
२५ माघ, काठमाडौं । बलत्कारपछि हत्या गरिएकी बैतडी, दोगडाकेदार गाउँपालिकाकी भागरथी भट्टको हत्यारालाई कारबाही गर्न नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले माग गरेको छ । विभागले आइतबार विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको हो ।
विभागले अनुसन्धानमा कुनै लापरबाही नगर्न चेतावनीसमेत दिएको छ । सनातन धर्म उच्च माविको कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी लबलेक सामुदायिक बनमा मृत अवस्थामा फेला परेकी थिइन् । भागरथी को परिवारलाई उचित क्षतिपूर्ति दिन विभागले माग गरेको छ ।
साथै विभागले उक्त घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउन नेपाली कांग्रेस जिल्ला कार्यसमिति वैतडीसँग समन्वय गरी स्थलगत अवलोकन गर्न केन्द्रीय महिला विभागका सदस्य राधिका सिहंलाई खटाएको छ ।
साँढे २ वर्ष पहिले कञ्चनपुरमा निर्मला पन्तको हत्यारालाई पनि सरकारले अहिलेसम्म पक्राउ गरी कारबाही गर्न सकेको छैन । गत असोजमा मष्टा गाउपालिका बझाङमा १२ वर्षिया बालिका सम्झना कामीको बलात्कार र हत्याको घटना पनि महिलामाथि हुने गरेका जघन्य अपराधको एउटा कडी भएको उल्लेख गर्दै विभागले महिलाविरुद्ध सिलसिलेवार रुपमा हुने गरेका यस्ता हत्या र हिंसालाई तोड्न माग गरेको छ ।
प्रतिक्रिया