
२५ माघ, काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्ने कि सुचारु भन्नेमा नेकपाको दुई समूहबीच सहमित हुन सकेकाे छैन् । बैठक अगाडि दुई समूहका नेताहरु वार्तामा बसेका थिए । तर, आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका हुन् ।
ओली समूहका नेताहरुले आइतबार निर्धारित बैठक सूचना टाँसेर स्थगित गर्ने र छलफल अगाडि बढाउने प्रस्ताव राखेका थिए । तर, प्रचण्ड–माधव समूहका नेताहरुले कम्तिमा आइतबार बैठक राखेर मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिनुपर्ने अडानमा कायमै रहे ।
बैठक १८ दिन स्थगित भइसकेकाले अब मुख्यमन्त्रीविरुद्ध परेको अविश्वासको प्रस्ताव टेबल गरेर अगाडि बढ्नुपर्ने अडानमै रह्यो । तर, यसमा ओली समूह तयार भएनन् । दुवै समूह अडानमा कायमै रहेपछि वार्ता बिना निष्कर्ष सकिएको छ ।
वार्तामा ओली समूहबाट आन्तरिक मामला मन्त्री रहेका हिक्मत कार्की र बिमल कार्की सहभागी थिए भने प्रचण्ड–माधव समूहबाट राजेन्द्र राई, इन्द्र आङ्बो र लक्ष्मण तिवारी सहभागी थिए । बैठक बस्नेबारे कार्यव्यवस्था परामर्श समितको बैठकमा पनि दुवै समूहले यही अडान राखेका छन् ।
कुरा मिल्न नसक्दा दुई बजे बोलाइएको प्रदेशसभा बैठक बस्न सकेको छैन । मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् । तर, यो प्रस्ताव टेवल हुन सकेको छैन । गएको माघ ७ मा तीन मिनेट बसेर बैठक स्थगित भएको थियो ।
प्रतिक्रिया