
२५ माघ, काठमाडौं । क्रियाशील पत्रकार महिला ‘डब्लुडब्लुजे’को छैटौँ अधिवेशन तथा ११औँ वार्षिक साधारणसभाले आइतबार राससकी पूर्वमहाप्रबन्धक निर्मला आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामकला खड्का, महासचिवमा चन्दा बिष्ट, सचिवमा रमिता लामा र कोषाध्यक्षमा रुक्मिणी पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सङ्गीता लामा, अमिका राजथला, सोनी शर्मा, दीपा आले, शोभा मानन्धर, दुर्गा अधिकारी, देवी सापकोटा र सीता बिके चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेले युट्युब र सोसल मिडियाले छापा पत्रकारितामा थप चुनौती र जोखिम बढ्दै गएकाले समाचार लेख्ने पत्रकारले आफूलाई फरक पहिचान भनेर सोच्ने समय आएको बताए ।
संस्थापक अध्यक्ष सङ्गीता लामाले अनलाइन मिडियाहरुले महिलाहरुको विषयलाई गलत किसिमले उठाउँदा समाजमा त्यसको नराम्रो असर पर्ने बताउँदै पत्रकार आचारसंहिताको पालना गर्ने काममा सञ्चारमाध्यमले विशेष ध्यान दिनुपर्ने सुझाव दिइन। काठमाडौंमा सम्पन्न भएको अधिवेशनमा जिल्लाका सहभागीहरू भर्चुअल माध्यममा जोडिएका थिए ।
प्रतिक्रिया