
२५ माघ,पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभाको उदघाट्नमा मन्त्री रायमाझीले नेपालमा प्रशस्त ऊर्जा उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अबका केही वर्षमा ऊर्जा निर्यातबाट मुलुकलाई समृद्धि उन्मुख बनाउन सकिने बताएका छन् ।
“हाइड्रो इनर्जी र सौर्य इनर्जीमार्फत अगाडि बढ्नुको विकल्प छैन, छिमेकी भारत, चीन र बङ्गलादेशलाई ऊर्जा बेच्ने गरी उत्पादन गर्नुपर्दछ”, मन्त्री रायमाझीले भनेका छन् । उनले मुलुकको एजेण्डा दिगो विकास र समृद्धि भएको जनाउँदै तत्कालीन समयमा १८ घण्टे लोडसेडिङ अन्त्य गर्न ९९ बुँदे मास्टर प्लान बनाएर अघि बढेपछि लोडसेडिङ अन्त्य हुन सफल भएको पनि बताएका छन् ।
उनले आफू पहिलोचोटी ऊर्जामन्त्री हुँदा पनि देशमा भूकम्प नाकाबन्दीका कठोर दिनको सामाना गरेको स्मरण गर्दै अहिले दोस्रोपल्ट पनि कठिन परिस्थितिमा जिम्मेवारी सम्हालेको बताएका छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद वलीले नेपाललाई
अग्यानिक राष्ट्र बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि सौर्य ऊर्जा पनि महत्वपूर्ण हुने बताएका छन् । राष्ट्रिय विद्युत् प्रसारणमा सौर्य ऊर्जाको १० प्रतिशतभन्दा बढी योगदान रहने भएकाले व्यसायीलाई त्यसतर्फ योजनाबद्ध लाग्नुपर्नेमा उनको सुझाव थियो ।
सौर्य विद्युुत् उत्पादक सङ्घका अध्यक्ष इन्द्र खनालले दुर्गम स्थानका जनतालाई उज्यालो दिन सौर्य व्यवसायीले महत्वपूर्ण योगदान रहेको जनाउँदै राज्यले नीतिगत सहजतामार्फत समस्याको सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्ति तथा संस्थालाई कदरपत्र र प्रशंसापत्रले सम्मान गरिएको थियो ।
प्रतिक्रिया