार २०० मिटर उचाइका याङमा गाउँ पर्दछ । यस वस्तीमा शुक्रबार बेलुकीदेखि बाक्लो हिउँ परिहेको फक्ताङलुङ गाउँपालिका–६ निवासी मनुकुमार राईले बताए । हिमाली क्षेत्रका समुदाय हिमपातले प्रत्यक्ष प्रभावित भएको छ ।
प्रतिक्रिया