
२५ माघ,सिमकोट । जिल्ला निर्वाचन कार्यालय हुम्लाले स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चुनावमा मत बदर नहोस् भन्नका लागि ती कार्यक्रमले सहयोग पुग्ने निर्वाचन कार्यालयले जनाएको छ । हुम्लामा कक्षा आठ, नौ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीमार्फत अभिभावकलाई मतदान गर्ने सही तरीका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको निर्वाचन कार्यलयले जनाएको छ । कार्यक्रममा २०० भन्दाबढी विद्यार्थी सहभागी रहेका छन् ।
निर्वाचन कार्यालयको कार्यक्रमअनुसार जिल्लाका छ वटा विद्यालय सिमकोट गाउँपालिकाको मानसरोवर मावि, बालमन्दिर मावि, कैलाश मावि, रलिङ मावि, रामदेव मावि र नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङमा यो कार्यक्रम सञ्चालन भएको हो ।
प्रतिक्रिया